Logo

अबको निर्वाचन केबल निर्वाचनमात्रै नभएर लोकतान्त्रिक र वामवीचको जनमतसंग्रह हो : मन्त्री थापा



“वाम गठबन्धनले बहुमत ल्याउने ओलीको कुरा चुनावपछि कता जान्छ, कता ?”
धनकुटा, ३० कार्तिक । उद्योगमन्त्री एवम् संयुक्त लोकतान्त्रिक गठबन्धनका धनकुटा क्षेत्र नम्बर १ का प्रतिनिध सभाका संयुक्त उम्मेद्धवार तथा राप्रपा प्रजातान्त्रिकका महामन्त्री सुनिलबहादुर थापाले प्रदेश नम्बर १ को राजधानी धनकुटालाई नै बनाउने दाबी गरेका छन् । उनले भने,“धनकुटा सबै कारणले प्रदेश नम्बर १ को राजधानी बन्न योग्य छ, भौगोलिक, जातीय, भाषिक, लैंिगक रुपमा पनि धनकुटा सम्पन्न छ।”

बिहीबार रिपोर्टर्स क्लब नेपालले धनकुटामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै मन्त्री थापाले धनकुटा पूर्वाधार, भौगोलिक सुगमता र पहिलेको क्षेत्रिय कार्यालय भएको हिसाबलेपनि प्रदेश नम्बर एकको राजधानी हुने जिकिर गरेका छन् ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा उनले धनकुटालाई प्रदेशको राजधानी नबनाउनको लागि वाम गठबन्धनका उम्मेद्धवारहरुले यसअघि नै घातक निर्णय गरिसकेकोले अब धनकुटालाई राजधानी लोकतान्त्रिक गठबन्धनले मात्रै बनाउन सक्ने जिकिर गरे ।

उनले भने,“एमाले र माओवादी केन्द्रका साथीहरुले धनकुटालाई राजधानी बनाउन हुँदैन भनेर लागिपरिरहेको हामीले थाहा पाएका छौं, तर म भन्छु, धनकुटालाई नै प्रदेशको राजधानी बनाउँछौं, अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग हामी डेलिगेशन जाँदापनि उहाँहरु हुन्छ भन्नुभएको छ, उहाँले त डढेलधुरा हुन्छ भने धनकुटा किन नहुनु भन्नुभएको छ, प्रधानमन्त्रीको कुरा कसरी अविश्वास गर्ने ? त्यसैले हामी त पूर्ण विश्वस्त छौं ।

उनले लोकतान्त्रिक गठबन्धनका उम्मेद्धवारहरुलाई विजयी गराउनको लागि अपिल समेत गरे । थापाले धनकुटेली जनताहरुको मुहार आफूहरुलेमात्रै फेर्न सक्ने भन्दै अबको निर्वाचनमा अत्यधिक मत दिएर विजयी गराउन आग्रह गरेका हुन् । उनले भने,“म यहाँका जनताका मुहार फेर्न सक्छु, म यही अठोटका साथी राजनीतिक यात्रामा होमिएको हो, र मैले लिएको अब पूरा हुने दिन आएको छ, जनतालेपनि मलाई विश्वास गरेर विजयी गराउनुपर्छ।”

अहिलेसम्म कति विकास गर्नुभयो भनेर पत्रकार धमलाले तेर्साएको एक प्रश्नमा उनले भने,“हेर्नुहोस्, विकास भन्ने कुरा यति वा उति भनेर नाँप्न सकिने कुरा होईन, तर विकास भन्ने कुरा क्रमिक रुपमा बढ्दै जान्छ, यहाँ अब विकासका लहरहरु आउँदैछन, हामी लोकतान्त्रिक गठबन्धन खासगरी कांग्रेस, राप्रपा प्रजातान्त्रिक र संघीय समाजवादी फोरमका साथीहरु संयुक्त अठोटका साथ अघि बढिरहेका छौं, अब जनतालाई समृद्ध बनाउन कुनै कसर बाँकी राख्दैनौं।”

आफू आपूर्तिमन्त्री हुँदा आयल निगमको ऋण तिरेको कुरा उल्लेख गर्दै सांसद कोषबाट पाएको ५० लाख रुपैयाँपनि धनकुटाका विकासको लागि खर्चिएको थापाले जानकारी दिए । “यो कुरा यहाँका सम्पूर्ण जनतालाई थाहा छ,”उनले थपे“फेरि दोहोर्याएर भन्नुपर्छजस्तो मलाई लाग्दैन।” उक्त रकम उनले यहाँका पूर्वाधार विकासमा खर्चिएको स्पष्ट पारे ।

धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउने, एयरपोर्ट बनाउने, कृषिको हब बनाउने, पर्यटनको विकास गर्ने, जलबिद्युत आयोजना निर्माण गर्ने लगायतका महत्वकांक्षी एजेण्डाहरु उनले अघि सारेका छन् ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेजस्तो वाम गठबन्धनको बहुमत नआउने दाबी गर्दै कसको बहुमत आउँछ भन्ने कुरा मंसिरको अन्तिमसम्म कुर्न आग्रह गरे । उनले भने,“संयुक्त लोकतान्त्रिक गठबन्धनको बहुमत आउँछ, हेर्दै जानुहोला हामी सरकार बनाउँछौं।”

विश्वमै कम्युनिष्ट शासन स्खलित हुँदै गएकोले नेपाली जनताले नेपालमा कम्युनिष्ट शासन नरुचाएको उनको दाबी थियो । उनले भने,“अहिले जनता प्रजातन्त्रमा विश्वास गर्छन, पीजंडामा थुनिएको सुगाजस्तो हुन चाहँदैनन्, त्यसैले म भन्छु वाम गठबन्धनको दुई तिहाई वा बहुमतको कुरा चुनावपछि कता जान्छ कता ?” उनले एमाले र माओवादी केन्द्रवीचको एकता प्रयास र गठबन्धनबाट आफूहर रत्तिपनि नआँत्तिएको, नमाँत्तिएको र नपात्तिएको जिकिर गरे । उनले धनकुटामा वाम गठबन्धनले बाजी मार्ला तर आफूहरुले चाहीँ जित्ने सुनिश्चित भैसकेको दाबी गरे ।

धनकुटेली जनता प्रजातन्त्रप्रेमी र विकासरुपी भएको भन्दै अबको निर्वाचनमा लोकतान्त्रिक गठबन्धनलाई विजयी बनाउन कुनै कसर बाँकी नराख्ने उनको भनाई थियो । उनले अहिलेसम्म धनकुटामा एमालेका साथीहरुले कति वटा सडक बनाए ? कतिवटा विद्यालय निर्माण गरे ? भन्दै देखाउनको लागि चूनौति दिए ।

एमालेका नेताहरुले झुठको खेती गरिरहेको आरोप लगाउँदै भने,“एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा घरघरमा ग्याँसको पाईप ल्याउने ? पानीजहाज ल्याउँछौं भनेर भन्नुभयो, खोई त ? त्यसैले उखान टुक्का भनेर केही हुनेवाला छैन, बोल्नको लागि त म पनि बोल्न सक्छु नि तर जनताले विश्वास गर्ने कुरा बोल्नुपर्यो नि।”

त्यस्तै उनले हालै मन्त्रिपरिषदको बैठकले बुढीगण्डकी निर्माणको जिम्मा लिएको चीनीयाँ कम्पनी गेजुवासँगको सम्झौता रद्द गर्नुको प्रमुख कारण उक्त कम्पनीको काम सन्तोषजनक नहुनु रहेको स्पष्ट पारे । उनले अब नेपालमा नयाँ युगको सुरुवात संयुक्त लोकतान्त्रिक गठबन्धनले सुरु गर्ने समेत उद्धघोष गरे ।

त्यस्तै प्रदेश क को उम्मेद्धवार एवम् नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठले पनि संविधान कार्यान्वयन, स्थिर सरकार र प्रजातन्त्रलाई बलियो बनाउनकोलागि कांग्रेसको नेतृत्वको लोकतान्त्रिक गठबन्धनलेमात्रै गर्न सक्ने भएकोले अबको निर्वाचनमा जनताले यही गठबन्धनलाई विजयी बनाउने विश्वास दिलाए । उनले पनि धनकुटालाई प्रदेश नम्बर १ को राजधानी बनाउनेबारे सरकारले छिट्टै निर्णय लिने भन्दै यहाँको जनताले लोकतान्त्रिक गठबन्धनलाई अत्यधिक बुहमतले विजयी गराउने बताए ।

कार्यक्रममा लोकतान्त्रिक गठबन्धनबाट प्रदेश ख को उम्मेद्धवार बनेका फोरम नेता अर्जुनबहादुर थापाले पनि धनकुटा पहाडी जिल्ला भएपनि भौगोलिक हिसाबले सुगम जिल्ला भएको र यसअघि नै क्षेत्रिय कार्यालयको रुपमा स्थापित भएकोले पनि प्रदेश नम्बर १ को राजधानी बनाउनुपर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस्