Logo

राजनीतिका यी ७ प्रमुख खेलाडीहरु जो पार्टीलाई जिताउनेभन्दापनि आँफै जित्ने खेलमा व्यस्त



काठमाडौं, २० कार्तिक । आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेपाली राजनीतिका ७ खेलाडीहरुको लागि चुनावी प्रतिष्पर्धा अत्यन्तै चर्चाको विषय बनेको छ ।

आगामी मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभाको चुनावमा सबैजसो दलका शीर्ष नेताहरु प्रत्यक्ष चुनाव लड्ने भएका छन् । राष्ट्रिय राजनीतिको केन्द्रविन्दुमा रहँदै आएका केही शीर्ष नेताको चुनावी क्षेत्र, प्रतिस्पर्धी र चुनौति हेर्दा चुनाव जित्न कठिन र सहज दुवै अवस्था रहेको छ ।

शेरबहादुर देउवा, प्रधानमन्त्री एवम् पार्टी सभापति–नेपाली कांग्रेस  :

नेपाली काग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बनेका छन् । वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका तर्फबाट खगराज भट्टले उम्मेदवारी दिएका छन् । एमाले र माओवादी केन्द्रका एकल उम्मेदवार भट्टले देउवालाई चुनौति दिएपछि जित कसको हुन्छ भन्ने निश्चित् छैन । हुन त देउवा आफू चुनाव जित्नेमा ढुक्क छन् । उनले आफुलाई चुनाव जित्ने वा हार्ने मात्र नभई यतिवेला समग्र कांग्रेसकै इज्जत जोगाउने चुनौति पनि छ । वाम गठबन्धनका कारण यसपटक कांग्रेसको नतिजा राम्रो नआउने अनुमान गरिएको छ । जसले गर्दा देउवा तनाबमा छन् ।

हुन त देउवाले प्रदेश सभामा म्यानेज गरेका छन् । उनी अहिले चुनाव जित्ने अवस्थामा पुगेका छन् । चुनाव जितिन्छन नै भन्नेमा उनी आशावादी छन् । देउवा यही कार्तिक २५ गतेदेखि काठमाडौंबाहिर चुनावी सभालाई सम्बोधन गर्न जाने तयारीमा छन् । त्यस्तै कांग्रेसको नयाँ निश्कर्ष पनि छ कि वाम गठबन्धनले उम्मेद्धवार उठाउँदा अत्यन्तै कमजोर उम्मेद्धवार उठाएकोले खासै असर नपर्ने पनि देखिएको छ । एमाले पकड भएको ठाउँमा माओवादीका उम्मेद्धवार बनेकाले त्यसको फाईदा कांग्रेसले नै लिने उनीहरुको बुझाई छ ।

यता देउवा आफ्नी पत्नी डा. आरजु राणा देउवालाई जिताउनेगरि पोलिटिकल मुभ गर्दैछन् । उनलाई यो पनि प्रतिष्ठाको विषय बनेको छ । कसरी हुन्छ आरजु जित्नुपर्छ भन्ने पक्षमा उनी पुगेका छन् । त्यसैले उनी आफूलाई अन्यत्रको चुनावी सभालाई भन्दापनि डढेलधुरा र कैलालीको चुनावी सभालाई सम्बोधन गर्ने तयारीमा जुटेका छन् ।

केपी शर्मा ओली, अध्यक्ष नेकपा एमाले :

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बाम गठबन्धन निर्माण गर्न सफल भएसँगै एमालेमा उनको अध्यक्षको कार्यकाल पनि सफल भएको टिप्पणी गर्न थालिएको छ । तर झापाबाट उम्मेदवारी दिएका ओली पनि पूर्ण सुरक्षित छैनन् । ओलीले झापा ५ बाट प्रतिनिधिसभाका लागि उमेदवारी दर्ता गराएका छन् । ओलीले एमाले–माओवादीको संयुक्त गठबन्धनबाट उमेदवारी दिएका हुन् ।

उनीविरुद्ध नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले उमेदवारी दिएका छन् । यसअघि झापा ७ बाट उमेदवार बन्दै आएका ओली नयाँ संरचनाअनुसार पाँच क्षेत्र भएपछि सो क्षेत्रमा पुगेका हुन् । उनको चुनावी क्षेत्र पनि अहिले केन्द्रविन्दूमा परेको । हुन त ओलीले ०६४ को संविधानसभाको निर्वाचनमा हार व्यहोरे । ओली आफू जित्नेमा यो पटक पूर्ण विश्वस्त भएकै कारण उनी राजधानी फर्किसकेका छन् । ओली अहिले काठमाडौं आईसकेका छन् । एमाले–माओवादी केन्द्रले भोलि नै घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको छ । देशव्यापी रुपमा संयुक्त रुपमा प्रचण्ड र ओली पार्टीमा आफ्ना पक्षधर नेताहरुलाई जिताउन लागिपरेका छन् । उनीहरुले देशैभरि नै संयुक्त रुपमा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष–नेकपा माओवादी केन्द्र :

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् । यसअघि अन्य जिल्लाबाट उम्मेवार बनेपनि यसपटक उनी गृह जिल्ला फर्किएका छन् । तर उनलाई चुनाव जित्न सहज छैन । एमालेकोसमेत भोट पाउने भएपनि कांग्रेसको सर्मथनमा माओवादी केन्द्रका अध्यक्ष दाहालसँग चुनावी प्रतिस्पर्धामा रहेका राप्रपा प्रजातान्त्रिका उपाध्यक्ष विक्रम पाण्डेले चितवन–३ मा आफूले जित्ने दावी गरेका छन् ।

कांग्रेसका नेताको दलबलसहित उम्मेदवारी दर्ता गर्न पुगेका पाण्डेले चितवन ३ का जनताको माया र साथले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पराजित गर्ने दावी गरेका छन् । तर यसपटक उनलाई चितवनमा फलामको चिउरा भएको छ । दशकौंपछि उनी चितवन आईपुगेका छन् । भरतपुर महानगरपालिकाको मेयरमा आफ्नी छोरीसँग पराजित मेयरका उम्मेद्धवार देवी ज्ञवालीलाई चुनावी प्रचारप्रसारमा लिएर हिँडेका छन् ।

हुन त प्रचण्डले जिते समग्र चितवनको विकास हुन्छ वा गरिदिन्छन भन्ने आशा र भरोसा बोक्न थालेका छन् । पछिल्लो समय चितवनका जनता प्रचण्डप्रति सकारात्मक देखिएका छन् । हुन पनि दाहाल अलिहे बलियो रुपमा उभिएका छन् । प्रचण्डपनि वाम गठबन्धनभन्दापनि आफ्ना नेताहरुलाई कसरी विजयी गराउने भन्नेमा केन्द्रित बछन् ।

उपेन्द्र यादव, अध्यक्ष–संघीय समाजवादी फोरम नेपाल :

राष्ट्रिय राजनीतिमा चर्चाको केन्द्रविन्दूमा रहेका उपेन्द्र यादवले सुनसरी २ बाट मनोनयन दर्ता गराएका छन् । त्यस क्षेत्रबाट बाम गठबन्धनले उमेश यादवलाई उठाएको छ । राजपासँगको तालमेल गरेका यादवलाई बाम गठबन्धन चुनौ ितबनेको छ । त्यतिमात्रै होईन, यादवकोलागि राजपा नेपालका सह–महामन्त्री नै उनको विरुद्धमा चुनाव उठेका छन् । जयदेव ठाकुर विद्रोहीको रुपमा चिनिएपनि उनको पनि व्यापक प्रभाव रहेको स्रोतको दाबी छ । यता उपेन्द्र चाहीँ जसरीपनि चुनाव जित्नेगरि आफूलाई केन्द्रित गर्दै चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

महन्थ ठाकुर, अध्यक्ष–राजपा नेपाल:

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुर विरुद्ध सोही पार्टीका नेता निवर्तमान सांसद चन्द्रेश्वर झा बागी उम्मेदवार बनेका छन् । यसअघि २०७० को संविधानसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेर जितेका झा पुनः स्वतन्त्र उम्मेदवार बनेका हुन् । यसले ठाकुरको जित चुनौतिपूर्ण देखिएको छ । झा केही महिनाअघिमात्र राजपा प्रवेश गरेका थिए ।

राजपा प्रवेश गरेर महोत्तरीका स्थानीय तह चुनावमा राजपालपाई जिताउन सघाएका झालाई राजपाले टिकट नदिएपछि उनी बागी उम्मेदवार बनेका हुन् । हुन त अहिले ठाकुरलाई कांग्रेसको समर्थन छ। तर उनको पनि सजिलै चुनाव जित्ने अवस्था छैन । कर्मथलो बनाएर । भोट पाउने आधार छ । उनी पनि अरु नेताहरुको लागि भोट माँग्ने पक्षमा छैनन् । ठाकुरको जन्मथलो पनि महोत्तरी नै हो । उनी महोत्तरीको कुना कुनामा अहिले चुनावी प्रचारप्रसारमा जुटेका छन् ।

कमल थापा, अध्यक्ष–राप्रपा :

राप्रपाका अध्यक्ष कमल थापाले गृहजिल्ला मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । उक्त क्षेत्रमा कांग्रसकोसमेत समर्थन भए पनि थापालाई चुनाव जित्न सहज छैन । त्यहाँ बाम गठबन्धनको पनि संयुक्त उम्मेदवार छन् । गणतन्त्र आईसकेपछि उनले चुनाव जित्ने सकेका छैनन् । काठमाडौं ५ र मकवानपुर २ बाट ०६४ मा हारे । अहिलेपनि उनको पक्षमा कांग्रेसले खुलेरै प्रचार गरेका छैनन् । तर थापा सबै नीति अपनाएर चुनाव जित्ने तयारीमा छन् । तर बाहिरी रुपमा उनले आँकेको जस्तो चुनाव जित्न त्यति सजिलो छैन् । उनको विरुद्धमा वाम गठबन्धनबाट कृष्ण दाहाल उठेका छन् ।

पशुपति शमशेर जबरा, अध्यक्ष राप्रपा (प्रजातान्त्रिक) :

राप्रपा प्रजातान्त्रिकका अध्यक्ष रहेका पशुपतिशमशेर राणाले पञ्चायतदेखि नै सिन्धुपालचोकबाट निर्वाचन जित्दै आएका छन् । पञ्चायतकालदेखी निरन्तरको यात्रामा गणतन्त्र नआएसम्म उनी पराजित भएका थिएनन् । तर, पहिलो र दोस्रो संविधानसभा निर्वाचनमा भने अध्यक्ष राणा पराजित भएका थिए ।

अब भने जसरी पनि चुनाव जित्ने योजना सहित अध्यक्ष राणा नेपाली कांग्रेसको साथमा चुनावी मैदानमा छन् । तर, राणाको जीत त्यति सहज छैन । जहाँ वाम गठबन्धनको तर्फबाट एमाले नेता शेरबहादुर तामाङ प्रतिस्पर्धामा छन् । स्थानीय तहको मतपरिणाम हेर्दा वाम गठबन्धन नै अगाडी देखिएको छ । त्यसैले, पुरानो विरासत दोर्होयाउन राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर राणालाई त्यति सहज नभएको बुझिएको छ । तर उनी भने यतिवेला कांग्रेसका कार्यकर्ताहरु र आफ्ना पैसा उपयोग गरेर चुनाव जित्ने रणनीतिका साथ मैदानमा होमिएका छन् ।

यसरी हेर्दा, राजनीतिका यी शीर्ष ७ खेलाडीहरुलाई चुनाव जित्न यावत अप्ठ्याराहरु छन् । तर जतिसुकै जे भएपनि यी विविध अप्ठ्याराहरु पार गरेर उनीहरु चुनाव जित्ने लक्ष्यका साथ मैदानमा होमिएका छन् ।



प्रतिक्रिया दिनुहोस्