Logo

सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्छ : अध्यक्ष दाहाल



चितवन, २७ कात्तिक : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सिद्धान्तभन्दा राष्ट्र र जनताको हितमा काम गर्नुपर्ने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ मा उहाँको अस्थायी निवासमा आज राष्ट्रिय सञ्चार माध्यमका संवाददाताहरुसँग कुरा गर्दै उहाँले सिद्धान्तको पछि लागेर अब जनतालाई दुःख दिन नहुने बताउनुभयो ।

उहाँले भन्नुभयो, “मान्छेका लागि सिद्धान्त हो, सिद्धान्तका लागि मान्छे होइन ।”

पार्टी एकता गर्दै गर्दा सिद्धान्तका विषयमा हुन सक्ने मतभेदका विषयमा दाहालले भन्नुभयो, “बहुदलीय जनवादलाई आधार बनाएर एकता गर्दै जाऔँ, नमिलेका कुरा छलफल गरी टुंग्याउँदै लैजाऔँ । यो बढी राष्ट्रको हितमा हुन्छ ।”

माक्सवाद–लेनिनवाद दुवै पार्टीको मिल्ने सिद्धान्त भएको भन्दै उहाँले भन्नुभयो, “समाजवाद अबको हाम्रो उद्देश्य हो, रणनीति हाम्रो समाजवाद हो ।

शान्तिपूर्ण प्रतिस्पर्धाबाट समाजवाद सम्भव भएको विचार पनि उहाँले व्यक्त गर्नुभयो । दुवै पार्टी एकीकरण हुँदा देखापर्ने माओवादीको विषयलाई महाधिवेशनसम्ममा छलफल गरेर टुंगोमा पु¥याउन सकिने उहाँले बताउनुभयो ।

आफू राजनीतिमा लागेपछि १० वर्ष विचार र संगठन निर्माणमा र त्यसपछिको १० वर्ष गणतन्त्र र शान्ति प्रक्रियामा बितेको स्मरण गर्दै उहाँले अबको १० वर्ष देशलाई समृद्धितर्फ डो¥याउन पहल गर्ने बताउनुभयो ।

पछिल्लो समय रोल्पा र रुकुममा माओवादी केन्द्रका उम्मेदवारमाथि भएका आक्रमणको उहाँले भत्र्सना पनि गर्नुभयो ।

निर्वाचनको संघारमा दुई पार्टी एकताको कुरा टुंगोमा पुगेकाले तत्काल संसद्मा प्रमुख कार्यकारीको विषय प्रवेश गराउन नभ्याएको उहाँको भनाइ थियो । अध्यक्ष दाहालले यसका लागि दुई तिहाइ बहुमत बनाएर संसद्मा लैजानु पर्ने र निर्वाचनपछि यो विषय अगाडि बढ्ने पनि बताउनुभयो ।

चितवन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार भएपछि अध्यक्ष दाहालले राष्ट्रिय सञ्चार माध्यममा चितवनबाट समाचार पठाउने पत्रकारलाई आफ्नै निवासमा डाकेर पहिलोपटक प्रतिक्रिया दिनुभएको हो । उहाँले आजै पश्चिम चितवन पार्वतीपुरमा आयोजित चुनावी सभालाई पनि सम्बोधन गर्नुभएको थियो ।

उहाँका प्रतिस्पर्धीका रुपमा नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धनबाट राप्रपा (प्रजातान्त्रिक)का उपाध्यक्ष तथा हालका वन मन्त्री विक्रम पाण्डेलाई उठाएको छ । अहिले जिल्लामा दुवै गठबन्धनको चुनाव प्रचार अभियान तीव्र छ । (रासस)



प्रतिक्रिया दिनुहोस्