Logo

केपी ओली र प्रचण्डलाई सपना देख्ने छुट छ, तर नेपाली जनताले साम्यवादका लागि भोट दिदैनन् : महेश आचार्य



२९ कात्तिक, काठमाण्डौ । नेपाली कांग्रेसका नेता महेश आचार्यले नेपाली कांग्रेसले बहुमत ल्याउने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसमा सहभागि हुँदै नेता आचार्यले लोकतन्त्र र संविधानको रक्षाका लागि जनताले कांग्रेसलाई बहुमत दिने विश्वास व्यक्त गर्दै अतिवादतर्फ जाने बाटो जनताले नरोज्ने तर्क गरे ।

मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका नेता आचार्यले चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गर्दै अन्य दललाई पनि सरकारमा सहभागि गराएर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको बाटोमा हिँड्ने बताए ।

वाम गठबन्धनका नाममा एमाले–माओवादीले सत्ता प्राप्तिका लागि चुनावी तालमेल गरेको तर्क आचार्यको छ । “ओलीले सपना देख्न पाउनुहुन्छ । एक्लै बरबराएर कम्युनिष्टको सरकार आउँदैन । नेपाली जनमत लोकतन्त्रका लागि हो ।” आचार्यले भने ।

बहुमत आउँछ भन्ने आधारमा कांग्रेसले चुनाव लडेको बताउँदै आचार्यले वाम गठबन्धनले बहुमत ल्याएमा वैचारिक मतभेद उत्पन्न भई आर्थिक समृद्धिको यात्रामा प्रभाव पर्ने बताए ।

विगतमा पञ्चायत, माओवादी जनयुद्ध र राजाको शाषनका कारण कांग्रेसले बहुमत ल्याउँदा पनि सोचे जति काम गर्न नसकेको तर्क गर्दै आचार्यले राजनीतिक अधिकारका लागि कांग्रेसले धेरै समय विताउनुपरेको बताए ।

गणतन्त्र अएपछि भएको पहिलो संविधान सभा चुनावपछि ४ जना कम्युनिष्ट प्रधानमन्त्री हुँदा संविधान निर्माण गर्न नसकेको उदाहरण दिदै आचार्यले कम्युनिष्टहरुले गफ धेर्रै गर्ने काम केही गर्न नसक्ने आरोप लगाए ।

विगतमा आन्दोलन र संविधान निर्माणका लागि कांग्रेसले बाहेक अरु कुनै दलले नेतृत्व लिन नसकेको बताउँदै उनले संविधान कार्यान्वयन र आर्थिक समृद्धिका लागि कांग्रेसको विकल्पमा अरु कुनै दल हुन नसक्ने जिकिर गरे ।

हिमाल, पहाड र तराईका जनतालाई जोड्नका लागि कांग्रेस नै चाहिने उनको तर्क छ । विगतमा विभिन्न बाधा अड्चनकाबिचमा पनि कांग्रेसले नीतिगत सुधार गरेर आर्थिक समृद्धिको प्रयास गरेको आचार्यले बताए ।

कांग्रेसले एक्लै प्रजातन्त्रका लागि लडेको स्मरण गराउँदै उनले अहिले एमाले माओवादी कांग्रेससँग डराएर ६०–४० को भागबण्डामा चुनाव लडेको तर्क गरे ।
चुनाव बहसका क्रममा पत्रकार ऋषि धमलाले मोरङ क्षेत्र नम्बर ४ को कटहरी गाउँपलिकाबाट आचार्यसँग प्रत्यक्ष बहस गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्