Logo

चुनाव खर्चका लागि कांग्रेस जनताको शरणमा, एमाले शुभेच्छुक र कार्यकर्ता, माओवादीको रणनीति चन्दा



कात्तिक २३, काठमाण्डौ । पछिल्लो समय नेपालको चुनाव उम्मेदवारका लागि खर्चका हिसाबले निकै चुनौतिपूर्ण बन्दै गएको छ । चुनाव लड्नका लागि करोडाँै रुपैया खर्च गर्नुपर्ने भएपछि उम्मेदवारहरुलाई पैसा जुटाउन नै चुनौति देखिएको हो । राजनीतिक दलहरुले प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि विभिन्न स्रोतमार्फत खर्च जोहो गर्न थालेका छन् । निर्वाचन खर्चका लागि दल तथा उम्मेदवाहरुले व्यवसायीदेखि कार्यकर्तासँग पुगेर आर्थिक सहयोग माग्ने गरेका छन् ।

एक करोड रुपैयाँभन्दा कम पैसाले त चुनाव लड्नै नसकिने अवस्था आयो भनेर त ठूला दलका शीर्ष नेताले नै भनिसकेका छन् । यसै वर्ष सम्पन्न स्थानीय तहको चुनावमा भएको खर्चको अनुभवका आधारमा नेताहरु चुनाव खर्चिलो भएको निष्कर्षमा पुगेका हुन् । निर्वाचन आयोगले प्रत्यक्षतर्फका उमेद्वारलाई प्रदेशसभाका लागि १५ लाख तथा प्रतिनिधिसभाका लागि २५ लाख सम्म खर्च गर्न पाउने सीमा तोकिदिएको छ ।

तर आयोगले तोकेको खर्चले कुनै पनि उम्मेदवारको चुनाव सम्पन्न नहुने निश्चित छ । त्यसैले आगामी मंसिर १० र २१ गते हुने निर्वाचनका लागि दलहरुले आर्थिक समिति नै गठन गरेर आर्थिक जोहो गर्न सुरु गरेका छन् ।
नेपाली कांग्रेसले जनतासँग भोट र चुनावी खर्चका लागि पैसा दुवै माग्ने तयारी गरेको छ । कांग्रेस मुख्य कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, “आफ्नो क्षमताअनुसारको पैसा नेपाली जनताले दिन्छन् ।”

चुनावको समयमा जनप्रतिनिधिहरुले धेरै रकम खर्च गर्ने प्रवृति नराम्रो र कानुन विपरित भएको सर्वसाधारण बताउँछन् । चुनावको समयमा हुने खर्च नियन्त्रण गर्न सरकारले कडा निति नियम र चुनावको समयमा प्रत्यक्ष निगरानी गर्नुपर्नेमा जनताले जोड दिएका छन् । चुनाव जीते पछि सत्ता आफ्नै अधिनमा आउने भएकाले विकास बजेट भ्रष्टाचर गरी चुनावी खर्च उठाउने नीयत उम्मेदवारमा देखिएको सर्वसाधारण बताउँछन् ।

नेकपा एमालेले चुनावी खर्च जुटाउनका लागि विदेशमा रहेका शुभेच्छुकसँग रकम संकलन गर्ने भएको छ । खर्च व्यवस्थापनका लागि नेता माधव कुमार नेपालको संयोजकत्वमा एमाले समिति नै गठन गरेको छ । समितिले देश भित्रका कार्यकर्तासँग १ सय रुपैयाँ र बिदेशमा रहेका नेपालीसँग १ सय अमेरिकी डलरदेखि १ हजार डलर सम्म संकलनग गर्ने तयारी गरेको छ ।

यसअघि चन्दा लिनेमा अब्बल देखिएको नेकपा माओवादी केन्द्रले यसपटक पनि चन्दाबाटै उम्मेदवारहरुको चुनावी खर्च टार्ने तयारी गरेको छ । त्यसबाहेक माओवादी केन्द्रले चुनावी खर्चका लागि पार्टीले उम्मेदवाहरुलाई केही रकम दिने तथा निर्वाचनमा धेरै खर्च नगरि खर्च कटौति गर्ने जनाएको छ । त्यसो त साना दलले पनि कार्यकर्ता र व्यापारीसँग चन्दा लिएरै निर्वाचन खर्च गर्ने बताएका छन् ।

निर्वाचन आयोगले खर्चको सिमा तोकेपनि पछिल्लो समय निर्वाचन प्रायोजनका लागि बढी खर्च हुन थालेपछि चुनाव खर्च टार्न चन्दा उठाउनुपरेको उम्मेदवारहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्