Logo

चार हजार एक सय ४० जना ठग्ने युनिटीका संचालकलाई सर्वोच्चले दियो सफाई



१ मंसिर, काठमाण्डौ । सर्वसाधारणको पैसा ठगेको भन्दै ललितपुर जिल्ला अदालतले दोषी ठहर गरेका युनिटी लाइफ इन्टरनेसनल लिमिटेडका सञ्चालक र संलग्न व्यक्ति गरी १२ जनालाई उच्च अदालतले सफाइ दिएको छ ।

१७ चैत ०७० मा जिल्ला अदालतले ठगी काण्डमा दोषी ठहर गर्दै उनीहरुलाई एक करोड ६ लाख जरिवानासहित तीन वर्ष कैद सजाय तोकेको थियो । तीमध्येका तीन जना अहिले पनि कारागारमै छन् । बाँकी नौ जनाले कैद भुक्तान गरिसकेका छन् ।

न्यायाधीशद्वय दुर्गादत्त भट्ट र शेखर पौडेलको संयुक्त इजलासले मंगलबार उक्त काण्डसँग सम्बन्धित बिनाइजाजत कारोबारका दुई तथा ठगी र राजश्व चुहावटसहित तीन मुद्दामा फैसला सुनाएको हो ।

कम्पनी रजिस्ट्रार कार्यालयका तर्फबाट बिनाइजाजत कारोबार गरेको मुद्दामा भने अदालतले सात जनालाई कम्पनीको उद्देश्यविपरीत कामकारवाही गरेको ठहर गर्दै ६ महिना कैद र ५० हजार जरिवाना तोकेको छ ।

यस्तै, राजश्व चुहावट मुद्दामा अदालतले राजश्व अनुसन्धान विभागसँग प्रमाण बुझेर केकति राजश्व बुझाउनुपर्ने हो भन्ने यकिन गरी पुनर्निर्णय गर्न जिल्ला अदालतलाई जिम्मा दिने फैसला दिएको छ ।

जिल्ला अदालतले दोषी ठहर गरेपछि १२ मध्येका नौ जनाले पुस ०७१ मा पुनरावेदन गरेका थिए ।

युनिटीले ठगी गरेको बताउँदै चार हजार एक सय ४० जनाले अदालतमा उजुरी दिएका थिए । उक्त समयमा युनिटीका सदस्य संख्या तीन लाख ४० हजार थियो । युनिटीले पिरामिड शैलीमा सदस्य संख्या थप्दै सञ्जाल विस्तार गरेको थियो ।

पीडितका लागि युनिटीमा जम्मा गरेको रकमको साँवा–ब्याज भराइदिने फैसला अदालतले गरेको छ । हाल कम्पनीको सम्पत्ति रोक्का छ । रोक्का सम्पत्तिबाटै प्रमाण पुर्‍याएर आउने पीडितलाई साँवा(ब्याज भराइदिने फैसला अदालतले गरेको छ ।



प्रतिक्रिया दिनुहोस्