Logo

कैलाली क्षेत्र नम्बर ४ मा सुनिल भण्डारी र लेखराज भट्ट आमनेसामने, यस्तो छ दाबी



कात्तिक २३, काठमाण्डौ । कैलाली क्षेत्र नम्बर ४ का कांग्रेसका उम्मेदवार सुनिल भण्डारी र वाम गठबन्धनका लेखराज भट्ट दुवैले आफु चुनाव जित्ने दाबी गरेका छन् ।
कांग्रेस उम्मेदवार भण्डारीले कैलालीका जनताका सम्पूर्ण चाहनाहरु पूरा नभएको स्विकार गर्दै विकासका काम हुँदै नभएको भन्ने तर्कको खण्डन गरेका छन् । खानेपानी, स्वास्थ्य, यातायात, विद्युत जस्ता आधारभूत कुराहरुको विकास भएको भण्डारीको दाबी छ । अहिलेसम्म हुन नसकेका विकास निर्माणका काम पूरा गर्नका लागि आफू उम्मेदवार बनेको तर्क भण्डारीको छ ।

यता वाम गठबन्धनका उम्मेदवार भट्टले कैलाली जिल्लामा कांग्रेसले लामो समय शासन गर्दै आएको स्मरण गराउँदै जनताको हितमा कांग्रेसले काम गर्न नसकेको आरोप लगाए ।
७ सालदेखि ६३ सालसम्म शाषन गरेको कांग्रेसले के कति काम गरेको छ भन्ने कुरा जनताले नै मूल्याङ्कन गर्ने भट्टको तर्क छ ।
आफूहरु अन्तरिम विधायिकामा गएपछि पार्टीका तर्फबाट राष्ट्रिय विकास परिषदको नेतृत्व गर्दा सेती लोकमार्ग र महाकाली लोकमार्गको योजना अघि सारेको भट्टले जानकारी दिए । शिक्षा, सडक, स्वास्थ्य लगायतका क्षेत्रमा आफुले धेरै काम गरेको दाबी भट्टले गरेका छन् ।

आफू छोटो समय मन्त्री बन्दा पनि त्यस क्षेत्रमा दीर्घकालिन प्रभाव पार्ने विकासका योजना अघि सारेको भट्टको दाबी छ ।
कांग्रेसका उम्मेदवार भण्डारीले भने भट्टले भनेको कुनै पनि योजना कार्यान्वयन भइनसकेको जानकारी दिए । परिवर्तनपछि विकास निर्माणको सुरुवात कांग्रेसले नै गरेको दाबी गर्दै भण्डारीले सडक, स्वास्थ्य चौकी, स्कुल लगायतका क्षेत्रमा परिवर्तन भएको दाबी भण्डारीले गरे ।

जनताको राजनीति गर्नुभन्दा सेवा प्रदान गर्नेतिर नेताहरु केन्द्रित हुनुपर्नेमा भण्डारीले जोड दिएका छन् ।
भण्डारीले कैलालीको १६ मध्ये १४ सिट कांग्रेसले जित्ने दाबी गरेका छन् । तर वाम गठबन्धनका उम्मेदवार भट्टले भने भण्डारीको दाबीको खण्डन गर्दै त्यसलाई परिकल्पना मात्रै ठानेका छन् । गठबन्धनले १० सिट जित्ने भट्टको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्