Logo

गाईपालन व्यवसायबाट मनग्य आम्दानी



जितपुर, कपिलवस्तु, २४ कात्तिक : नेपालमा पशुपालन व्यवसायबाट पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण यहाँका एक किसानले दिएका छन् ।

कपिलवस्तुको वाणगंगा नगरपालिका–८ बोडगाउँका किसान खुमानन्द पौडेलले पशुपालन व्यवसायबाट राम्रो आम्दानी गर्दै आउनुभएको हो ।
तेह्र वटा गाईबाट व्यवसाय शुरु गर्नुभएका पौडेलले पाँच कट्ठा जमिन भित्र गाईपालनका लागि गोठ बनाउनुभएको छ । उहाँले तीन बिगाहा जमिन भाडामा लिएर पशुपालन व्यवसायका लागि घाँसखेती, धानखेतीसमेत गर्दै आउनुभएको छ । रु सात लाखबाट व्यवसाय शुरु गर्नुभएका पौडेलले अहिलेसम्म गाईपालनमा रू १५ लाख बराबरको लगानी गरिसक्नु भएको छ ।

विसं २०७० देखि आफ्नै जग्गामा व्यावसायिक गाईपालनतर्फ लाग्नुभएका पौडेलको फार्ममा होलस्टिन र जर्सी जातका २१ वटा गाई र दुई वटा भैँसीसमेत छन् । दैनिक १०० देखि १२५ लिटर दूध बेचेर उहाँले मासिक रू एक लाख २५ हजारसम्म आम्दानी गर्नुभएको छ ।

गाईपालन मेहनतको पेशा भएकाले घरपरिवारको सहयोगमा मिलेर काम गर्ने गरेको छु भन्दै उहाँले यसबाट बालबच्चाको शिक्षा, घरपरिवारको दैनिक खर्च कटाएर मासिक रु ५० हजार जति आम्दानी हुने गरेको जानकारी दिनुभयो ।

पौडेलले भन्नुभयो, “स्थानीय दुग्ध सहकारीमा दूध बिक्री गरेर राम्रो आम्दानी गर्दै आएको हुँ ।” सरकारले किसानलाई अनुदान दिने विषयमा ढिलासुस्ती गर्दा किसान मारमा परेको उहाँको गुनासो छ ।

भारतमा ३० वर्षसम्म रोजगारी गरेर नेपाल आएका पौडेलले अनुभवका आधारमा गाईपालन व्यवसाय शुरु गर्नुभएको हो । नेपालमा पशुपालन कृषकलाई दाना, मल, बिजुली बत्ती, पानीमा अनुदान दिनुपर्ने मागसमेत उहाँको छ । “कृषि प्रधान देश भनेर भन्ने गरे पनि कृषि पेशाप्रति राज्य उदासीन छ, उहाँले भन्नुभयो, यो पाराले देशमा कृषि क्रान्ति हुँदैन ।”

विगत केही वर्षयता जिल्लामा व्यावसायिक गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको छ । यातायातको सुविधा गाउँगाउँसम्म पुगेपछि गाईपालन गर्ने कृषकको संख्या बढ्न थालेको हो । स्थानीयस्तरमा दुग्ध सहकारी संस्था सञ्चालनमा आएपछि झनै किसानलाई राहत मिलेको छ ।

जिल्लामा १०० भन्दा बढी गाईपालन फार्म दर्ता भएको जिल्ला पशु विकास अधिकृत अब्दुल सलामले बताउनुभयो । जिल्लाको उत्तरी क्षेत्र वाणगंगा र बुद्धभूमि नगरपालिकामा सबैभन्दा बढी व्यावसायिकरुपमा गाईपालन गरिँदै आएको अधिकृत सलामको भनाइ छ ।

कपिलवस्तुबाट वार्षिक २१ हजार मेट्रिक टन दूध उत्पादन हुँदै आएको पशु विकास कार्यालयले जनाएको छ । यहाँको दूध बुटवल, भैरहवा हुँदै चितवनसम्म पुग्ने गरेको छ । जिल्लाको दक्षिणी भेगमा व्यावसायिकरूपमा भैँसीपालन गर्ने किसानको संख्या बढे पनि उत्तरी क्षेत्रमा व्यावसायिक गाईपालन हुने गरेको कार्यालयले जनाएको छ ।

“गाईपालन गरेका कृषकलाई कार्यालयले बेलाबेलामा अनुदान दिँदै आएको छ उहाँले भन्नुभयो, त्यसले गर्दा किसानलाई उच्च मनोबल मिलेको छ ।” रासस



प्रतिक्रिया दिनुहोस्