Logo

बाबुरामबारे प्रचण्डको टिप्पणी : ‘ज्ञान भएको, बुद्धि नभएको मान्छे, अहिलेपनि तपाईको माया लाग्छ’



गोरखा, २९ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई ज्ञान भएको तर बुद्धि नभएको मान्छेको संज्ञा दिएका छन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उम्मेद्वार रहेको गोरखाको क्षेत्र न. २ मा आयोजित चुनावी सभालाई बुधबार संवोधन गर्दै अध्यक्ष प्रचण्डले बाबुरामबारे यस्तो टिप्प्णी गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने,‘मैले उहाँलाई भनेको पनि छु, तपाईले पढ्नुचाँहि भयो, ज्ञान हासिल गर्नुभयो । तर, कहाँ प्रयोग गर्ने बुद्धि भएन । ज्ञान भएको, बुद्धि नभएको मान्छे भन्ने गरेको छु मैले बाबुरामजीलाई ।’

उनले आफ्नो पार्टीमा नयाँ शक्तिका करिब सबै नेता तथा कार्यकर्ताहरु आईसकेकोले अब बाबुरामको नयाँ शक्ति सकिएको दाबी गरे । उनले थपे,‘अघिमात्रै पनि मैले चितवनमा थुप्रै नेताहरुलाई माओवादी केन्द्रमा प्रवेश गराएँ, उहाँहरु भन्दैहुनुहुन्थ्यो अब नयाँ शक्ति समाप्त भयो।’

आफूले २५ वर्षदेखि बाबुरामलाई बचाउँदै–बचाउँदै, जोगाउँदै–जोगाउँदै ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने,‘धेरै ठूलो दुःख गरेर जोगाएको हो बाबुरामलाई, तर,पछिल्लो चरणमा बाबुरामलाई जोगाउन सकिएन, उहाँ फुत्किुनभयो । कहाँ जानुभयो कहाँ जानुभयो ? कम्युनिष्ट आन्दोलन छाडेर जानुभयो, विचार छोडेर जानुभयो, नैतिकता छोडेर जानु भयो । मलाई अहिले पनि उहाँको माया लाग्छ ।’

उनले तत्काल माओवादी केन्द्रमा फर्किनको लागि समेत बाबुरामलाई आग्रह गरे । दाहालले अघि थपे,‘खुरुक्क माओवादीमा फर्किनुस, तपाईको भलो त्यसैमा छ । दायाँबायाँ गर्नुभयो भने घर न घाटको बन्नुहुन्छ ।’

प्रचण्डले बाबुरामलाई उम्मेद्धवारी फिर्ता गरेर माओवादीमा आउन आग्रह गर्दै भने,‘म अहिले पनि भन्छु, उम्मेदवारी छोड्दिनुस् । माओवादी, आन्दोलन, प्रचण्ड छोडेर गल्ती गरेँ भनेर आउनुुस्, तपाईलाई स्वागत गर्न तयार छु । आउनुस, उम्मेदवार छोडर आउनुस, तपाईले जित्नु पनि हुन्न । तपाईलाई कांग्रेसले ठाउँ पनि दिन्न ।’

बाबुरामजी घर न घाटको भएको रमाइलो नलागेको उनको भनाई थियो। दाहालले निकै भावुक हुँदै भने,‘म फेरि एकपटक भन्न चाहन्छु, यो नौटंकी गर्न छोडिदिनुस् । दुनियाँका अगााडि किन नाटक गर्नुहुन्छ ?’



प्रतिक्रिया दिनुहोस्