Logo

अखण्ड पार्टी नेपाल काँग्रेसमा समाहित



काठमाडौँ, २९ असोज : अखण्ड पार्टी नेपाल नेपाली काँग्रेसमा समाहित भएको छ ।

पार्टी एकीककरण गर्न आज यहाँ आयोजित कार्यक्रममा काँग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका अध्यक्ष पूर्वमन्त्री कुमार खड्कालगायतका नेतालाई अबिर र फूलमालासहित स्वागत गर्नुभयो ।

कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि लोकतन्त्रवादी शक्ति एक हुनुपर्नेमा जोड दिनुभयो । लोकतन्त्रवादी शक्ति एक नभए अहिलेसम्मका उपलब्धि गुमेर अधिनायकवादी शक्ति हाबी हुन सक्ने उहाँको भनाइ थियो ।

पार्टी काँग्रेसमा समाहित भएपछि रासससँग कुरा गर्नुहुँदै नेता खड्काले लोकतन्त्रको सुदृढीकरणका लागि पार्टी एक भएको बताउनुभयो । कात्तिक ५ गतेपछि पोखरामा बृहत् एकीकरण सभा गरिने जानकारी पनि उहाँले दिनुभयो ।

अखण्ड पार्टीलाई काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायत केन्द्रीय नेताले स्वागत गर्नुभएको थियो ।

दोस्रो संविधान सभा निर्वाचनपछि समानुपातिक सांसद निर्वाचित हुनुभएका खड्काले महिला, बालबालिका तथा समाज कल्याण मन्त्रीको कार्यभारसमेत सम्हाली सक्नुभएको छ ।

पार्टीका नेता कार्यकर्तालाई काँग्रेसमा सम्मानजक स्थान दिने विषयमा आजै काँग्रेस सभापति देउवासँग सहमति भएको नेता खड्काले बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्