काठमाडौं, ३१ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताले आफ्नो पार्टीलाई विश्वास गरेकोले नेपाली कांग्रेस आँत्तिएको आरोप लगाएका छन् ।
आज पार्टी मुख्यालय धुम्बाराहीमा ‘आसन्न निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला तथा विशेष प्रशिक्षण कार्यक्रम’ लाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कांग्रेस आफ्नो पार्टीप्रति जनताको विश्वास देखेर अत्तालिएको आरोप लगाएका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले आगामी निर्वाचनमार्फत संसदमा नेकपा एमाले बहुमत प्राप्त पहिलो पार्टी बन्ने दाबी गरे ।
नेता ओलीले शान्ति र समृद्धिको पक्षमा एमाले अग्रभागमा रहेकाले आगामी निर्वाचनमा पनि एमालेलाई बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने दाबी गरे । उनले अवको २ महिनापछि एमालेसँग संघीय र प्रादेशिक दुवै सरकार हुने पनि बताए ।
गठबन्धन र एकतालाई सवैले इमान्दार भएर सफल बनाउनुको विकल्प नभएको ओलीको भनाई छ । उनले भने,‘एमालेसँग विचार, नीति, संगठन र जनताको विश्वास छ, भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा एमाले छ । त्यहि भएर जनताले विश्वास गरेका हुन् । एमालेलाई जनताले विश्वास गरेपछि कांग्रेस किन नआत्तिओस ?’
उनले एमाले पार्टी अरु पार्टीसँग तुलाना नै गर्न नहुने बताए । स्थानीय निर्वाचनमा १४ हजार ९८ जना एमालेबाट निर्वा्चित भएको तथा कांग्रेसले भन्दा एक लाख बढि मत ल्याएकाले कांग्रेस डराएको बताए ।