Logo

माओवादी केन्द्रले बुझायो समानुपातिक सूची



काठमाडौँ, २९ असोज : नेकपा (माओवादी केन्द्र)ले प्रतिनिधि सभा र प्रदेश सभाका लागि समानुपातिक निर्वाचन प्रणालीका लागि उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।

माओवादी केन्द्रका नेताहरु आयोगको कार्यालय पुगेर सूची दर्ता गरेका हुन् । प्रवक्ता पम्फा भुसालले आयोगले तोकेको समयसीमा ५ बजेभित्र नै सूची दर्ता गरेको जानकारी दिनुभयो ।

“संविधानअनुसार सबै वर्ग तथा क्षेत्रको प्रतिनिधित्व हुने गरी सूची बुझाइएको छ”, उहाँले भन्नुभयो, “संविधान कार्यान्वयनको महत्वपूर्ण दिशामा मुलुक प्रवेश गरेको छ । निर्वाचन सम्पन्न गराउने दायित्व पूरा गराउन सबै वर्ग तथा क्षेत्रको उत्तिकै सहयोग र सद्भाव जरुरी छ ।”

प्रतिनिधिसभाको कुल २७५ स्थानमध्ये समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना सांसद चयन हुनेछन् । यस्तै सातवटै प्रदेशमा प्रदेशसभाका लागि २२० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने व्यवस्था रहेको छ ।

संघीय संसद्को समानुपातिक सूचीमा खस आर्य पुरुष र महिला १७/१७, जनजाति पुरुष र महिला १६÷१६, थारू महिला चार र पुरुष तीन, दलित महिला आठ र पुरुष सात, मधेशी महिला नौ र पुरुष आठ एवम् मुस्लिम महिला तीन र पुरुष दुई को सूची दर्ता गरिएको उहाँले जानकारी दिनुभयो ।

संघीय संसद्मा जम्मा महिला ५७ र पुरुष ५३ को सूची बुझाइएको प्रवक्ता भुसालले जानकारी दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्