Logo

मुलुकलाई एउटै विचार र लक्ष्य भएको धेरै पार्टी आवश्यक छैन : नेता नेपाल



काठमाडौँ, २२ कात्तिक : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल जस्तो सानो देशमा एउटै विचार र लक्ष्य लिएको धेरै पार्टी आवश्यक नभएको बताउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र)को क्षेत्र नं २ ले यहाँ आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा चुनावीसभा कार्यक्रममा उहाँले सानो देश भएकाले नै दुई ठूला वामपन्थी दल एमाले र माओवादी मिलेर एउटै कम्युनिष्ट केन्द्र निर्माण गर्ने अभियान शुरु गरिएको बताउनुभयो ।

उहाँले दुई पार्टीबीचको एकता राजनीतिक स्थायित्वसहित मुलुकलाई सामाजिक न्याय र आर्थिक समृद्धिका लागि भएको उल्लेख गर्नुभयो ।

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता नेपालले काँग्रेसले राष्ट्रिय स्वाधीनताको रक्षाका लागि कहिल्यै पनि अग्रसरता नदेखाएको भन्दै नेपालको अस्तित्व र राष्ट्रियता जोगाउनका लागि कम्युनिष्टले मुलुकको नेतृत्व लिनुपर्ने आवश्यकता देखिएको बताउनुभयो ।

कार्यक्रममा २ नं क्षेत्रका प्रदेशसभाका उम्मेदवार एमालेका सानु श्रेष्ठ र माओवादी केन्द्रका पोलिटब्युरो सदस्य प्रकाश गौतमले अवसरका लागि नभई मुलुकको आवश्यकताले वाम गठबन्धन बनेको बताउनुभयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्