Logo

सर्वेन्द्रको अर्को कदमः ठमेल ‘सवारीमुक्त’ क्षेत्र



काठमाडौं, असोज ३० । डिआइजी सर्वेन्द्र खनालले ट्राफिक व्यवस्थापनका क्षेत्रमा अर्को कदम चाल्ने क्रममा ठमेल क्षेत्रलाई सवारीमुक्त क्षेत्र घोषणा गरेका छन् । पर्यटकीय क्षेत्र ठमेलमा सवारी चापका कारण सडक अव्यवस्थित भएपछि सुधार्ने क्रममा आजबाट लागू हुनेगरी सवारीमुक्त गरिएको हो ।

आजबाट ठमेलभित्र सवारी निषेध हुने खनालले बताए । एम्बुलेन्स र आकस्मिक सेवाबाहेकका सवारी प्रवेश निषेध भएपछि ठमेल क्षेत्रको मुहार बदलिने अपेक्षा गरिएको छ । सवारी चाप र अव्यवस्थाले ठमेलको सुन्दरतामा समेत असर परेको थियो ।

ठमेलभित्र सवारी निषेध गरिएपछि ठमेलबाहिर पार्किङको समस्यालाई दृष्टिगत गरी ट्राफिक प्रहरी महाशाखाले विभिन्न स्थानमा पार्किङको व्यवस्था समेत गर्ने भएको छ । पर्यटक बोक्ने ठूला सवारी र ट्याक्सीका लागि अलग व्यवस्था गरिएको छ । तत्कालका लागि र केही समयका लागि भन्दै योजनाबद्ध तरिकाले पार्किङ समेत गर्न लागिएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन र सडकमा समेत सुधार गर्ने उद्देश्यका साथ तीन महिना अघि आयुक्तको जिम्मेवारी लिएर आएका खनालको कार्यकालमा नयाँ नयाँ सुधारका कामहरू भइरहेका छन् । जनचेतनामूलक कार्यक्रमका साथै सवारी व्यवस्थापनमा कडा योजनाहरू कार्यान्वयनमा ल्याएका छन् ।

जसअनुसार पछिल्लो समय ठमेललाई सवारी निषेध क्षेत्र घोषणा गरिएको हो । अर्को चरणमा ललितपुरको मङ्गलबजारलगायत पुरातात्विक महत्वका क्षेत्रलाई समेत सवारी निषेध क्षेत्र घोषणा गर्ने तयारी गरिएको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्