Logo

मन्त्रिपरिषद विस्तारबारे राष्ट्रपतिसँग निर्वाचन आयुक्तहरुले भने,‘हाम्रो विरोध फर्मालिटीमात्रै हो, कुनै आपत्ति छैन्’



काठमाडौं, २८ असोज । मन्त्रिपरिषद विस्तारलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारी र निर्वाचन आयुक्तहरुवीच छलफल भएको छ ।

निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेपछि राष्ट्रपति भण्डारीले निर्वाचन आयोगका पदाधिकारीहरुसँग आज छलफल गरेकी छन् ।

राष्ट्रपति भवन शितल निवासमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवसहित आयोगका पदाधिकारीहरुसँग राष्ट्रपति भण्डारीले छलफल गरेकी हुन् ।
उक्त छलफलमा निर्वाचन आयोगका पदाधिकारीहरुले मन्त्रिपरिषद् विस्तार आचारसंहिता विपरित भएपनि नयाँ घटना नभएको भन्दै यसप्रति आफूहरुको कुनै विरोध नरहेको भन्दै सपथग्रहण गराउन सुझाएका थिए ।

राष्ट्रपतिसँगको भेटवार्तापछि प्रमुख निर्वाचन आयुक्त डा. यादवले मन्त्रिहरुको सपथ गराउने या नगराउने भन्ने विषयमा आयोगले कुनै निर्णय गर्न नसक्ने बताए ।
उनले यस विषयमा स्वयम् राष्ट्रपतिलाई निर्णय गर्ने अधिकार रहेको बताए ।

निर्वाचनलाई प्रतिकूल प्रभाव नपरोस् भन्ने आयोगको चाहना रहेको उनको भनाई थियो । राष्ट्रपतिसँगको भेटवार्तामा निर्वाचन आयोगका पदाधिकारीहरुले निर्वाचनको तयारीलगायतका विषयमा समेत जानकारी दिएका थिए ।

पत्रकार ऋषि धमलासँगको कुराकानीमा राष्ट्रपति भण्डारीसँगको आजको भेटवार्ताको बारेमा जानकारी दिँदै प्रमुख निर्वाचन आयुक्त डा. यादवले भने,‘मन्त्रिमण्डल विस्तार ठूलो कुरा होईन, सरकारले पहिला पनि विस्तार गराएको हो, तर हाम्रो कन्सर्न भनेको खाली निर्वाचन नबिथोलियोस् भन्ने मात्रै हो, सरकार विस्तारका नजिर छ, सपथ ग्रहण नै गराउनुहुँदैन भन्ने हाम्रो कुनै जिकिर छैन्, यही कुरा हामीले राष्ट्रपतिसामू राख्यौं।’

उनले मन्त्रिपरिषद विस्तारबारे आपत्तिमात्रै भएको तर विरोध चाहीँ फर्मालिटिको लागिमात्रै भएको जिकिर गरे । राष्ट्रपति भण्डारीले पनि आयुक्तहरुको सल्लाहलाई शिरोधार्य गर्दै अघि बढ्ने विश्वास दिलाएका छन् ।



प्रतिक्रिया दिनुहोस्