Logo

कांग्रेसले मधेशी जनतालाई ठग्दै आएको छ, अब मसिहा भनाउँदाहरुको दिन गए : महासेठ



‘चुनावपछि संविधान संशोधन हुन्छ’
धनुषा (जनकपुरधाम), १ मंसिर । नेकपा एमालेका नेता एवम् धनुषा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका लागि वाम गबन्धनका उम्मेद्धवार रघुवीर महासेठले देशैभरि वाम गठबन्धनले बुहमत ल्याउने दाबी गरेका छन् ।

शुक्रबार धनुषामा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै नेता महासेठले अबको निर्वाचनमा एमाले–माओवादी केन्द्रको गठबन्धनले बहुमत ल्याउने र सरकार बनाउने दाबी गरेका हुन् । उनले भने,‘हेर्दै जानुहोला, अब हामी सरकार बनाउँछौं, बहुमत आउने पक्का छ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता महासेठले मधेशको हित र विकास एमालेबाहेक अरु कुनै पार्टीले नगरेको र गर्नै नसक्ने जिकिर गरे । उनले थपे,‘एमालेबाहेक मधेशको हित गर्ने पार्टी अरु कोही छ र ? मलाई देखाईदिनुहोस् त।’

उनले कांग्रेसले मधेशको विकासको लागि अहिलेसम्म सिन्कोपनि नभाँचेको आरोप लगाए । उनले भने,‘यहाँ कसैले म मधेशको मसिहा हुँ भनेर हिँडिरहेका छन्, ती कोही मसिहा ससिहा होईनन्, म त भन्छु नेपाली कांग्रेसले अहिलेसम्म मधेशी जनतालाई ठग्दै आएको छ, पार्टीले त ठग्यो ठग्यो, मधेशी नेता भनाउँदाहरुले पनि ठग्दै आएका छन्।’

नेता महासेठले आफ्नो पार्टी धेरै लामो समयसम्म सरकारमा बस्न नपाएकोले जनताले चाहेकोजस्तो विकास गर्न नसकेको गुनासो पोखे । ‘हामी कति सरकारमा बसेका छौं र ? यो कुरा त जनतालाई राम्रोसँग थाहा छ, जब एमाले सरकारमा जान्छ, तब देशी तथा विदेशी शक्तिहरुले सरकार ढालिहाल्छन्, काम गर्न खोई कहाँ दिएका छन् त ? हामी त आफूले गरेका प्रतिबद्धताहरु पूरा गर्ने पार्टी पर्यौं,–उनले थपे ।

उनले आफूले धनुषाको विकासको लागि सक्दो काम गरेको समेत जनाए । महासेठले थपे,‘यहाँ सिँचाईको योजना कसले ल्यायो ? तटबन्ध, बाटोघाटो बनाएको छु, सोध्नुहोस् त जनतालाई, उहाँहरुले नै भनिदिनुहन्छ, रघुवीर महासेठले काम गरेको छ कि छैन भनेर ?’

चुनावपछि बन्ने सरकार अब पाँच वर्षको हुने भन्दै त्यसपछि देश र जनतालाई समृद्ध बनाउनेगरि काम गर्ने उनको भनाई थियो । उनले प्रदेश नम्बर २ मा पनि बाम गठबन्धनले नै बुहमत ल्याउने ठोकुवा गरे । महासेठले थपे,‘लेखेर राख्नुहोस्, अहिले पनि हामी दुई पार्टी एमाले र माओवादी केन्द्रको सिट सख्या र भोट दुवैमा हामी पहिलो छौं, अबको निर्वाचनमा पनि हामी पहिलोमात्रै होईन, बहुमत ल्याउँछौं र सरकार बनाउँछौं।’

उनले २ नम्बर प्रदेशको मुख्यमन्त्री बन्न नेता शत्रुधन महतो काबिल रहेको भन्दै पार्टीले निर्णय गरे उक्त जिम्मेवारी लिन महतो राजी भएको विश्वास दिलाए । यद्धपी उनले आफू मन्त्री बन्ने कि नबन्ने भन्ने कुरा पार्टीकै निर्णयमा भर पर्ने स्पष्ट पारे ।

चुनावपछि संविधान संशोधन हुने पनि उनले जानकारी दिए । उनले थपे,‘हो, हामी चुनावपछि संविधान संशोधन गछौं, तर संशोधन अहिलेकोजस्तो होईन, मधेश र मधेशी जनतालाई बलियो बनाउनेगरि हुन्छ, यहाँका जन्मसिद्ध नागरिकहरुलाई मध्येनजर गरेर संशोधन गर्छौं, उहाँहरुको हकअधिकारको लागि हामी संशोधन गर्छौं।’

२ नम्बर प्रदेशको मुख्यमन्त्री म बन्छु : महतो

त्यस्तै कार्यक्रममा प्रदेश सभाका उम्मेद्धवार बनेका नेता शत्रुधन महतोले २ नम्बर प्रदेशमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरे । उनले थपे,‘२ नम्बर प्रदेशमा हाम्रो गठबन्धनले बहुमत ल्याउँछ, अब पार्टीले मलाई मुख्यमन्त्री बनाउँछ भने म बन्छु नि, तर मैले निर्णय गर्ने कुरा त होईन।’

उनले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले २ नम्बर प्रदेशमा आफूहरुले सरकार बनाउने भनेर गरेको दाबी मंसिर २१ गते नै टुट्ने समेत जिकिर गरे ।

उनले थपे,‘उपेन्द्र यादवले भनेर हुन्छ, हेर्दैजानुहोस् वाम गठबन्धनको नतिजाले के भन्छ, उहाँलाई त म मंसिर २१ गतेको निर्वाचन सकिएपछिको परिणाम हेर्नको लागि आग्रह गर्दछु, एमाले र माओवादी नै फस्र्ट हुन्छौं, अनि सरकारले कसले बनाउँछ त ?’

महतोले आफू र महासेठवीच कुनै मनमुटाव नभएको समेत स्पष्ट पारे । उनले थपे,‘हामीवीच मनमुटाब भएको भए म अहिले उहाँसँगै किन हिँडथे त ? म त सँगै घुमिरहेको छु, यो के कुरा नमिलेकोले हो त ?’

 



प्रतिक्रिया दिनुहोस्