Logo

कांग्रेसमा प्रधानमन्त्रीको दौडमा पौडेलपछि प्रकाशमान, शशांक पनि लाइनमा



कात्तिक २०, काठमाण्डौ । ढिलोमा पनि अबको दुई महिनाभित्र नयाँ सरकार गठन हुने निश्चित छ । मंसिर २१ गते हुने दोस्रो चरणको चुनावलगत्तै निर्वाचन आयोगले मतगणना सुरु गर्ने बताइसकेको छ । यसअर्थमा पुषको पहिलो हप्तामा सबै मतपरिणाम सार्वजनिक हुन सक्छ । त्यसपछि नयाँ जन प्रतिनिधि संसद प्रवेश गर्छन्, अनि नयाँ प्रधानमन्त्री चयन हुनेछ ।

अहिले वाम गठबन्धनले दुई तिहाई बहुमतसहित सरकार बनाउने दाबी गर्दै आएका छन् । तर चुनावी नतिजाका आधारमा कुन दलको नेतृत्वमा सरकार बन्छ भन्ने कुरा निर्भर हुन्छ । नेपाली कांग्रेसले पनि बहुमत ल्याउने कुरा नगरेपनि सरकारको नेतृत्वको दाबी गरिरहेका छन् ।

पछिल्लो समय कांग्रेसभित्र वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जानुपर्छ भन्ने आवाज पनि उठेको थियो । तर कांग्रेसले यससम्बन्धमा कुनै निर्णय गर्न सकेन । यद्यपी अझै पनि कांग्रेसले सरकारको नेतृत्व गर्न पाउने अवस्था आयो भने पौडेललाई प्रधानमन्त्री बनाउनुपर्ने आवाज उठिरहेको छ । अर्कोतिर पौडेल स्वयम्ले पनि अब आफू प्रधानमन्त्री बन्न पाउनुपर्ने दाबी गर्दै आएका छन् । सोमबार मात्रै तनहुँको डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दैै पौडे्लले देशलाई नयाँ युगमा लान चाहन्छु, अवसर मैले पाउनुपर्छ भनेका थिए ।

पौडेललाई पार्टीभित्र ठूलै समुहले समर्थन गर्दै आएको छ । पछिल्लो समय पार्टी र सरकार दुवै संचालनमा शेरबहादुर देउवा कमजोर देखिएपछि पौडेललाई अघि सारिएको हो ।
तर चुनावी कार्यक्रममा सहभागि हुने क्रममा अन्य शीर्ष नेताहरुले पनि आफू प्रधानमन्त्रीका लागि योग्य भएको बताउन थालेका छन् । सोमबार रिपोर्टर्स क्लले गरेको साक्षात्कार कार्यक्रममा पूर्व महामन्त्री प्रकाशमान सिंहले आफू पार्टी सभापति र प्रधानमन्त्री दुवैका लागि योग्य भएको बताएका थिए । निर्वाचित महामन्त्री, उपप्रधानमन्त्री तथा उपसभापतिसमेत भइसकेकाले अब नेतृत्वको मौका पाउनुपर्ने सिंहको तर्क थियो ।

यता अहिलेका निर्वाचित महामन्त्री शशांक कोइरालाले पनि पार्टी र सरकारको नेतृत्वको लागि आफू तयार रहेको सन्देश दिन थालेका छन् ।
त्यसो त चुनावपछि कांग्रेसले सरकारको नेतृत्व गर्न पाएको खण्डमा देउवालाई नै अघि सार्नुपर्ने तर्क नेता बालकृष्ण खाँडले गरेका थिए ।

तर अर्को नेता दिपक खड्काले शशांक कोइरालाले नेतृत्व लिनुपर्ने तर्क गर्दै आएका छन् । गुट उपगुटमा रुमल्लिएको कांग्रेसभित्र नेतापिच्छे नेतृत्वमा जानुपर्ने व्यक्तिको नाम लिनु कुनै नौलो कुरा भने होइन । यद्यपी नेतृत्वको बहस भने भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्