Logo

‘हेवी वेट’ सुवास नेम्वाङविरुद्ध कांग्रेसका सादगी नेता केशव थापा, यस्तो छ इतिहास



कात्तिक २७, काठमाण्डौ । ईलाम क्षेत्र नम्बर २ बाट एमाले–माओवादीका साझा उम्मेदवार हुन्, सुवासचन्द्र नेम्वाङ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा इलाममा चुनावी चहलपहल निकै बढेको छ । पूर्वप्रधानमन्त्री तथा पूर्वसभाध्यक्ष चुनावी मैदानमा रहेकाले इलामले देशकै ध्यान खिच्न सफल भएको छ । प्रतिनिधिसभा सदस्यका लागि इलाम क्षेत्र नम्बर १ बाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल र क्षेत्र नम्बर २ बाट संविधानसभाका पूर्वअध्यक्ष सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

एक्लाएक्लै प्रतिस्पर्धामा उत्रिँदा पनि बलियो प्रतिस्पर्धीका रुपमा रहने यी दुवै नेता माओवादी केन्द्रको समेत साथले थप उत्साहित छन् ।
पूर्वसभाध्यक्ष सभाध्यक्ष सुवासचन्द्र नेम्वाङका लागि पूर्व भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री केशव थापा कांग्रेसका तर्फबाट उम्मेदार बनेर चुनौति दिएका छन् ।
यसअघिको दुईवटै संविधानसभाको चुनावमा सोही क्षेत्रबाट चुनाव जितेका नेम्वाङलाई यसपटक पराजित गर्न थापालाई सहज भने छैन । माओवादीकोसमेत भोट पाउने भएकाले कांग्रेसका उम्मेदवार पराजित हुने सम्भावना बढि रहेको विश्लेषण कतिपयको छ ।

वाम गठबन्धनका उम्मेदवार नेम्वाङले पनि दुवै पटक चुनाव जितेपछि सबैको समर्थनमा सभामुख बनेको र संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेकाले आफ्नो जित सुनिश्चित भएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेम्वाङले संविधानको कार्यान्वयन र समृद्धिका लागि जनताले पुनः आफूलाई मतदान गर्ने बताए ।
संविधान निर्माणका साथै आफूले विकास निर्माणको काम पनि गरेको बताए । सन्तुष्ट हुने गरी विकास निर्माणका काम हुन नसके पनि धेरै काम भएको उनको दाबी छ ।

२०५६ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेम्वाङ इलाम क्षेत्र नम्बर २ बाट उम्मेदवार थिए भने थापाले इलाम क्षेत्र नं ३ बाट चुनाव जितेका थिए । त्यतिबेला सांसद भएपछि थापाले आफ्नो क्षेत्रमा सक्दो विकासको काम गरेको बताउने गरेका छन् । उनी त्यतिबेला भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री पनि बनेका थिए ।

२०६४ सालमा इलाम क्षेत्र नं २ बाट चुनाव लडेका थापा नेम्वाङसंग पराजित भएका थिए । थापालाई २०६४ सालको हारको बदला लिने अवसर छ भने नेम्वाङलाई नतिजा दोर्होयाउने ।

२०७० सालमा इलाम क्षेत्र नं ३ बाट विजयी बनेका थापा इलाम जिल्लाबाट सवैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवार हुन् । त्यसैले नेम्वाङले थापालाई कमजोर प्रतिस्पर्धी मान्न नहुने कतिपयको तर्क छ ।

मतदातामाझ सादगी नेताका रुपमा चिनिएका थापा मतदातामाझ लोकप्रिय छन् । तर हेवि वेट उम्मेदवार नेम्वाङको पल्लाभारी हुने सम्भावना बढि छ ।
टेलिफोन, विजुली, पुल, सडक लगायतका क्षेत्रमा विकास निर्माणका योजना आफूले लगेको नेम्वाङको भनाई छ । “१ किलोमिटर गाडी गुड्ने नभएको ठाउँमा अहिले सबै गाउँमा बाटो पु¥याएको छु । अब त्यसलाई कालोपत्रे गरेर स्तरउन्न्ती गर्नु छ ।” नेम्वाङले भने ।

यता कांग्रेसका उम्मेदवार केशव थापाले पनि आफूले जनताका लागि धेरै काम गरेको दाबी गर्दै आफुले चुनाव जित्ने आधार प्रस्तुत गरेका छन् । साविकको क्षेत्र नम्ब ३ बाट चुनाव जित्दा त्यस क्षेत्रमा धेरै काम गरेको बताउँदै थापाले अहिले तीन नम्बर क्षेत्रको धेरैजसो भूभाव २ नम्बरमा परेकाले जनताले मत दिने बताए ।

पुल, बाटो, विजुली, एयरपोर्ट लगायतका भौतिक पूर्वाधारको विकासमा आफू सक्रिय रहेको थापाको भनाई छ । नेम्वाङले भनेका कतिपय कुराको खण्डन गर्दै थापाले भने, “२ नम्बरमा उहाँले काम कति गर्नुभयो, कति गर्नुभएन भन्ने कुरा यहाँका जनताले भन्ने कुरा हो । उहाँले भन्ने कुरा होइन ।”

संविधान आफूले दिएको भन्ने नेम्वाङको भनाईप्रति असहमति जनाउँदै थापाले संविधान निर्माणका बेला आफू पनि सभासद रहेको बताए । “उहाँ सभामुख हुनुहुन्थ्यो । हामी सबैको प्रयासमा, नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको हो ।” थापाले भने । नेम्वाङले संविधानसभाको अध्यक्षता मात्रै गरेको तर संविधान निर्माण सभासदहरुले बनाएको तर्क थापाले गरे । तर नेम्वाङको पनि संविधान निर्माणमा भूमिका भने रहेको थापाले प्रष्ट्याए ।



प्रतिक्रिया दिनुहोस्