Logo

‘सूचनाको हकको सही प्रयोग गरौँ’–राष्ट्रपति भण्डारी



काठमाडौँ, ३० असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले सूचनाको हकले मुलुकमा सुशासन कायम गर्ने भन्दै त्यसको सही प्रयोग गर्न आग्रह गर्नुभएको छ ।

सूचना सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०७४ को अवसरमा राष्ट्रिय सूचना आयोगद्वारा यहाँ आज आयोजित कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले पारदर्शीता र सुशासनले लोकतन्त्रलाई सुदृढीकरण गर्छ र राज्य बलियो हन्छ भन्नुभयो ।

राष्ट्रपति भण्डारीले लोकतान्त्रिक शासन प्रणालीमा संविधान र कानूनबमोजिम सरकारका प्रत्येक काम कारबाहीमा जनता सूचनाको हकदार हुन्छन् भन्ने भावनाका साथ काम गर्नु कर्मचारीको कर्तव्य भएको बताउनुभयो ।

“आजको युग सूचनाको युग हो, लोकतन्त्रमा जनताकै अभिमतबाटै सरकार बन्दछ, त्यस अर्थमा राज्यका शक्ति र मालिक जनता हुन्”–राष्ट्रपति भण्डारीले भन्नुभयो । नागरिक निगरानी र खबरदारीका लागि सूचनाको हक महत्वपूर्ण हुने उहाँको भनाइ छ ।

राष्ट्रपति भण्डारीले जनतामा सूचनाको हकसम्बन्धी चेतना अभिवृद्धि गराउने राष्ट्रिय सूचना आयोगबाट भएका प्रयासको प्रशंसा गर्नुभयो । आयोगले निबन्ध प्रतियोगितामा सूचनाको हकका अभियान्तातर्फ प्रथम हुने राजु श्रेष्ठ, द्वितीय हुने राकेशप्रसाद चौधरी र तृतीय हुने भावना पौडेललाई पुरस्कार प्रदान गरेको छ ।

त्यसैगरी सूचना अधिकारीतर्फ वासुदेव नाथ (प्रथम), स्थानेश्वर सापकोटा (द्वितीय) र सम्झना सुवेदी तृतीय) लाई पुरस्कार प्रदान गरिएको छ । पुरस्कारको राशि क्रमश जनही रु २५ हजार, १५ हजार र १० हजार रहेको छ ।

आयोगले आयोगका कर्मचारी लक्ष्मी जोशी (उपसचिव) र चन्द्रप्रसाद अधिकारी (कानून अधिकृत) लाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ । पुरस्कारको राशि जनही रु ११ हजार १११ रहेको छ ।

राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बाँस्कोटाले सूचनाको हकको विश्वव्यापी प्रचलनअनुसार सूचना आयोगलाई संवैधानिक हैसियत दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा आयुक्तद्वय किरणकुमार पोखरेल र यशोदादेवी तिम्सिनाले सूचना आयोगले सूचनाको हकलाई स्थानीयस्तरसम्म प¥याउन लागि परेको बताउनुुभयो । रासस



प्रतिक्रिया दिनुहोस्