Logo

एमाले–माओवादीमा नयाँ चिन्तन देखिएन, लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउँछ : अशोक राई



२८ कात्तिक, काठमाण्डौ । संघिय समाजवादी फोरमका नेता अशोक राईले प्रदेश नम्बर १ को राजधानी धरान बनाउनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा रेडियो नेपाली नेटवर्कको कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै नेता राईले सबै कुराले अनुकूल भएकाले प्रदेश नम्बर १ को राजधानी धरान बनाउनुपर्ने बताएका हुन् । सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका राईले त्यस क्षेत्रका जनताको हितका लागि आफू जस्तोसुकै काम गर्न तयार रहेको भन्दै सोही क्षेत्रमा पर्ने धरानलाई राजधानी बनाउन पहल गर्ने बताएका हुन् ।

तराई मधेशका जनताको हितमा काम नगर्ने एमालेका नेताहरुले राष्ट्रवादको कुरा गर्न नसुहाउने राईको तर्क छ । राईले हिजोको दिनमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले एमालेको राष्ट्रवादलाई खोक्रो भने पनि अहिले कुम जोड्न गएको भन्दै कटाक्ष गरे ।

राईले संविधान संशोधनको विपक्षमा रहेको दल एमालेसँग संविधान संशोधनको पक्षमा देखिएको माओवादी मिल्न जानुलाई अस्वभाविक बताए । तराई मधेशका जनताको माग अनुसार संविधान संशोधन गर्न नचाहने शक्तिलाई मतदान गर्नुको कुनै अर्थ नहुने राईको तर्क छ । वाम गठबन्धनले बहुमत प्राप्त गर्ने कुनै आधार नभएको राइले जिकिर गरे । लोकतान्त्रिक गठबन्धनलाई नै जनताले नै बहुमत दिने राईको विश्वास छ । लोकतान्त्रिक गठबन्धनको बहुमत आएन भने सबै जनताले समान अधिकार प्राप्त गर्न नसक्ने राईको जिकिर छ ।

एमाले–माओवादी मिल्दैमा कुनै पनि नयाँ चिन्तन नदेखिएको राईको भनाई छ । विहानीले दिनको संकेत गर्छ भने झैँ दुई दलबिचको एकतामा कुनै शुभ संकेत नदेखिएको राईले बताए ।

सुनसरी क्षेत्र नम्बर १ का जनताको हित र विकासको चाहनालाई पूरा गर्न आफू यस क्षेत्रबाट चुनाव लडेको राइले बताए । लोकतान्त्रिक गठबन्धन अन्तरगत राजपा र कांग्रेसको समेत समर्थन पाएका राईले बाम गठबन्धनका उम्मेदवारलाई पराजित गरेरै छाड्ने दाबी गरे । विगतमा २६ वर्षसम्म अन्य दलले चुनाव जित्दा जनताको हितमा कुनै काम गर्न नसकेको अराोप लगाउँदै राईले अब आफूले नै जनताको चाहना पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे । विगतमा यस क्षेत्रमा विकासका नाममा पूर्वाञ्चलको क्षेत्रीय रङ्गशाला बनाउन लागिएको तर त्यो पनि अधुरो रहेको उदाहरण दिदै राईले अब धरान क्षेत्रको आर्थिक विकासका लागि आफूले काम गर्ने बताए ।

शिक्षा र स्वास्थ्य उपचारको गन्तव्यको रुपमा सुनसरीलाई विकास गर्ने अवधारण राईले अघि सारेका छन् । त्यस्तै पर्यटन केन्द्र, हिमाल आरोहणको प्रवेशद्धार, बराह तीर्थस्थलको स्तरउन्नती र धार्मिक चक्रपथको निर्माण गर्ने राईको प्रतिवद्धता छ ।

“म विकासका लागि प्रतिवद्ध छु । चुनावका लागि गरिएको भाषण मात्रै होइन । एकमटक मलाई परीक्षण गर्न जनतालाई आग्रह गर्छु ।” राईले भने ।
जनताको चाहना र आवश्यकतालाई मध्ये नजर गर्दै आफू सुनसरी क्षेत्रनम्बर १ बाट चुनाव लड्न लागेको राईको भनाई छ । चुनाव क्षेत्र परिवर्तनका लागि पार्टीको दबाब नभएको राईले स्पष्ट पारे ।



प्रतिक्रिया दिनुहोस्