डा. दीपेश केसी : यो यस्तो देश हो जहाँ कर तिर्ने र रोजगार सृजना गर्नेहरूलाई बदनाम गराइन्छ । सर्वहाराको हितकर्ता दाबी गर्ने कम्युनिष्टहरूले पूँजीपति भन्दै उद्योगी व्यवसायीहरूविरूद्ध घृणा फैलाउँछन् । विप्लव समूहको कम्युनिष्ट उद्योगी व्यवसायीलाई डरत्रास देखाएर चन्दा आतंक मच्चाउन सक्रिय छ । समाजवादी दाबी गर्ने काँग्रेसले पूँजीपतिको उचित सम्मान गरिरहेको छैन । पूँजीका लागि नैतिक मूल्य र मान्यता समेत बिर्सेर दौडनेहरूले पूँजीपतिको सुरक्षा गर्न नसक्नु गम्भीर विषय हो । पूँजीको सुरक्षाका लागि पूँजीपतिको सुरक्षा अनिवार्य हुन्छ । पूँजीपति असुरक्षित हुन्छ भने गरिबीले देशलाई घेरिरहन्छ ।
बदनामी मात्र नभएर असुरक्षित छन् लगानीकर्ता । पूँजीको उचित परिचालन गरी लगानीमार्फत् रोजगार सृजना गर्ने र देशको आर्थिक वृद्धिमा योगदान दिने सन्त्रस्त छन् आफ्नैबाट । बदनाम गर्ने तिनैलाई पैसावाल सम्झेर चुस्ने र लुछ्ने तिनैलाई । न राज्यले तिनको सम्मान गर्न र सुरक्षाको प्रत्याभूति दिन सक्यो न समाजले तिनीहरूप्रति श्रद्धाभाव देखाउने संस्कार विकास ग¥यो । राजनीतिक दलका नेता देखि कार्यकर्ता, कर्मचारी देखि सुरक्षाकर्मीसम्मका लागि ती दुहुनो गाई भइरहे । तर, तिनले सुरक्षा र शान्तिको महशुश कहिले गर्न पाएनन् ।
नेपालको सन्दर्भमा व्यवसायीहरू दिनप्रतिदिन बढ्दो पीडामा छन् । उनीहरूलाई पैसावाल सोचेर व्यवहार गर्ने सिवाय केही गरिएन । तिनको कारोबारमा रहेको पीरमर्काको भागिदार तिनीहरू मात्र बनेका छन् । राज्य अभिभावक बन्नुपर्नेमा राज्यका निकायको व्यवहार कठोर सजायकर्ताको जस्तो छ । अपराधीहरूको तारोमा उद्योगी व्यवसायी बढी भन्दा बढी भए । राजधानी देखि मुख्य शहरहरूमा उद्योगी व्यवसायीहरू मारिएको र अपहरणमा परेको खबर बेला बेलामा आइरहन्छ । कति घटनाका दोषी पत्ता लाग्छन् त कत्तिका लाग्दैनन् । सुपारी लिएर हत्या गर्ने पक्राऊ परेपनि हत्या गर्न लगाउने सायदै पक्राऊ पर्छन् ।
व्यवसायबाट कमाउनेहरू असुरक्षित
मङ्गलबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको हत्या पछि व्यवसायी त्रसित भए । व्यवसायीहरू भन्दै थिए—पैसा कमाउनु भनेको असुरक्षित हुनु जस्तो भयो । व्यवसाय कसरी गर्ने ? उद्योग व्यवसाय चलाएर रोजगारी दिनु, विकास निर्माणमा योगदान पु¥याउनु र राज्यको अर्थतन्त्रमा टेवा पु¥याउनु अकालमा ज्यान गुमाउने बाटो रोज्नु हो ? गौचनको हत्या भन्दा अघि उद्योगी व्यवसायी मारिए, अपहरणमा परे र फिरौती रकम बुझाएर उम्किएका घटना थोरै सार्वजनिक भए धेरै लुके ।
