Logo

ओलीको अपिल : ‘को एमाले, को माओवादी केन्द्र होइन, वाम उम्मेद्वारलाई जिताउनुहोस’



गोरखा, २९ कार्तिक । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम तालमेलबाट एमाले र माओवादी केन्द्रका केही साथीहरुलाई असजिलो उत्पन्न भएको हुनसक्ने भन्दै तर देशको बिकास र समृद्धिका लागि त्यस्ता सानातिना बिषयमा अल्झिनु नहुने बताएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेको गोरखाको क्षेत्र न. २ मा आयोजित चुनावी सभालाई बुधबार संवोधन गर्दै अध्यक्ष ओलीले अघि भने,‘को एमाले, को माओवादी केन्द्र होइन, वाम उम्मेद्वारलाई मत हाल्नुहोस, जिताउनुहोस, देशलाई बिकास र समृद्धितर्फ अघि बढाउनुपर्छ । त्यो वाम गठबन्धनले मात्र गर्न सक्छ’।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले अबको निर्वाचनपछि बन्ने वामपन्थीहरुको सरकारले रोजगारीका लागि खाडी लगायत बिभिन्न देशमा गएका ४० लाख युवालाई स्वदेश फर्काउने विश्वास दिलाए । उनले देशमै उद्योग खोली रोजगारी सृजना गर्ने स्पष्ट पारे ।

उनले भने,‘निर्वाचनपछि वाम गठवन्धनको सरकार बन्छ । हामी बिदेशमा श्रम गरिरहेका हाम्रा ४० लाख युवालाई स्वदेश फर्काउने छौं । यहाँ उद्योग खोली रोजगारी सृजना गर्नेछौं’



प्रतिक्रिया दिनुहोस्