Logo

मेरो जित सुनिश्चित भैसक्यो, विजयी घोषणा हुनमात्रै बाँकी छ : साँबा



‘जनताको चाहनाअनुसार वाम गठबन्धन बनेको हो, बहुमत आउँछ’
झापा, २८ कार्तिक । वाम गठबन्धनका झापा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका उम्मेद्धवार एलपी साँवाले मतदान नहुँदै आफ्नो जित सुनिश्चित भैसकोले अब घोषणा गर्नमात्रै बाँकी रहेको दाबी गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै उनले आफ्नो जित अहिल्यै नै सुनिश्चित भैसकेको स्पष्ट पारेका छन । उनले आफू कांग्रेसको उम्मेद्धवार देउमान थेवेभन्दा २५ हजारको मत अन्तरले चुनाव जित्ने दाबी गरे । उनले थपे,‘म धेरै ठूलो मत अन्तरले चुनाव जित्दैछु, यो क्षेत्रमा वाम गठबन्धनको धेरै भोट छ, अहिले त राप्रपापनि थपिएको छ, हामी ढुक्कसँग चुनाव जित्दैछौं।’

क्लबका केन्द्रिय सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले आफू विजयी भए झापा क्षेत्र नम्बर ४ का जनताको मुहार परिवर्तन गरिदिने समेत विश्वास दिलाए । उनले भने,‘स्वास्थ्य, शिक्षा, पूर्वाधारको विकासमा नयाँ आयामको सुरुवात गरिदिन्छु, म यहाँको विकासको लागि उम्मेद्धवार बनेको हुँ।’

झापा संभावना बोकको जिल्ला भएको भन्दै अब यहाँको विकासको गति दू्रत हुने उनको विश्वास थियो । साँबाले थपे,‘अब यो क्षेत्रका जनताहरुको आर्थिक हैसियत मजस्तै सम्पन्न हुनेछ्, खुशी छाउनेछ आर्थिक आय मेरो अनुसार नै जनताको पनि गराउँछु, कनै समस्या पर्न दिन्न।’

उनले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको वाम गठबन्धने बहुमत ल्याउने समेत दाबी गरे । उनले थपे,‘हाम्रो गठबन्धनको बहुमत आउँछ, त्यसपछि हाम्रो सरकार बन्छ, विकास हुन्छ, अब विकासको गति अघि बढ्यो, बढ्यो, रोकिनेवाला छैन।’ वाम गठबन्धन नेपाली जनताको चाहना अनुसार नै बनेकोले जनता आफूहरुलाई मतदान गर्न आँतुर रहेको उनको भनाई थियो ।

उनले आफू उक्त क्षेत्रमा यसअघि निर्वाचनमा हार व्यहोर्दापनि निरन्तर जनताकै सेवामा लागेको बताउँदै भने,‘यहाँको समस्या मलाई थाहा छ, म घरदैलोमा गएको छु, चुनाव हार्दापनि जनताको घरमा पुगेको छु, मैले चुनाव हार्दै गर्दापनि उहाँहरु सबै ग्वाँग्वाँ रुनुभएको थियो, तर अहिले उहाँहरु मलाई जिताउनको लागि आँतुर हुनुहुन्छ।’



प्रतिक्रिया दिनुहोस्