Logo

तेस्रो लिङ्गीबाट एक्ली उम्मेदवार पिंकी, मतदाता १ सय ५०, खै ८ प्रतिशत जनसंख्याको सम्मान ?



२४ कात्तिक, काठमाडौं । सबै समुदायबाट प्रतिनित्व हुने गरी निर्वाचनमा उम्मेदवार बनाउनुपर्ने भए पनि सबैजसो दलहरुले तेस्रो लिङ्गीलाई भने उपेक्षा गरेका छन् । ठूला दलले कहीँ कतै पनि तेस्रो लिंगीलाई उठाएका छैनन् भने नयाँ शक्तिले समानुपातिकको सूचीमा १ जनाको नाम राखेको छ ।

नयाँ शक्ति नेपालले नीलहीरा समाजकी अध्यक्ष पिंकी गुरुङ (सञ्जीव) लाई प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ उम्मेदवार बनाएको हो । आयोगले सार्वजनिक गरेको समानुपातिकको सूचीमा उनको नाम ३ हजार ४ सय ७४ नम्बरमा छ । ३ सय २९ जनाको नाम निर्वाचन आयोगमा बुझाएको नयाँ शक्तिले पिंकीको नाम ६ नम्बरमा राखेको छ ।
नेपालमा ९ लाख तेस्रोलिंगी रहेको बताइन्छ । कूल जनसंख्याको ८.१ प्रतिशत तेस्रोलिंगी रहेकोमा चुनावमा भने उपेक्षामा पारिएको छ ।

०७० सालमा माधवकुमार नेपालको अगुवाइमा एक हजार तेस्रोलिंगी एमाले प्रवेश गरेका थिए । नेपालले एमाले तेस्रोलिंगीहरूको अभिभावक पार्टी भएको पनि बताएका थिए । तर, एमालेले नै तेस्रो लिंगी समुदायबाट कसैलाई पनि उम्मेदवार बनाएको छैन । शिल्पा चौधरी पार्टीको सिफारिसमा परेकी भए पनि एमालेले अन्तिममा उनको नाम काटेर अरुलाई नै उम्मेदवार बनाएको हो ।

नयाँ शक्ति र कांग्रेसले आफ्नो घोषणापत्रमा तेस्रोलिंगीलाई समावेश गरेका भए पनि अन्य पार्टीहरु मौन देखिएका छन् । राप्रपा र एमालेमा तेस्रोलिंगी समुदायका व्यक्तिहरु आबद्ध छन् । यद्यपि उनीहरुले अहिलेसम्म कुनै अवसर पाउन सकेका छैनन् ।
निल हिरा समाजका अनुसार तेस्रो लिंगीका तर्फबाट नागरिकता लिएकामध्ये करिब एक सय ५० जनाको मात्रै मतदाता नामावलीमा नाम छ ।



प्रतिक्रिया दिनुहोस्