Logo

भाइटीकाका दिन बढी भाडा लिने सवारी कारबाहीमा



मेलम्ची, सिन्धुपाल्चोक, ५ कात्तिक (रासस) ः भाइटीकाको मौका छोपी सरकारले तोकेभन्दा बढी भाडा लिने सवारी साधनबाट मेलम्ची इलाका प्रहरी कार्यालयले भाडा फिर्ता गर्न लगाई गरी जरिवानासमेत तिराएको छ ।

काठमाडौँको जोरपाटीबाट सिन्धुपाल्चोकको मेलम्ची हुँदै नवलपुर गुडेको हेलम्बु यातायातको बा ३ ख १६६१ नम्बरको सार्वजनिक यातायातले यातायात व्यवस्था विभागले तोकेभन्दा छ गुणा बढीसम्म भाडा लिएको गुनासो आएपछि प्रहरीले सो सवारी साधनलाई रोकी भाडा फिर्ता गराएको हो ।

रू ११५ भाडा तोकिएको मेलम्चीसम्म रू ६०० सम्म भाडा उठाएको पाइएको थियो । सधैँ सवारी साधन सञ्चालन हुने नारायणटारस्थित बसपार्कबाट बस चढेर गएपछि बीच बाटोमा परिचालकले भने बमोजिमको भाडा मागेपछि यात्रुहरू आक्रोशित भएको यात्रु श्याम ढकालले बताउनुभयो ।

यात्रुबाट सके जति भाडा उठाएको गुनासो आएपछि बस रोकेर यात्रुसँग सोद्धा पुष्टि भएकाले तोकिएजति भाडा राखेर अरु फिर्ता गराइएको प्रहरी जवान मनबहादुर पुलामीले जानकारी दिनुभयो । त्यस्ता सवारी साधनलाई रू एक हजार जरिवाना पनि गराइएको प्रहरी हवल्दार एकबहादुर रोक्काले बताउनुभयो ।

चाडबाडका दिन यातायात व्यवसायीले सार्वजनिक यातायातका काउन्टर नखोली बसपार्कबाटै यात्रु लिएर मनपरि भाडा उठाउने गर्दा पनि कारबाही भने हुन सकेको छैन । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सरकारले तोकेभन्दा रू एक मात्र बढी भाडा लिए पनि रू एक हजारदेखि पाँच हजारसम्म जरिवाना लिनसक्ने व्यवस्था छ ।

यातायात सधैँ चलाउनुपर्ने व्यवसाय भए पनि व्यवसायीले चाडबाडका नाममा सम्बन्धित मार्गमा चल्ने बस होइन भन्दै मन लागे जति भाडा कुम्ल्याउने गरेका छन् । सिन्धुपाल्चोको पश्चिमी भेगमा हेलम्बु यातायात र आमा ह्योल्मो यातायातको एकाधिकार छ भने मध्य र पूर्वी भेगमा अरनिको यातायातको एकाधिकार छ ।

यातायातमा एकाधिकार नतोडिँदा यात्रु भने मारमा पर्दै आएका छन् । भाइटीका लगाएर काठमाडौँ फर्कने क्रममा आज हेलम्बु यातायातकै बा ४ ख २२१४ नम्बरको सवारी साधनले मेलम्चीदेखि जोरपाटीसम्म रु ११५ भाडामा रु १५० उठाएर ठगी गरेको यात्रु निर्मला घोरसैनीले बताउनुभयो ।

यो सवारी साधनले मेलम्चीदेखि तीन किमी स्फटकेश्वरसम्मकै रु १०० भाडा असुलेको गुनासो गर्दै उहाँले विभागले सार्वजनिक यातायातमा अनुगमन गरी कारबाही नगर्दा विकृति मौलाएको छ भन्नुभयो ।

विभागका प्रवक्ता डा टोकराज पाण्डेले जुनसुकै दिन तोकिएभन्दा बढी भाडा लिने सवारी साधनलाई रु एक हजारदेखि रु पाँच हजारसम्म जरिवाना गरी सो मार्गको इजाजत खारेजसम्म गर्न सकिने व्यवस्था रहेको बताउनुहुन्छ ।

चाडबाडका नाममा रू पाँच हजारसम्म जरिवाना गरे पनि अहिलेसम्म विभागले कुनै पनि सवारी साधनको मार्ग इजाजत खारेज नगरेको उहाँले जानकारी दिनुभयो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot