Logo

संविधान कार्यान्वयनमा महिलाको भूमिका महत्वपूर्ण छ : दाहाल



रत्ननगर, चितवन, २० कात्तिक : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान कार्यान्वयनको अन्तिम घडी आइपुगेकाले अहिलेको समयमा महिलाको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ ।

भरतपुरमा आज संयुक्त वाम गठबन्धनमा आबद्ध अगुवा महिलासँगको छलफलमा उहाँले महिलाको आन्दोलन र अधिकारका लागि पनि निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफ्नो अधिकार स्थापित गर्न पनि महिला जुट्नुपर्नेमा जोड दिनुभयो । बाम गठबन्धन चुनावका लागि मात्र नभई पार्टी एकताका लागि भएको हो भन्दै उहाँले गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाको भूमिका ठूलो हुने बताउनुभयो ।

छलफलका क्रममा महिलाले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम सिट दिएको विषयमा प्रश्न राखेका थिए । महिलाको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले समानुपातिक तथा मनोनयनमा भए पनि संविधानअनुसार अधिकार दिइने आश्वासन दिनुभयो । अध्यक्ष दाहालले महिलाको प्रतिनिधित्वका बारेमा सबै व्यवस्थापन हुने आश्वासन दिनुभएको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका सदस्य संगीता भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार यही कात्तिक २३ गते जिल्लमाा महिलाको बृहत् भेलाको आयोजना गरिएको छ । यही कात्तिक १६ गते उम्मेदवारी दिएपछि चुनावी प्रचार अभियानमा लाग्नुभएका दाहाल आज पहिलो चरणको चुनावी अभियान सकेर राजधानी फर्कनुभएको छ ।

सुविधायुक्त बाल अस्पताल निर्माण आवश्यक

नेकपा (एमाले) स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले पूर्वी चितवनमा सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिने बताउनुभएको छ । पूर्वी चितवनस्थित रत्ननगरको बकुलहरमा आज निर्वाचन केन्द्रित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै चितवन क्षेत्र नं १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले भरतपुर मेडिकल सिटीका रुपमा विकास भइसकेकाले अब पूर्वी क्षेत्र र वरपरका जिल्लालाई समेत सुविधा हुने गरी एकसय श्ययाको बाल अस्पताल निर्माण अगाडि बढिसकेको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेले बाल अस्पतालका लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रक्रियागत काम अगाडि बढिसकेको जानकारी दिनुभयो । मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजना पर्याप्त मात्रामा ल्याउने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा (क) का उम्मेदवार दावा दोर्जे लामाले प्रदेशसभाका जनताको मागअनुसार विकास निर्माणको काम गरिने बताउनुभयो । प्रदेशसभा १ (ख)का उम्मेदवार कृष्ण खनालले प्राथमिकताका आधारमा आफ्नो क्षेत्रमा विकास निर्माणका काम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।



प्रतिक्रिया दिनुहोस्