Logo

देउवाको परिक्षाः धर्मको रक्षा गर्ने कि कायरता देखाउने ?



डा.दीपेश केसी : ‘कम्युनिष्ट एकता’बाट नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सबैभन्दा अत्तालिएका छन् । कम्युनिष्टप्रति लच्छित उनका पटक पटकका अभिव्यक्ति त्रासको प्रतिक्रियास्वरुपको बर्बराहट जस्तो बन्दैछ । घरी उनी कम्युनिष्ट शासन आयो भने जनताले रुन पनि पाउँदैनन् भन्छन् घरी कम्युनिष्ट एकता देशलाई अधिनायकवादतर्फ लाने षड्यन्त्र भन्छन् ।

कम्युनिष्टको बर्बरता र अधिनायकवादी शासन विश्वका लागि जानकार विषय हो । कम्बोडियाका कम्युनिष्ट शासक पोलपोटबाट २० लाखको कत्लेआम इतिहासमै कलंकित छ । रूसमा लेनिनले रक्तपातपूर्ण सत्ता हत्याउँदा त्यहाँको जारशाहीको परिवार एकै रात सखाप पारेका थिए । माओत्से तुङले सांस्कृतिक क्रान्तिका नाममा गाउँका जनतालाई शहरमा र शहरका जनतालाई गाउँमा लखेटेर जर्बजस्ती कठोर श्रम गर्न वाध्य पारेका थिए । माओले विरोधी ठेगान लगाउन सांस्कृतिक क्रान्तिको उपयोग गरे ।

‘राजनीतिक शक्ति बन्दुकको नालबाट निस्कन्छ’ भन्ने माओत्से तुङको अभिव्यक्ति अनुसार चल्दै कम्युनिष्टहरूले नेपालमा १८ हजारको ज्यान जाने गरी दश वर्षे हिंसा मच्चाए । उनीहरू शान्ति प्रक्रियामार्फत् राजनीतिको मूलधारमा आएपनि षड्यन्त्रको राजनीतिलाई अपनाइआएका छन् । पछिल्लो समय प्रचण्डले षड्यन्त्रको राजनीतिको पूर्ण प्रयोग गरे । कम्युनिष्टहरूको षड्यन्त्ररूपी चरित्र जान्दा जान्दै र उनीहरूको व्यवहार अनुसार आक्रामक हुनुपर्ने अवस्थामा शेरबहादुर देउवा किन कायरता प्रदर्शन गरिरहेका छन् ? यो विषय मननीय हो । देश र जनताको दुरगामी हितका लागि कठोर एजेण्डा बोक्ने साहस गर्नुपर्नेमा देउवा किन अघि बढ्न पाइला सारिरहेका छैनन् ?

शेर कि कायर

कायरहरू बढी बोल्छन् बहादुरहरू बढी गरेर देखाउँछन् । तर, शेरबहादुर देउवा नाम भन्दा विपरित बर्बराउँदैछन् । नेपालको लोकतान्त्रिक शक्तिका नेतृत्वकर्ताको धर्म पालना गरिरहेका छैनन् । देउवाको अभिव्यक्ति र कदम कम्युनिष्ट क्रियाको प्रतिक्रियास्वरुप आइरहेको छ । नेपाली राजनीतिको केन्द्रीय शक्ति नेपाली काँग्रेसका सभापति भइकन उनी आक्रामक भन्दा रक्षात्मक देखिएका छन् । प्रचण्ड र केपी ओलीले के गर्लान् भनी कुरी बस्छन् । देउवाको व्यवहार उनका राजनीतिक गुरू गिरिजाप्रसाद कोइरालाको भन्दा ठिक उल्टो छ । कोइराला नेपाली राजनीतिमा सधै आक्रामक रुपमा प्रस्तुत भए । आवश्यक पर्दा घैंटोको विष कण्ठमा राखेर भएपनि नेपालको राजनीतिलाई एउटा मोड दिएर गए ।

कोइराला तिनै नेता थिए जसले लोकप्रीय हुने महत्वाकांक्षा पालेनन् । देशको हितमा काम गर्दा बदनामी देखि समेत डराएनन् । राजनीतिका मुख्य खेलाडीका रूपमा खेलिरहे । रक्षात्मक राजनीति कायरहरूले गर्ने हो, साहसीले आक्रामक राजनीति मात्र गर्छ । आफ्नो दाजु वीपी कोइराला सैद्धान्तिक र आदर्शको राजनीतिमा सिद्धहस्त भएपनि गिरिजाप्रसाद कोइराला व्यवहारिक राजनीतिमा दाजुभन्दा अब्बल थिए । कठिनतम शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउन उनले जे जस्ता चर्तुयाई देखाए त्यो जङ्गबहादुर राणाको राजनीतिक चर्तुयाई भन्दा कम थिएन ।