राजधानी बाहिर विशेषगरी तराई क्षेत्रमा उद्योगी व्यवसायी अपराधिक गिरोहको तारोमा परेका धेरै घटना छन् । वीरगञ्ज, बुटवल, दाङ, जनकपुर र विराटनगरमा व्यवसायी अपहरण र हत्याका घटनाहरू बेला बेलामा घटिरहन्छन् । राजधानी समेत व्यवसायीका लागि असुरक्षित बन्ने गर्छ । ज्यान भन्दा ठूलो मान्छेले अर्को सोच्दा पनि सोच्दैन । खतरनाक समूहबाट डरधम्की आएपछि निश्चित रकम दिन्छ । नदिए आक्रमणको सामना गर्न तयार हुनुपर्ने अवस्था आउन सक्छ ।
कुनैबेला ब्ल्याक स्पाइडर ग्रुपको धम्कीका कारण रकम बुझाउने मध्येमा गनेचुनेका व्यवसायी थिए । डा.हेमाङ्ग दिक्षितले मागेको रकम नदिएकाले आक्रमणको सामना गर्नुप¥यो । उनी बाँच्न सफल भए । ब्ल्याक स्पाइडर ग्रुप पैसा असुल्ने उद्देश्यमा सिमित आपराधिक समूह थियो । देश बाहिरबाट व्यवसायी र संभ्रान्तहरूलाई धम्क्याउने र रकम असुल्ने अलग समूह सक्रिय थियो । जसले रकम दिन मान्दैनथ्यो आक्रमण गथ्र्यो ।
चुनाव नजिकिदै गर्दा हत्या
गौचन हत्यामा त्यस्तै समूह सक्रिय रहेकोतर्फ अनुसन्धान केन्द्रित रहेको सूचनाहरू बाहिर आइरहेका छन् । तर, उनको हत्या संवेदनशील स्थान र अवस्थामा भएको छ । यो त्यस्तो हत्या हो जुन मुलुक संविधान कार्यान्वयन गर्ने संसद र प्रदेशको चुनावको घोषित मितितर्फ नजिकिदै गर्दा भएको छ ।
हत्याबाट वर्षको मध्यमा निर्माण व्यवसायीलाई त्रसित बनाएर देशको भौतिक विकासलाई रोक्ने अभिप्राय लुकेकै होला । निर्माण व्यवसायीको नेतृत्वकर्ताको हत्या गरी व्यवसायीबाट रकम असुल्ने वातावरण तयार गर्न खोजिएको पनि होला । त्यसका लागि योजनावद्ध तरिकाले गरिएको हत्याको तारो देशको सबैभन्दा महत्वपूर्ण क्षेत्रका नेतृत्वकर्तालाई बनाइएको छ । अहिलेको काल र परिस्थितिलाई केलाउने हो भने हत्याका पछाडि चुनाव भाँड्ने र अस्थिरता मच्चाउने खेल पनि लुकेको हुनसक्छ ।
कुनैपनि देशमा राजनीतिक अस्थिरता र भाँडभैलो मच्चाउन त्यो देशको आर्थिक क्षेत्रको मेरुदण्डमाथि आक्रमण गरिन्छ । नेपालको सन्दर्भमा पनि त्यस्तै भएको छ । जब जब अस्थिरता बढाउन खोजिन्छ तब तब राज्यका करदाता र रोजगारदाताहरूमाथि आक्रमण हुन्छ । उद्योगधन्दालाई लक्षित गरी बम आतंक मच्चाइन्छ । देशमा राजनीतिक अस्थिरता बढाउन विगतमा बम आतंकहरू मच्चाइएका विगतका उदाहरणहरू छन् । बम हान्ने गतिविधि विप्लव पक्षको कम्युनिष्ट पार्टीले बेला बेलामा गर्छ र जिम्मेवारी लिन्छ । गौचन हत्यामा राजनीतिक अस्थिरता मच्चाउन व्यवसायीमाझ असन्तुष्टि र राज्यप्रति नैराश्यता उत्पन्न गराउने अभिप्राय देखिदैछ । उद्योगी व्यवसायीको राजनीतिज्ञप्रति असन्तुष्टि र आक्रोश बढ्नुले राज्यमा नकारात्मक असर पार्न सक्छ । यही अवस्था सृजना गर्ने उद्देश्य केही स्वार्थी समूहको हुन सक्छ ।
