Logo

शीर्ष नेताहरुको आरोप–प्रत्यारोप : चुनावी स्टन्ट कि दीर्घकालिन द्धन्द्ध : देश र जनतालाई खतरा



३० कात्तिक, काठमाण्डौ । चुनावको मिति नजिकदै गर्दा प्रमुख दलका शीर्ष नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका छन् । विशेषगरी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबिचमा एक अर्कालाई आरोप–प्रत्यारोप गर्ने होडबाज चलेको छ । एकले अर्कालाई नकारात्मक टिप्पणी गरेर जनमत आफूतिर तान्ने प्रयासमा दलका नेताहरु लागेको देखिन्छ ।

विपक्षीलाई कटाक्ष गर्न सिपालु एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसलाई अनेक आरोप लगाउनमा केन्द्रित भएको देखिन्छ । चुनावी सभाका क्रममा जनतामाझ आफ्ना एजेण्डाभन्दा पनि कांग्रेसको सत्तोसराप गरेर ओलीले वाम गठबन्धनलाई मत दिन आग्रह गरिरहेका छन् ।
वाम गठबन्धनले बहुमत ल्याए स्थिर सरकार दिएर विकास निर्माणका काम गर्ने भनाई एकातिर छ भने कांग्रेस निकै कमजोर बनेको र अब केही पनि गर्न नसक्ने भनेर ओलीले प्रचार गरिरहेका छन् ।

बुधवार गोरखा र लमजुङको चुनावी सभाका क्रममा ओलीले वाम गठबन्धनले कांग्रेस आत्तिएको तर्क गर्दै अब बूढो रुख ढल्ने बता ।
कांग्रेस आत्तिएको छ, कम्युनिस्ट शासन आउने भो, उधुम हुने भयो भनेर कराएको छ,’ एमाले अध्यक्ष ओलीले पालुङटारको सभामा भने, ‘हो कांग्रेसले ठीक बुझेको छ, अब कम्युनिस्ट सरकार र सत्ता आयो आयो । यसपालिको चुनावले कांग्रेसलाई उडाउने छ, बूढो रूख ढल्छ ।’

बीपी, गणेशमानको पालाको जस्तो कांग्रेस अहिले नरहेको उल्लेख गर्दै ओलीले अब नेपालको इतिहासमा शेरबहादुर देउवा नै कांग्रेसको अन्तिम प्रधानमन्त्री हुने दाबी गरे ।
यता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भने वाम गठबन्धनले बहुमत ल्याएर सरकार बनायो भने कम्युनिष्ट शासन लागु हुने र

जनताको हक अधिकार खोसिने प्रचार गरिरहेका छन् ।
एमाले–माओवादीले सत्ता प्राप्तीका लागि मात्रै गठबन्धन गरेको र देश विकासको चिन्ता नगरेको तर्क गर्दै देउवाले लोकतान्त्रिक शक्तिलाई मत दिन जनतालाई

आग्रह गरिरहेका छन् । तर देउवाले भने ओलीले जस्तो कसैलाई पनि कटाक्ष गर्न सकेका छैनन् ।
यस्तै माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि वाम गठबन्धनले नै देश विकास गर्न सक्ने भन्दै प्रचार गरिरहेका छन् ।

दाहालको सम्बोधनमा पनि मुख्य निसाना कांग्रेस र नयाँ शक्ति पार्टीका संयोजक भट्टराई परेका छन् । उनले चितवनको आफ्नो चुनावी क्षेत्रमा कांग्रेसले राप्रपासँग गरेको तालमेलप्रति पनि आपत्ति जनाए । ‘कांग्रेस आत्तिनु पर्दैन विभाजित भएका मिले हुन्छ, तर देउवाले कुरा बुझ्नु भएन,’ अध्यक्ष दाहालले भने, ‘चितवन ३ मा हलो बोकेर हिँड्नु भएको छ, गोरखा २ मा रूखसुख छोडेर खै के–के बोकेर हिँड्नु भएको छ ।’ एउटा कम्युनिस्ट केन्द्र बनाउने र स्थिर सरकार दिने उद्देश्यले दुई पार्टी अघि बढेकाले यो यथार्थलाई बुझेर मत दिन उनले आग्रह गरे ।

प्रमुख दलबिचको वाकयुद्धले जनता भने अलमलमा परेका छन् । चुनावका बेला भोट तान्नका लागि एकले अर्कालाई सत्तोसराप गरेका हुन् वा आगामी दिनमा पनि एकले अर्काको अस्तित्व स्विकार गर्न नसक्ने हुन्, यो गम्भीर विषय बनेको छ ।

चुनावी स्टन्टका लागि मात्रै आरोप हो भने त चुनावपछि साम्य होला । तर चुनाव पछि पनि दलहरुबिचको सम्बन्ध यस्तै रहे त्यसको असर देश र जनतामाथि पर्ने निश्चित छ । द्धन्द्ध बढ्दै जाने हो भने विकास निर्माणका काम प्रभावित हुने सम्भावना पनि बढेर जाने छ ।
त्यसैले दलरुहरुले एकले अर्काको अस्तित्व स्विकार गरेर देश र जनताको हितका लागि एकतावद्ध हुनु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्