गिरिजाप्रसादले राष्ट्रलाई केन्द्रमा राखेर कदम चालेका थिए । उनका लागि कुनैपनि सिद्धान्तहरू गौण थिए । उनले पटक पटक गौण शब्द त्यसै प्रयोग गर्दैनथिए । राष्ट्रका लागि जे उत्तम हो त्यो कदम नेताले चाल्नुपर्छ भन्ने मान्यतामा कोइराला बढेका थिए । गणतन्त्र र धर्मनीरपेक्ष जस्ता मुद्या गिरिजाप्रसाद कोइरालाका थिएनन् । दिनहुँ नेपाली जनताको ज्यान गइरहेको अवस्थामा देशलाई निकास दिन उनले चौतर्फी दबाबलाई थेगेर निर्णय लिए ।

गणतन्त्रमा जाँदा जाँदै कोइरालाले ‘बेबि किङ्ग’ को शब्द चर्चामा ल्याए । धर्मनीरपेक्षको निर्णयपछि उनी मठमन्दिर धेरै गएका थिए । यसबाट उनले दुवै निर्णय मनबाट लिएका थिएनन् भन्ने बुझ्न कठिन नहोला । देशलाई असहज परिस्थितिबाट पार लगाउन गणतन्त्र र धर्मनीरपेक्षताको अवगालको भागिदार बन्न तयार भएर कदम चाले । यसलाई कोइरालाले जीवनमा गरेको गल्ती होइन देश र जनताको हितका लागि तत्कालको परिस्थितिमा देशभक्त नेताले लिएको जोखिम भन्नुपर्छ । उनले लिएको जोखिमले देशलाई राजनीतिक दिशा त दियो तर अस्थिरता र अराजकताको नयाँ परिवेश सृजना ग¥यो ।

धर्मको मुद्या

कार्ल माक्र्सले धर्मलाई अफिमसँग तुलना गर्दै धर्ममा लाग्नेलाई नशाले लठ्ठ पारेजस्तै पार्ने भनेर धर्म विशेषमाथि आक्रामक तर्क अगाडि सारे । यति भन्दा भन्दै उनले यहुदी धर्मको रक्षामा आफ्नो बुद्धि र विवेक प्रयोग गरिरहेका थिए । नाजी जर्मनी र फ्रान्समा टिक्न बस्न नसकेका उनले थोरै जनसंख्या भइकन प्रभाव तत्काल स्थापित गर्न सक्ने क्षमताका यहुदीको हितमा दर्शन ल्याए । जुन दर्शनले सँसारमा करोडौंको रगत बगाउन भूमिका खेल्यो ।

यहुदीहरूको धर्म र समाज समुन्नत हुँदै जाँदा अन्य धर्म विशेषगरी हिन्दु धर्ममाथि प्रत्यक्ष अप्रत्यक्ष आक्रमणहरू भए । आफ्नो जाति विशेष र धर्म विशेषको हितमा माक्र्सले भूमिका खेले । जतिसुकै भौतिकवादी भएपनि अल्बर्ट आइन्स्टाइन यहुदी धर्मका विरोधी भएनन् । यौनमनोविज्ञ सिग्मण्ड फ्रायड पनि यहुदी थिए । उनको भूमिका यहुदी धर्मलाई हानी नोक्शानी पुग्ने उद्देश्यको थिएन । यी पक्षलाई मनन नगरी सिद्धान्तको प्रयोग सही उद्देश्यले गर्न खोजेपनि नतिजा गलत आउन सक्छ । नेपालमा कम्युनिष्ट सिद्धान्तको प्रयोगले गरिबी बढाउने देखि सामाजिक एकता भाँड्न खोज्यो । जातीय मुद्या कम्युनिष्टहरू ल्याएका थिए । जसले स्वयं कम्युनिष्ट नेताहरूलाई सिंहको सवार बनायो ।

नेपालमा माक्र्सवाद, लेनिनवाद, स्टालिनवाद देखि माओवाद जस्ता कम्युनिष्ट सिद्धान्तको प्रयोग अरुले बोकाएको भारी जस्तो देखियो जसले देशको धर्म र राष्ट्रियतामाथि निरन्तर प्रहार गरिरह्यो । कम्युनिष्टहरूबाट सबैभन्दा प्रहार धर्म र संस्कृतिमाथि भयो । अप्रत्यक्ष आक्रमणपछि समाजमा सुन्यता बनाएर धर्म परिवर्तनलाई प्रयोगमा ल्याउन खोजियो । योजनावद्ध रुपमा चालिएको यो कदममा सबैभन्दा बढी नेपालका कम्युनिष्टहरू भए । उनीहरूको इशाई मिसिनरीसम्वद्ध संघसंस्थासँगको सिधा सम्बन्धबाट यसको पुष्टि हुन्छ ।

नेपालमा कम्युनिष्ट बनाउँदै धर्म विरोधी बनाउने त्यसपछि धर्म परिवर्तनका शृंखला चलाइए । नियोजित रुपमा चलाइएको यो षड्यन्त्रमा धेरैजसो कम्युनिष्ट नेताहरू सहभागी भए । धर्ममाथिको आक्रमणले कुनैपनि समाजको संरचना बिथोलिन्छ भन्ने बुझेर यस्ता कदमहरू चालिएका थिए । धर्मनीरपेक्षका शब्दहरू सबै धर्म मान्ने स्वतन्त्रताका लागि होइन धर्म परिवर्तनका लागि थोपरिएको थियो भन्ने घटनाक्रमले पुष्टि गरेको छ ।
धर्म परिवर्तनलाई संविधानले गैरकानुनी भनी उल्लेख गर्दा बर्बाराउनेहरू तिनै धर्म परिवर्तनका ठेकेदारहरू थिए । धर्म परिवर्तनलाई गति दिने उद्देश्यले जे जस्ता क्रियाकलाप भइरहेका छन् त्यसले देशमा अर्को द्वन्द्वका लागि जग हालिरहेको हेक्का लोकतान्त्रिक शक्तिले राख्नुपथ्र्यो । कम्युनिष्टहरू त हिंसाबाट लाभ लिदै आएका हुन् । इशाईहरूको सहयोगी भइरहेका छन् ।

सन् १९५१ को जनगणना अनुसार इशाईको संख्या सुन्य भएकोमा सन् २०११ को जनगणना अनुसार पौने चार लाख जनसंख्या पुगिसकेको छ । नेपाल सँसारमा तिव्र रफ्नारमा इशाईको संख्या बढिरहेको मुलुकमध्ये पर्छ । यस विषयमा कम्युनिष्ट नेताहरूमा कत्तिपनि चिन्ता छैन । उनीहरूका लागि धर्म संस्कृतिको संरक्षण प्राथमिकतामा पर्ने विषय पनि भएन ।

कम्युनिष्टहरू धर्म संस्कृतिमाथिको आक्रमणमा निरन्तर प्रयोग भइरहँदा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कायरता देखाइरहनु गम्भीर विषय हो । कम्युनिष्ट नेताहरूको मिलनको एउटा बिन्दु भनेको उनीहरू नास्तिक हुन् । चुनावको मुखमा उनीहरूले मठ मन्दिरमा गएर भ्रम छरेकै हुन् । देशमा जब धर्मको रक्षाको विषय उठ्छ तब सबैभन्दा पीडा उनीहरूलाई हुन्छ ।

देउवा इतिहासको कठिन मोडमा छन् । नेपाली जनताले चाहेको धर्म र संस्कृतिको रक्षाको नेतृत्वदायी भूमिका निभाउनुपर्ने दायित्व देउवासामु छ । व्यक्तिको धर्म हुँदैन र देशको धर्म हुँदैन भन्नु भ्रम फैलाउनु सिवाय केही होइन । महान् समाजशास्त्री इमाइल दुर्खाइमले धर्म र समाजलाई एउटै हो भनेका छन् । भारतका चर्चित प्राध्यापक अमित शर्मा समाज रहेसम्म धर्म रहने तर्क गर्छन् । नेपाल राष्ट्र हो र यसको धर्म हुन्छ । ९० प्रतिशत भन्दा बढी नेपाली जनताले मान्ने धर्म सनातन धर्म हो । यो मुद्याले मुलुकमा जर्बजस्त प्रवेश पाउनुपर्छ ।

नेपाली काँग्रेसमा धर्मनीरपेक्षताबारे पुनःविचारबारे महामन्त्री डा. शशांक कोइरालालगायत केही नेताहरूबाट आवाज आइसकेको हो । अब यसले आधिकारिक धारणाको ठाउँ लिनुपर्छ । नास्तिक कम्युनिष्टहरूबाट देशलाई क्षति पुग्नबाट बचाउने हो भने काँग्रेसका लागि धर्म रक्षा आगामी एजेण्डा हुनुपर्छ । सतानत धर्मको रक्षाको दायित्व नेपाली काँग्रेसबाहेक अन्य कुनै लोकतान्त्रिक शक्तिले लिएपनि अरु कसैले लिएपनि त्यसको प्रभाव हुनसक्दैन । राष्ट्रिय प्रजातन्त्र पार्टीका विभिन्न समूहले यो मुद्या बोकेपनि सार्थक निष्कर्षमा पु¥याउन सकेनन् ।

महाभारतमा भनिएको छ कुनैपनि राजा आफ्नो देश र जनसमुदाय भन्दा ठूलो हुँदैछ । राजाको मुख्य तीनवटा मुख्य कर्तव्य हुन्छ, देश र जनसमुदायको न्याय दिनु, उनीहरूको रक्षा गर्नुका साथै देश र जनताको न्याय दिने र रक्षा गर्न सक्ने खुबी भएको नेतृत्व निर्माण गर्नु । देउवाले देशको कार्यकारीका रूपमा राजधर्म पालना गर्ने हो भने धर्मको रक्षामार्फत् देश र जनतालाई न्याय दिनसक्नेछन् र धार्मिक नेतृत्व निर्माणमा भूमिका खेल्न सक्छन् । देउवाले यो भूमिका खेल्ने साहस देखाएनन् भने अर्को साहसी नेतृत्व जन्मिने निश्चित छ । इतिहासले दिएको कर्तव्य पालना गर्ने कि कर्तव्यविमुख हुने ? देउवाका सामु परिक्षाको घडी आएको छ ।

 



प्रतिक्रिया दिनुहोस्