Logo

‘वामपन्थीको सरकारबाट राष्ट्रियताको रक्षा र देशको विकास सम्भव’ : प्रचण्ड



चितवन, २९ कात्तिक : नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक मोडमा आएको र अब छिट्टै एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बन्ने बताउनुभएको छ ।

नेपाल लोकतान्त्रिक दराई संघ तथा दरै राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज भरतपुरमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले कम्युनिष्टले मात्र सम्पूर्ण शोषित–उत्पीडित समुदायको हित र अधिकारको रक्षा र प्रवद्र्धन गर्ने तथा वामपन्थीको शक्तिशाली सरकारले मात्र राष्ट्रियताको रक्षा र देशको विकास सम्भव भएको जिकिर गर्नुभयो ।

चितवन निर्वाचन क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार दाहालले नेपालको परिवर्तनकारी आन्दोलनमा दराई समुदायको र विशिष्ट भूमिका रहेको बताउँदै अब सबै उत्पीडित समुदायको सपना साकार हुने दिन छिट्टै आउने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा समानुपातिक उम्मेदवार मंगलराम दराई, पूर्वसभासद् सन्तुराम दराईलगायत अगुवाले वाम गठबन्धनका उम्मेदवारलाई मतदान गरी विजयी गराउन आह्वान गर्नुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्