Logo

रामचन्द्र पौडेल भर्सेज गोविन्दराज जोशी : को कति पानीमा ?



-कमलमणि पोख्रेल

प्रदेश नम्बर ४ को तनहुँ जिल्ला केन्द्रिय राजनीतिसँग सधैँ जोडिने गरेको छ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको गृहजिल्ला र चुनावमा पौडेल जिल्लाबाट नै लड्दै आएकाले पनि तनहुँ चर्चित छ । अर्कोतिर देशकै विभिन्न मुद्दामासमेत पौडेलको विचार र अडान लागु हुने गरेको छ । पार्टीभित्र पनि पौडेलले राम्रै छाप बनाएर नेतृत्व लिने हैसियत बनाइसकेका छन् । राष्ट्रिय राजनीतिमा सक्रिय नेता पौडेल नेपाली कांग्रेसका कार्यवाहक पूर्व सभापति मात्रै होइनन्, संसदमा सभामुखको भूमिकासमेत निर्वाह गरिसकेका नेता हुन् । विभिन्न पटक मन्त्री भएका पौडेलले सरकार र पार्टी संचालनको क्षमता विस्तार गरेका छन् । पटक पटक सार्वजनिक पद धारण गरेका पौडेल साना तिना घटनाबाहेक विवादमा अहिलेसम्म आएका छैनन् ।

त्यस्तै करिब एक दशक अघिसम्म जिल्लाको राजनीतिबाट केन्द्रसम्म नै चर्चा पाउने अर्का नेता थिए, गोविन्दराज जोशी । शिक्षा मन्त्री हुँदा लोकप्रिय काम गरेको भन्दै स्यावासी पाएका जोशी माओवादी द्धन्द्धकालमा गृहमन्त्री भएर होस् वा ५६ सालको आम निर्वाचनमा तनहूँ क्षेत्र नम्बर १ बाट विजयी हुँदा, जोशीका पछाडी लाग्ने जनताको कमी थिएन । जनप्रेमी नेताको छबी बनाएका जोशीले हजाराँै जिल्लाबासीलाई रोजगारी दिलाएको चर्चा अझै सेलाएको छैन । जोशीकै पालामा विकास निर्माणसँग सम्बन्धित सडक, खानेपानी, विजुली जस्ता क्षेत्रको विकासले राम्रैसँग गति लिएको थियो । जोशी विकासप्रेमी नेताका रुपमा स्थापित भइसकेका थिए ।

तर दुर्भाग्य, सार्वजनिक पदमा रहँदा अकूत सम्पत्ति कमाएको भनेर मुद्दा परेपछि उनको राजनीतिक जीवन धुमिल बन्न पुग्यो । विशेष अदालतले २०६९ साउन १० मा नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पूर्वमन्त्री जोशीलाई भ्रष्टाचारी ठहर गरेको थियो । अदालतले उनीसँग बिगो र जरिवाना गरी ४ करोड ३२ लाखसहित डेढ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।
तर विशेष अदालतले उनलाई सफाई दिदै पुनः सक्रिय राजनीतिमा लाग्ने बाटो खोलिदिएको थियो ।

२०४८ पछि पटकपटक मन्त्री रहँदा जोशीले अकूत सम्पत्ति आर्जन गरेको र सो सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेषमा मुद्दा परेको थियो । तर, २०६३ कात्तिक ३० मा विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यहरू कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलाशले जोशीलाई सफाइ दिएको थियो ।
जोशीको मुद्दालाई विशेषले भ्रष्टाचार निवारण ऐन, २०४८ बमोजिम पदबाट बाहिरिएको एक वर्षभित्रै मुद्दा दायर गर्नुपर्नेमा सो अवधि नघाएर दायर गरेको कारण देखाउँदै खारेज गरेको थियो । विशेषको सो निर्णयविरुद्ध अख्तियारले २०६३ मंसिरमा सर्वोच्चमा पुनरावेदन गरेको थियो । त्यही मुद्दा अहिलेसम्म किनारा लाग्न सकेको छैन ।

भ्रष्टाचारको यही केशले गर्दा जोशीको राजनीति झण्डै समाप्त भएको थियो । ६४ सालको संविधानसभा चुनावमा हार्नु र कांग्रेसकै केन्द्रिय सदस्यमासमेत पराजित भएपछि जोशीलाई पार्टीले पनि उपेक्षा गर्दै आएको छ ।
समय परिस्थिती अनुसार जोशी आफैँ पनि पार्टीको अनुशासनसँग नजिक हुन सकेनन् । ७० सालको संविधानसभा चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट शंकर भण्डारीलाई पार्टीले टिकट दिएपछि जोशी रुष्ट बने, त्यतिमात्रै होइन । आफ्नै पार्टीका उम्मेदवार भण्डारीलाई हराउनका लागि सम्भव भएजति प्रयास गरेको आरोप जोशीमाथि लाग्यो । तर भण्डारीले चुनाव जिते, जोशी झन ओझेलमा पर्दै गए ।

