Logo

निर्वाचन हुँदैन भनेर माओवादीलाई सुचना दिने निर्वाचन आयोगले जनतालाई स्पष्ट पार्नुपर्ने कांग्रेसको माग



१ कात्तिक, काठमाण्डौ । नेपाली कांग्रेसका नेता डा.नारायण खड्काले समानुपातिक तर्फको उम्मेदवारी केही हेरफेर गर्नुपर्ने भएकाले छलफल भइरहेको बताएका छन् । दुवै निर्वाचनका लागि प्रत्यक्षतर्फको उम्मेदवारी छान्ने काम भइरहेको जानकारी दिदै नेता खड्काले समानुपातिकको पनि सच्याउने बताए ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै खड्काले तीन दिनभित्रमा प्रत्यक्षतर्फको उम्मेदवारी टुङ्गो लगाइने बताएका छन् ।

जिल्लाबाट आवश्यकताभन्दा निकै धेरै नाम सिफारिस भएकाले उम्मेदवारी टुङ्गो लगाउन कठीन भएको खड्काको भनाई छ । सरकारमा गएपछि कांग्रेसको नीति तथा कार्यक्रम लागु गर्न सक्ने र जित्न सक्ने सम्भावना बढि भएकालाई उम्मेदवार बनाइने खड्काको दाबी छ । नातावाद र कृपावादका आधारमा पनि उम्मेदवारको नाम अघि सारिएको भन्दै खड्काले संसदीय बोर्डले जित्ने आधार भएकालाई नै उम्मेदवार बनाउने विश्वास गरे ।

डा.नारायण खड्का, नेता, नेपाली कांग्रेस

वाम गठबन्धनले नेपालको राष्ट्रियता र लोकतन्त्रमाथि खतरा बढेको भन्दै नेता खड्काले भने, “वाम गठबन्धन नभै कम्युनिष्ट गठबन्धन भएकाले एक दलीय व्यवस्था लागु गर्ने र अधिनायकवाद लागु गर्ने रणनीति देखिएको छ ।”
कम्युनिष्ट गठबन्धनले जनताको मौलिक अधिकारमाथि प्रहार गर्ने हो कि भन्ने आशंका उब्जिएको खड्काको भनाई छ । एमाले र माओवादी मिलेर दुई तिहाई बहुमत ल्याएर संविधान संशोधन गर्नेसम्मको लक्ष्य लिएकाले यसबारेमा जनतालाई स्पष्ट पार्नुपर्ने खड्काले बताए ।
वाम गठबन्धनले राजनीतिक मात्र नभै भौगोलिक रुपमा पनि धु्रविकरण ल्याउने खड्काको तर्क छ । हिमाल, पहाड र तराईबिचमा भौगोलिक धु्रविकरण हुने खतरा देखिएको उनले बताए ।
यस विषयमा नागरिक सचेत हुनुपर्नेमा खड्काले जोड दिएका छन् । वाम गठबन्धनले भारत र चिनबिचको सन्तुलित सम्बन्धलाई पनि बिगार्न सक्ने आशंका खड्काले गरेका छन् ।
सरकारमा पनि बस्ने र प्रतिपक्षसँग पनि तालमेल गर्ने काम माओावादीले दुनियाँमा कही नगरिएको काम गरेको आरोप लगाएका छन् । सरकारको विपक्षीमा भोट गरेको एमालेसँग प्रमुख सत्ता साझेदारको रुपमा रहेको माओावादीले गठबन्धन गर्नुलाई खड्काले शंकास्पद रुपमा लिएका छन् ।
माओवादीले संसदीय अभ्यासलाई पाखा लगाएको आरोप खड्काले लगाए ।

माओवादीले चुनाव सार्ने सुचना निर्वाचन आयोगबाट पाएको भन्ने कुराको पुष्टीका लागि आयोगले आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने माग खड्काले गरेका छन् । “निर्वाचन आयोगले के सुचना दियो ? निर्वाचन आयोगले कहाँबाट सुचना प्राप्त ग¥यो ? यस विषयमा आज निर्वाचन आयोगले विज्ञप्ति जारी गर्नुपर्छ ।” खड्काले भने ।
“नेकपा माओवादी केन्द्रका मन्त्रीहरुले निर्वाचन आयोगले गोप्य सुचना दिएको भनेका छन्, यस विषयलाई आयोगले स्पष्ट पार्नुपर्छ ।” खड्काले बताए ।
बिना विभागीय मन्त्री बनिसकेका जनार्दन शर्माले गृहमन्त्रीको हैसियतले निर्वाचन नहुने सुचना निर्वाचन आयोगबाट प्राप्त भएको भनि सार्वजनिक गरेकाले शर्माले पनि यस विषयमा स्पष्ट पार्नुपर्ने खड्काको माग छ ।

निर्वाचन आयोगले जनतालाई भ्रममा राख्न नहुने खड्काको भनाई छ । नेपाली कांग्रेस र सरकार तोकिएको मितिमा नै निर्वाचन गर्न प्रतिवद्ध रहेको भन्दै खड्काले प्रधानमन्त्री र गृहमन्त्रीबिचको टकराबले चुनाव प्रभावित हुन सक्ने भएकाले गृहमन्त्रालयको जिम्मेवारी आफैँले लिएको बताए ।



प्रतिक्रिया दिनुहोस्