राजनीतिमा अपराधी हावी
राज्यलाई कर तिर्ने व्यवसायीहरूको र्हुमत लिने र कर छल्नेलाई संरक्षण गर्ने गलत परिपाठी स्थापित गरिएको धेरै भयो । त्यसैले कर छल्ने र जालीफटाहा व्यापारीमध्ये धेरैले राजनीतिक महत्वाकांक्षा पाले । काम नगर्ने असुलउपर गरेर धनाढ्य बनेकाहरूको आँखा राज्यको कार्यकारी सम्म पर्न थाल्यो । माफिया शैलीमा मौलाएकाहरूको मन्त्री बन्ने महत्वाकांक्षा समेत पूरा भयो ।
उद्योग धन्दा संचालन गरेर कुनैबेला कोलम्बियाका लागूऔषधका व्यापारी पाब्लो एस्कोबार संसद सदस्य बनेका थिए । कोलम्बियामा सरकार ढाल्ने र बनाउने क्षमता राख्थे । अपराधीले प्रश्रय पाएपछि माफियाहरूले सत्ता ढाल्ने र बनाउने क्षमता राख्न थाल्छन् । नेपालमा माफिया शैलीमा उदाएका सञ्जय शाह टक्ला जस्ता सांसद हुँदै मन्त्री सम्म बनेको इतिहास छ । उनी अझै तराई क्षेत्रको राजनीतिमा प्रभावशाली छन् । शाह एउटा पात्र मात्र हुन् कर छल्ने र देशको पैसा गैरकानुनी रुपमा विदेश पु¥याउनेहरू सांसद भएका नामहरू धेरै छन् ।
राजनीतिमा अपराधीकरण बढ्दा अपराधीहरूको राजनीतिक महत्वाकांक्षा झन् बढ्न पुग्यो । राज्य संचालनका क्रममा अनैतिक मात्र नभई आपराधिक क्रियाकलापहरू बढ्न थाले । रक्षकबाट असुरक्षित हुनुपर्ने अवस्था बन्दै गयो । नतिजाहरू विस्तारै देखिदैछ । देशमा टोलगुण्डा देखि राज्यको नीतिनिर्माण तहसम्म आपराधिक क्रियाकलापमा संलग्नहरू हावी हुन खोजेपछि हत्या हिंसा देखिनथाल्छ । दोष संक्रमणकाललाई दिएर ध्यान मोड्न खोजेपनि देशमा जुन अवस्था सृजना भएको छ त्यसले गरिखानेहरूलाई असुरक्षित बनाएको छ ।
काम गर्ने व्यवसायीहरू हेपिने, चुसिने र मारिनेसम्मको भयावह अवस्था विकसित भएको छ । बैंकबाट ऋण लिएर उद्योगव्यवसाय संचालन गर्ने र रोजगारीको अवसर सृजना गर्ने र निर्माण गर्नेहरूमाथि सिधै गोली दागिनु सभ्य समाज निर्माणका लागि गम्भीर चुनौती हो । बनाउनेहरूले असुरक्षित हुनुपर्ने बिगार्नेहरूले संरक्षण पाउने अवस्थाले देशको भलो गर्दैन । भत्काउनेको जगजगी भए देश नै भत्कने खतरा हुन्छ । काल पल्किएको छ । आज व्यवसायीको हत्या भएको छ भोलि तारोमा सत्ता संचालकहरू हुनसक्छन् । बेलैमा होशियारी अपनाएर कडा कदम नचाले दुर्घटनाहरू निम्तनसक्छ । जताततै अपराधी हावी हुने खतरा बन्न सक्छ ।