उता अर्का नेता पौडेलभने विवादबाट सधैँ जोगिएर राजनीति गरे । चुनावमा जित्दै गए । पार्टीको केन्द्रिय समितिमा जोशी पराजित हुँदासम्म पौडेलले पार्टी सभापतिमा चुनाव लड्ने हैसियत बनाइसकेका थिए । यसअघि प्रधानमन्त्रीको लडाइमा पनि पराजित पौडेलमाथि अरु कुनै आरोप लाग्न सकेको छैन । प्रधानमन्त्री पदमा पराजित भए पनि किन पराजित भए वा उनलाई किन प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएको थियो भन्ने कुरा स्पष्ट थियो ।
पौडेलले पार्टी सभापतिमा चुनाव हारे । तर अहिले कांग्रेसभित्र चर्चा सुरु भएको कि, शेरबहादुर देउवालाई सभापति बनाएर गल्ती भयो । अब पौडेललाई बनाउनुपर्छ । कांग्रेसीजनले पौडेललाई सभापति बनाउलान वा नबनाउलान, त्यो भविष्यले बताउँछ ।
अहिलेको जल्दोबल्दो विषय भनेको आगामी मंसिरमा हुने चुनावमा तनहुँ क्षेत्र नम्बर १ बाट पौडेल उठ्ने, अर्कोतिर त्यही क्षेत्रबाट आफुले चुनाव लड्न नपाए… भन्दै जोशीले दबाब दिने ।

जोशीले अहिले तनहुँ क्षेत्र नम्बर एकका जनताले आफुलाई चाहेको दाबी गर्दै आएका छन् । तर जोशीले के भुल्नु हुँदैन भने, ६४ सालको पहिलो संविधान सभाको चुनावमा “गोविन्दराज जोशी भ्रष्टचारी हो” भन्दै जोशीकै बागी उम्मेदवारको चुनाव चिन्ह घैँटोमा भोट हालेर महान काम गरेको ठान्नेहरु अहिले जोशीको शरणमा पुगेका छन् ।

एकातिर वाम गठबन्धन भन्दै नेकपा एमाले र नेकपा माओवादीले साझा उम्मेदवार बनाएका छन्, अर्कोतिर नेपाली कांग्रेसभित्रका नेताहरु एक आपसमा मिलेर अगाडि बढ्न सकेका छैनन् । आफुले टिकट नपाए बागी उम्मेदवारी दिने भन्ने जोशीको चेतावनी कत्तिको जायज छ, त्यसको विश्लेषण सच्चा कांग्रेसीले गर्नुपर्छ । तनहुँमा पौडेलले आफूलाई सधैँ निषेधको राजनीति गरे भन्ने पनि जोशीकै आरोप छ । पार्टीभित्रकै केन्द्रिय सदस्यमा पराजित भएका जोशीलाई पौडेलले कसरी निषेध गरे भन्ने प्रश्न कतिपयको मनमा छ ।

तर सच्चा कांग्रेसीहरुको चिन्ता के हो भने आपसी लडाईले कांग्रेसको एक सिट गुम्नु हुँदैन भन्ने नै हो । अब कुरो के भने नेताहरुले आफु सासंद बन्ने कुरालाई प्राथमिकता दिने कि कांग्रेसलाई बलियो बनाउने ? जोशी र पौडेलबिचको विवादले बाम गठबन्धनमा एक सिट थपिनु भनेको तनहुँ कांग्रेसको इज्जत जानु हो ।
पौडेल र जोशीबीचको सहमति र सहकार्यबिना अरु कसैले केही भनेर समाधान हुने छाँट अहिले देखिदैन ।

पौडेल र जोशीबिचको समानता गृहजिल्ला एउटै हुनु हो । कुनै कालखण्डमा एउटै हैसियतका नेता थिए होलान्, अहिले आकास पातालको फरक छ । जोशीलाई निषेध गरेर पौडेल अगाडि बढेका पनि होइनन्, अब जोशीले तगाँरो हाल्दैमा पौडेलको राजनीति धरापमा पनि पर्दैन । यत्ति हो, यसपटकको चुनावमा हारजित जे होला ।



प्रतिक्रिया दिनुहोस्