Logo

जानिराख्नुस्, तपाईंलाई मतदान गर्न २ मिनेट लाग्नेछ



निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदाता शिक्षा प्रभावकारी बनाउन ‘नमूना मतदान’ अभ्यास गरेको छ।

आयोगले आज मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समय कति लाग्छ भन्ने समय निर्धारणका लागि आफ्ना कर्मचारीद्वारा नमूना मतदान अभ्यास गरेको प्रमुख आयुक्त डा अयोधीप्रसाद यादवले बताए।

नमूना मतदानबाट मतदान केन्द्रले ओगट्ने स्थानको जानकारी हुने र कर्मचारीको व्यस्थापनमा पनि सहजता हुने उनले बताए। यादवले भने,‘पहिले आफ्ना कर्मचारीलाई सिकाएर त्यसपछि फिल्डमा सिकाउन खटाउने योजनाअुनसार हाल जिल्ला जिल्लामा नमूना मतदान भइरहेको छ।’

शुरुमा नमूना मतदान गरेका निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले तीनवटै मतपत्रमा मतदान गर्न एकजना मतदातालाई २ मिनेट समय लागेको जानकारी दिंदै यसले मतदान गर्ने सही तरिका, मतपत्र बदर नहोस् र मतदान गर्ने समयका बारेमा समेत जानकारी हुने बताए।

उनले निर्वाचनमा उम्मेदवारलाई सुरक्षाको चुनौती आएमा विश्लेषणसहित जिल्ला सुरक्षा समितिमा सम्पर्क गरे सुरक्षा उपलब्ध गराउने सरकारको प्रतिवद्धता रहेको बताए।

आयोग परिसरमा गरिएको नमूना अभ्यासमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी, सुरक्षाकर्मी, स्वंसेवक, पर्यवेक्षक, मतदान प्रतिनिधि, सञ्चारकर्मीलगायत सम्पूर्ण व्यवस्था गरिएको थियो।

नमूना मतदानमा तथ्याङ्कबमोजिम महिला पुरुषको लाइनअनुसार मिलाएर नाम रुजु गरी पहिले हरियो मतपत्र (प्रतिनिधिसभाको) प्रदान गरिएको थियो। कर्मचारीले त्यसमा मन परेको कुनै एक चिह्नमा स्वस्तिक छाप लगाई पहिलो मतपेटिकामा खसालेका थिए।

त्यसपछि दोस्रो कालो मतपत्र (प्रदेशसभाको) दिइएको थियो। त्यसमा पनि मन परेको कुनै एक चिह्नमा छाप लगाई सकेपछि कर्मचारीले दोस्रो मतपेटिकामा मतपत्र खसालेका थिए। लगत्तै तेस्रो रातो मतपत्र (समानुपातिक) दिइएको थियो।

मतपत्रमा माथि प्रतिनिधिसभाका दलको चिह्न थियो भने तल प्रदेशसभाका दलको निर्वाचन चिह्न थियो। कर्मचारीले त्यस मतपत्रमा माथि एक र तल एक गरी दुई स्वस्तिक छाप लगाइसकेपछि अन्तिम मतपेटिकामा मतपत्र खसालेका थिए।रासस



प्रतिक्रिया दिनुहोस्