Logo

राजेन्द्र लिङ्देनलाई जिताउनका लागि राप्रपाले राजसंस्थाको एजेण्डा छोड्यो, चुनावपछि वाम गठबन्धनको सरकारमा सहभागि हुने !



कात्तिक २७, काठमाण्डौ । कमल थापा नेतृत्वको राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले राजसंस्थाको एजेण्डा प्राथमिक विषय नभएको बताएकै दिन एमाले अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रलाई कसैले फर्काउन नसक्ने बताएका छन् । अहिले टेक्ने सहारा केही नपाएपछि राप्रपाले राजतन्त्र भनेको भन्दै उनले चुनावपछि छाड्ने दाबी गरे ।

राप्रपाले आफ्नो घोषणपत्रमा भने राजसंस्था र हिन्दुराष्ट्रको वकालत गरेको थियो । तर अहिले पार्टीका महामन्त्रीले नै यि दुवै एजेण्डाभन्दा पनि विकासको एजेण्डा महत्वपूर्ण भएको भन्दै झापा क्षेत्र नम्बर ३ का जनतासमक्ष भोट मागिरहेका छन् । लिङ्देनको मुख्य प्रतिस्पर्धी कांग्रेसका पूर्व महामन्त्री कृष्ण सिटौला छन् । उनै सिटौलालाई हराउन र लिङ्देनलाई जिताउने वाम गठबन्धनले उक्त क्षेत्रमा उम्मेदवार बनाएको छैन ।
देशभर कांग्रेससँग चुनावी तालेमल गरेको राप्रपा झापामा वाम गठबन्धनसँग मिलेको हो ।

लिङ्देन र ओलीको भनाई अनि कतै नभएको गठबन्धन झापामा मात्रै हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । राजसंस्थाको पक्षधर राप्रपाका महामन्त्रीले राजसंस्था पहिलो प्राथमिकता होइन भन्नुलाई चुनाव जित्ने रणनीतिका रुपमा लिन कुनै अप्ठ्यारो छैन । किनकी राजसंस्थाको वकालत गर्दै भोट मागेको खण्डमा वाम गठबन्धनको भोट तान्न गाह्रो हुनेछ । अर्कोतिर एमाले माओवादीले पनि लिङ्देनलाई भोट हाल भनेर आफ्नो कार्यकर्तालाई उर्दी जारी गर्नका लागि लिङ्देनले राजसंस्थाको वकालत गर्नु अनुकूल हुँदैन ।

यसअर्थमा राप्रपाले महामन्त्री लिङ्देनलाई चुनाव जिताउनकै लागि महत्वपूर्ण मानिने चुनाव प्रचारका क्रममा नै आफ्नो मूल एजेण्डालाई ओझेलमा पारेको छ ।
चुनाव जित्ने कुरा मात्र नभएर वाम गठबन्धनले चुनावपछिको सरकारमा राप्रपालाई हात लिने प्रयास सुरु गरेको स्पष्ट देखिन्छ । दुई तिहाई बहुमत ल्याउर सरकार बनाउने दाबी गर्दै आएका ओलीले पछिल्लो समय त्यो अवस्था नदेखेपछि केही साना दललाई फकाउने प्रयास गरिरहेका छन् । जसरी भए पनि नेपाली कांग्रेसलाई सत्ता बाहिर राख्ने रणनीति लिएको वाम गठबन्धनले राप्रपालाई सरकारमा सहभागि गराउने रणनीति लिएको हो ।

सोमबार लिङ्देनलाई भोट माग्दै भाषण गरेका एमाले अध्यक्ष ओलीले लिङ्देनलाई जिताइछाड्ने दाबी मात्रै गरेनन्, राप्रपा पनि राजतन्त्रतिर नभई एमाले र माओवादीको जस्तै जनतातिर र्फकने बताए ।
सरकारमा सहभागी गराउने विषयलाई संकेत गर्दै ओलीले चुनावपछिको कुरा बेग्लै छ भनेका छन् ।
रिपोर्टर्स क्लब नेपालले लिङ्देनको चुनावी क्षेत्र झापा पुगेर गरेको चुनावी बहसका क्रममा राप्रपाका महामन्त्रीसमेत रहेका लिङ्देनले प्रतिनिधिसभा सदस्यका लागि हुने चुनावमा आफ्नो दलले राजसंस्था र हिन्दुराष्ट्रको एजेण्डालाई भन्दा विकासका एजेण्डालाई प्राथमिकता दिएको बताएका थिए ।

चुनावपछि वाम गठबन्धनमा राप्रपा पनि सहभागि भएर सरकार गठन हुने कुरालाई लिङ्देनले सम्भावनाको टोकरीमा राखे । “चुनावपछि छलफल गरेर राप्रपा सरकारमा सहभागि हुने वा नहुने भन्ने कुरा टुङ्गो लगाउँछौँ ।” लिङ्देनले भने ।



प्रतिक्रिया दिनुहोस्