Logo

५ बर्षपछि भोट माग्न आउदा महाकालीको पक्की पुलमा गाडी चढेर आउनेछु : लेखक



कञ्चनपुर, २८ कार्तिक । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं कञ्चनपुर क्षेत्रनम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार रमेश लेखकले अबको ५ बर्षपछि भोट माग्न आउदा महाकाली नदीमा पक्की पुल चढेर मात्र आउने प्रतिबद्धता गरेकाछन् ।

नेता लेखककै पहलमा गत महिना महाकाली नदीमा बन्न लागेको चार लेनको पक्की पुलको प्रधानमन्त्री शेरबहादुर देउवाले सिलान्यास गरिसकेका छन् ।

चुनावी प्रचारप्रसारको क्रममा महाकाली नगरपालिका वडा नम्बर ३ को बडुवाल टोलमा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा नेता लेखकले महाकालीमा पक्की पुल बनेपछि यहाँका बासिन्दाको जिवनस्तर माथि उठ्ने बताए ।

पुर्व भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका लेखकले अहिले आफू दोधरा चाँदनी आउदा भारतमा रहेको बनबासा पुलबाट आएको स्मरण गर्दै आफू मन्त्री भएकै बेला नेपाली भुभागमा नै महाकाली नदीमा ४ लाइनको पक्की पुल निर्माणको प्रक्रिया अगाडि बढाएकोले समयभित्र नै पुल निर्माण सम्पन्न भएर अर्को पटक आउँदा सोही पुलबाट दोधरा चाँदनी आउने प्रतिबद्धता दोहर्याएका हुन् ।

२०७० सालको निर्वाचनमा आफुले महाकाली नदी र जोगबुढा नदीको बाढी नियन्त्रण, विद्युतीकरण, जोगबुढा नदीमा झोलुंगे पुल बनाउने प्रतिबद्धता जाहेर गरेको स्मरण गराउदै सो प्रतिबद्धता पूरा गरेको लेखकले बताए । नेपाली कांग्रेसले मात्र बिकास र समृद्धि गर्न सक्ने दावी गर्दै दोधरा चाँदनी लगायत समग्र कंचनपुरको समृद्धिकोलागि नेपाली कांग्रेसलाई बिजयी गराउन लेखकले आग्रह गरे ।

सभालाई पुर्व सभासद् बलदेब बोहरा, नेपाली कांग्रेस कंचनपुरका सभापती हरिप्रसाद बोहरा , क्षेत्र नम्बर ३ (ख) का प्रदेश सभा सदस्य उम्मेदवार बेल बहादुर राना लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा एमाले, एमाओबादी, राप्रपाका गरि पचासभन्दा बढी नेता तथा कार्यक्रता कांग्रेस प्रवेश गरेका छन् ।

पार्टी परित्याग गरि कांग्रेस प्रवेश गर्नेहरुलाई नेता लेखकले सदस्यता प्रदान गरेका थिए । त्यसैगरि महाकाली नगरपालिका ४ मा रहेको पन्चकोटी दलित सिलाई ब्यवसायिक समितिका सम्पुर्ण सदस्यहरुले सामुहिक रुपमा कांग्रेस प्रबेश गरेका छन् ।

पार्टी प्रवेश गरेका नेता तथा कार्यक्रतालाई पार्टीमा उचित जिम्मेवारी दिइने नेपाली कांग्रेस कंचनपुरका सभापति हरि बोहोराले बताए ।



प्रतिक्रिया दिनुहोस्