Logo

त्रुटिरहित र प्रश्न उठ्न नदिने काम गर्नुस् : डा यादव



काठमाडौँ, १८ कात्तिक (रासस) : प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई व्यवस्थापकीय दृष्टिकोणबाट त्रुटिरहित र प्रश्न उठ्न नदिने ढंगबाट जिम्मेवारी सम्हाल्न आयोगका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आयोग परिसरमा सञ्चालित क्षेत्रीय निर्वाचन अधिकारी तथा जिल्ला निर्वाचन अधिकारीसहित आयोगका अधिकृत सम्मिलित प्रशिक्षण कार्यक्रम समापन समारोहमा उहाँले निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण र कठिन भए पनि मतदान र मतगणनाको संवेदनशीलतालाई बुझेर स्वतन्त्र र निष्पक्ष भएर काम गर्न प्रशिक्षणमा सहभागीलाई निर्देशन दिनुभएको हो ।

सो अवसरमा निर्वाचन आयुक्त सुधीरकुमार शाहले निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनको प्रभावकारी अनुगमन गरिरहे पनि कहीँकतै आचारसंहिता उलंघनका घटना हुन सक्नेतर्फ जिल्ला निर्वाचन कार्यालयलाई पनि चनाखो भएर काम निर्देशन दिनुभयो ।

आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्यालले आगामी मंसिर १० र २१ लाई लक्ष्य गरेर निर्वाचनका सबै विषयलाई सार्थक हुने गरी परिचालित हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक सञ्चालन हुने र मतदाताले तीन मतपत्रमा चार ठाउँमा मत संकेत गरी बेग्लाबेग्लै तीन मतपेटिकामा मतपत्र खसाल्नुपर्ने भनी सबै मतदातालाई छर्लङ्ग बुझाउने गरी मतदाता शिक्षा अघि बढाउन आयोग लागेको जनाइएको छ ।

आयोगले निर्वाचनलाई व्यवस्थित र सहज तरिकाबाट सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले मतदान तथा मतगणना विषयको मुख्य प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्