Logo

‘नेपाल संवत्’ को लोकप्रियता बढ्दै



(कृष्णराज गौतम) : काठमाडौँ, २ कात्तिक : विशेषगरी नेवार समुदायले प्रत्येक वर्ष गोवद्र्धन पूजाका दिन नयाँ बर्ष मनाउने ‘नेपाल संवत्’ को क्रमिक रुपमा लोकप्रियता बढ्दै गएको पाइएको छ ।

सो समुदायका नयाँ तथा परिपक्व पुस्तामा उक्त संवत्लाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहमा प्रवद्र्धन गर्न देखिएको जोश र जाँगरले संवत् लोकप्रिय बन्दै गएको हो । यस वर्ष ११३८ नेसं मनाउनका लागि चित्तरञ्जन नेपालीको संयोजकत्वमा नागरिक स्तरबाट समिति समेत गठन गरिएको छ ।

विसंको कात्तिक शुक्ल पक्षको दिनमा यस संवतका प्रवर्तक शंखधर साख्वाले केही ऋणी जनताको पैसा तिरेर उनीहरुलाई ऋणमुक्त बनाएको दिनको सम्झनामा नयाँ संवत् प्रचलनमा ल्याइएको विद्वान्हरु बताउँछन् ।

पूर्व राजदूत हिरण्यलाल श्रेष्ठका अनुसार शंखधर भन्ने एक व्यापारी थिए, व्यापार गर्दागर्दै उनी धेरै धनी भएपछि गरिब जनतालाई ऋणमुक्त गरेका थिए । कान्तिपुरका एकजना साधारण नागरिक साख्वाले चलाएको संवत नेपालको मौलिक संवत भएपनि कार्यान्वयनमा चुनौती रहेको उहाँको भनाइ छ ।

कार्तिक शुक्ल पक्ष प्रतिपदाको सूर्योदयलाई नेवारीमा न्हुदँ अथवा नयाँ वर्ष भनिन्छ । नेपालमा औपचारिक रूपले यो संवत चन्द्रशमशेरको कार्यकालसम्म प्रचलनमा रहेको विश्वास छ ।

नेपाली काँग्रेसका नेता तीर्थराम डंगोलले शंखधरले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको हुँदा त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेर त्यसको खुशीयालीमा नयाँ संवत चलाएको विश्वास व्यक्त गर्नुभयो ।

करिब एक दशक अघि शंखधरलाई राष्ट्रिय विभूतिसमेत घोषणा गरिएको थियो । नेपालमा मानदेव संवत् र नेपाल संवत्लाई मौलिक संवतका रुपमा लिइएको छ । यस संवत्को शुरुवातका सन्दर्भमा मानदेव संवत् ३०४ साल पूरा भएको भोलिपल्टदेखि नै भएको विश्वास छ ।

भिक्षु तपस्सी धम्मका अनुसार मानदेव संवत् ३०४ सम्म व्यवहारमा प्रयोग भएको देखिन्छ । पछि गएर प्रचलनमा आउन नसकेपछि मानदेव संवत्को स्थान नेपाल संवत्ले लिएको विश्वास गरिएको छ ।

मानव सभ्यताको उदयक्रमसँगै काल गणनाको अध्ययन शुरु भएको हो । सभ्य समाज निर्माणका लागि इतिहासको अध्ययन तथा अनुसन्धानको खाँचो हुने र त्यसका लागि काल गणना महत्वपूर्ण मानिन्छ ।

उपत्यकाका सम्पूर्ण जनताको ऋण तिरेर कान्तिपुरका एकजना साधारण नागरिकले नेपाल संवत् चलाएको समय भनेको राजा राघवदेवको समय हो भनी वंशावलीमा पाइने अधिकारकर्मी सुजीव ब्रजाचार्यले बताउनुभयो । भक्तपुरका राजा राघवदेवको आज्ञामा सो संवत् केही कार्यालयमा चलाइएको थियो ।

चन्द्रमासमा आधारित सो संवत् विभिन्न प्राविधिक कारणले मुलुकमा कम प्रचलित छ । यो संवत्मा तिथि टुटफुट हुने, कहिलेकाहीँ त दुई दिनसम्म एउटै तिथि हुने समस्या देखिएको छ । प्रत्येक तेस्रो वर्ष १३ महिनाको हुने हुँदा गणनामा केही जटिलता आउने समस्या छ ।

धार्मिक, सांस्कृतिक, सामाजिक कार्यमा यो संवत्को प्रयोग वैज्ञानिक हुने विश्वास छ । अब यसलाई सरकारी तहमा पनि प्रचलनमा ल्याउन सरोकार पक्ष क्रियाशील हुनुपर्ने देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्