Logo

चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने कांग्रेसको प्रस्ताव, एमाले–माओवादी गठबन्धन तोडिएला ?



कात्तिक २३, काठमाण्डौ । कांग्रेससँग सत्ता साझेदर गर्दै गरेको अवस्थामा एकाएक नेकपा एमालेसँग मिलेर पार्टी एकतासम्मको प्रक्रिया सुरु गरेका पुष्पकमल दाहाललाई पुनः कांग्रेससँगको गठबन्धनमा फर्काउने प्रयास सुरु भएको छ ।

कांग्रेसका केही नेताहरुले माओवादीको नेताहरुसँग आन्तरिक रुपमा कांग्रेससँग गठबन्धन गर्न प्रस्ताव गरेका हुन् । चुनावपछि एमाले–माओवादीबिच पार्टी एकता गर्ने भनिए पनि चुनावी नतिजापछि दुई दलबिच फाटो आउने अनुमान भइरहेका बेला कांग्रेसले नयाँ प्रस्तावसहित छलफल चलाएको हो । कांग्रेसले चुनावपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने प्रस्तावसहित गठबन्धनको प्रयास गरेको हो ।

तर कांग्रेसको प्रयास सफल हुने सम्भावना ज्यादै न्युन छ । चितवनको चुनावी सभामा प्रचण्डले सार्वजनिक रुपमा नै कुनै पनि हालतमा कांग्रेससँग गठबन्धन नगर्ने बताएका छन् ।

यद्यपी सत्ताको लोभमा रमाउने नेपाली नेताहरु कुनै पनि बेला गठबन्धन तोड्न पछि पर्दैनन् । केही महिनाअघिसम्म कांग्रेससँगको गठबन्धन कम्तिमा १० वर्ष कायम राख्ने बताउँदै आएका प्रचण्ड एकाएक एमालेसँग पार्टी एकता नै गर्न सहमत भएका थिए ।
एमाले–माओवादीबिचको गठबन्धनले बहुमत ल्याउन नसकेको खण्डमा पार्टी एकता नहुने मात्रै होइन, गठबन्धन पनि तोडिने आँकलन धेरैले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्