Logo

प्रधानमन्त्री देउवाको जिल्ला डडेल्धुरामा चुनावी चहलपहल बढ्दो



धनबहादुर भण्डारी : डडेल्धुरा, २२ कात्तिक  : चुनाव आउन एक महिनामात्रै बाँकी रहँदा डडेल्धुरा जिल्ला सदरमुकामसँगै गाउँबस्तीमा समेत चहलपहल बढेको छ ।

डडेल्धुरास्थित ठूला राजनीतिक दलका झण्डा र पर्चा पम्पलेटले सदरमुकाम बागबजार भरिभराउ भएको छ । झण्डा र पर्चा पम्पलेट र ब्यानरले जिल्ला सदरमुकामजस्तै गाउँबस्ती पनि रंगिचंगी भएका छन् ।

लोकतान्त्रिक गठबन्धनबाट प्रतिनिधि सभा सदस्यका लागि चार पटक डडेल्धुराबाट लगातार चुनाव जित्नुभएका प्रधानमन्त्री शेरबहादुर देउवा पाँचौँ पटकका लागि चुनाव लडिरहनुभएको छ ।

वाम घटकबाट नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य खगराज भट्ट प्रधानमन्त्री देउवासँग तेस्रो पटक चुनावी प्रतिष्पर्धा गरिरहनु भएको छ । माओवादी युद्धकालदेखि नै राजनीतिमा प्रवेश गर्नुभएका भट्ट यसपालि प्रधानमन्त्री देउवाको प्रभावक्षेत्र मानिएको डडेल्धुरामा आफ्नो जित निश्चित रहेको बताउनुहुन्छ ।

यसभन्दा पहिले २०६४ र ०७० सालको संविधानसभा निर्वाचनमा माओवादीका पोलिटोब्यूरो सदस्य भट्ट अत्यधिक मतको फरकमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति देउवासँग चुनावमा हार ब्योहोर्नुभएको थियो ।

त्यसैगरी, प्रतिनिधि सभा निर्वाचनमा देउवासँग पटकपटक हार ब्योहोर्दै आउनुभएका जनमोर्चाका लालबहादुर जाग्री र स्वतन्त्रतर्फबाट कर्णसिंह रावलले पनि प्रतिष्पर्धा गर्ने देखिएको छ । जनमोर्चाका जाग्री जिल्ला अध्यक्ष हुनका साथै केन्द्रीय कार्य समितिमा बसेर राजनीतिमा दख्खल राख्ने नेतामा पर्नुहुन्छ ।

प्रतिनिधि सभा सदस्यमा प्रधानमन्त्री देउवासँगै डडेल्धुरामा छ जनाले चुनाव लड्ने भएका छन् । चुनावी प्रतिष्पर्धामा स्वतन्त्रबाट लागातार चुनाव लड्दै आउनुभएका कर्णसिंह रावल पनि फेरि चुनावी अभियानमा लाग्नुभएको छ । छ जनामध्ये रावल एकमात्र स्वतन्त्र उम्मेदवार हुनुहुन्छ । उहाँले पनि आफूलाई मतदान गर्न मतदातालाई आग्रह गरिरहनुभएको छ ।

त्यसैगरी, नेपाल दलित पार्टीबाट रमेश टमटा र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट लक्ष्मीदत्त भट्ट चुनावी मैदानमा रही प्रचारप्रसारमा लाग्नुभएको छ । चुनावको मिति नजिकिएसँगै डडेल्धुरा सदरमुकाम र गाउँबस्ती पनि झण्डा र पोष्टरले भरिएका स्थानीयको भनाइ रहेको छ । गाउँगाउँमा पार्टीका झण्डा र पोष्टरले रंगिन भएको परशुराम नगरपालिकाका स्थानीयबासी डम्बर कामीले जानकारी गराउनुभयो ।

दुईवटा प्रदेश रहेको डडेल्धुरामा पहिलो प्रदेशबाट नेपाली काँग्रेस र वाम एकताका गरी चारजनाले प्रतिष्पर्धा गरिरहेका छन् भने दोस्रोमा काँग्रेस र वाम एकतासँगै चारजना चुनावी दौडमा रहेका छन् । राप्रपा र नयाँ शक्ति नेपालले भने सोमबार नै काँग्रेसलाई समर्थन गर्ने गरी मनोनयन फिर्ता लिएका छन् ।

डडेल्धुरामा स्थानीय निकायको चुनावी परिणामलाई हेर्दा लोकतान्त्रिक गठबन्धन काँग्रेसका तर्फबाट प्रधानमन्त्री देउवा र वाम घटकबाट माओवादी केन्द्रका भट्टको प्रतिष्पर्धा रहने देखिन्छ ।

डडेल्धुरामा प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा ३८ मतदानस्थल रहेका छन् भने ५९ मतदान केन्द्र रहेका छन् । त्यसैगरी, प्रदेश नं २ मा ३९ मतदानस्थल रहेका छन् भने ५८ वटा मतदान केन्द्र रहेका निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख कृष्णसिंह नायकले जानकारी गराउनुभयो । स्थानीय निर्वाचनभन्दा करिब पाँच हजार ९५२ मतदातासमेत बढेको निर्वाचन कार्यालयले जनाएको छ ।

सातवटा मतदान केन्द्र थप भएका छन् । आलिताल गाउँपालिकामा तीन, अमरगढी नगरपालिकामा तीन र परशुराम नगरपालिकामा एक गरी मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराका प्रमुख नायकले जानकारी गराउनुभयो । प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा डडेल्धुराबाट ८१ हजार ७३२ मतदाताले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ ।

प्रदेश नं १ मा ४० हजार ४० र प्रदेश नं २ मा ४१ हजार ७३२ जना मतदाता रहेका छन् । डडेल्धुरा जिल्लाका ७७ मतदानस्थलका ११७ मतदान केन्द्रमा चुनावी चहलपहल बढेको छ । आआफ्ना पक्षमा वा चुनाव चिह्नमा मत माग्न उम्मेदवार तथा कार्यकर्ता लागि परेका छन् । – (रासस)



प्रतिक्रिया दिनुहोस्