Logo

निगमको जहाज किन्ने स्टन्टले फसे एनआरएनए अध्यक्ष भवन भट्ट, १३ करोड ६८ लाख रुपैयाँ बुझाउन नसक्दा सम्पर्कविहिन



३० कात्तिक, काठमाण्डौ । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले नेपाल वायुसेवा निगमको बोइङ ७५७ विमान खरिद गर्ने प्रक्रिया अगाडि बढाएको महिना दिन बित्यो । ३० असोजमा भएको संघको चुनावअघि उनले एक करोड ५० लाख रुपैयाँ बुझाएका थिए । तर, एक साताभित्र बुझाउनुपर्ने बाँकी रकम अझै निगमले पाएको छैन ।

म्याद गुज्रिसक्दासम्म सम्पर्क पनि हुन नसकेपछि वायुसेवा निगम नै अन्यौलमा परेको छ । बाँकी रकम बुझाउने–नबुझाउने भन्ने कुनै निर्णय पनि आएको छैन ।
संघको चुनावका बेला भट्टले जहाज खरिद गरेको समाचार सार्वजनिक भएको थियो । अग्रिम रकम बुझाएर उनी सम्पर्कविहीन भएपछि निगमका लागि बोइङ–७५७ फेरि टाउको दुखाइको विषय बनेको छ । ३–४ पटकसम्म गरिएको बोलपत्र आह्वानको उपलब्धि देखिएको छैन ।
आगामी बोर्ड बैठकबाट उक्त विमानबारे निर्णय लिने तयारी निगमको छ ।

निगमले भट्टलाई १४ लाख ६० हजार अमेरीकी डलर अर्थात् १५ करोड १८ लाख रुपैयाँमा विमान बिक्री गरेको थियो । त्यसमध्ये डेढ करोड रुपैयाँ बुझाए । बाँकी १३ करोड ६८ लाख रुपैयाँ बुझाउन बाँकी छ ।

चुनाव अगाडी प्रचारका लागि सो बिमान किन्ने भनिएपनि बिमान ममर्त गर्न झण्डै ८० करोड रुपैयाा खर्च हुने भएका कारण भवन बिमान किन्ने योजनालाई अगाडी बढाउन नखोजेको बुझिएको छ ।
सन् १९८७ मा खरिद गरिएको उक्त विमानको मर्मत खर्च बढ्दै जाने र लागतअनुसार नाफा पनि नहुने देखेपछि निगमले बिक्री गर्ने निर्णय लिएको हो । नयाँ इन्जिन फेर्न मात्र एक अर्ब ५० करोड रुपैयाँभन्दा बढी खर्च हुन्छ ।

उक्त विमान चैत ०७२ देखि ग्राउन्डेड भएर थन्किएको छ । बोइङ ७५७–२०० सिरिजको विमानको दर्ता नम्बर हो, नाइन एन–एसीए । उक्त विमानले हालसम्म ८६ हजार चार सय १० घण्टा उडान भरेको छ ।



प्रतिक्रिया दिनुहोस्