Logo

जिल्लामा विकासको लहर ल्याउँछु : मन्त्री पाण्डे



चितवन, १ मंसिर (रासस) ः वन तथा भू–संरक्षणमन्त्री विक्रम पाण्डेले निर्वाचनपछि जिल्लामा विकासको लहर ल्याउने बताउनुभएको छ ।

चितवन क्षेत्र नं ३ मा लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहनुभएका मन्त्री पाण्डेले जनताले विकासप्रेमी उम्मेदवार छान्नुपर्ने बताउनुभयो ।

आज पश्चिम चितवनको गोलाघाटबाट घरदैलो अभियान शुरु गर्नुभएका उहाँले त्यहाँ आयोजित चुनावीसभालाई सम्बोधन गर्दै चितवनका जनताका समस्या आफूले बुझेको भन्दै प्राथमिकता दिँदै विकासलाई अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

भूमिहीनलाई पूर्जा वितरणका लागि यसअघि नै आफूले प्रक्रिया शुरु गरेको भन्दै उहाँले निर्वाचित भएलगत्तै त्यो कामलाई पूर्णता दिने बताउनुभयो ।

गोलाघाट क्षेत्रलाई नेपालकै सुन्दर पर्यटकीय क्षेत्र बनाउन लागिपर्ने योजना उहाँले सुनाउनुभयो । पोखराको लेकसाइड जस्तो नै पर्यटकको केन्द्रबिन्दु गोलाघाट हुने पाण्डेको भनाइ थियो । पर्यटक आवागमन बढाएर युवालाई स्वदेशमै स्वरोजगारको वातावरण मिलाउने योजना कार्यान्वयनमा ल्याइने उहाँले बताउनुभयो ।

पूर्वअर्थमन्त्री पाण्डेको आर्थिक विकासको मोडेल

पूर्वअर्थमन्त्री एवं चितवन क्षेत्र नं १ मा वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुरेन्द्र पाण्डेले नेपालको आर्थिक विकासको मोडेल प्रस्तुत गर्नुभएको छ ।

पूर्वी चितवनको भण्डारास्थित आफ्नै निवासमा आज पत्रकारसँग कुराकानी गर्दै पाण्डेले नेपालको अबको आर्थिक बाटो कस्तो हुन्छ र कसरी देशको विकास गर्न सकिन्छ भन्नेबारेमा विस्तृत योजना प्रस्तुत गर्नुभएको हो ।

एमाले स्थायी कमिटी सदस्यसमेत रहनुभएका पाण्डेले प्रस्तुत गर्नुभएको मोडेलमा जमिनको उपयोग, शहर निर्माण, सडक तथा यातायात पूर्वाधार विकास, शिक्षा, खोज, अनुसन्धान र उद्यमशीलता, पर्यटन, जलविद्युत्, उद्योग क्षेत्रलाई कसरी विकास गर्न सकिन्छ भन्ने रहेको छ ।

उहाँले काठमाडौँ–निजगढ द्रुतमार्ग र रेल्वे, काठमाडौँ–रेसुवागढी सडक र रेल्वे, मध्यपहाडी सडक, तराई हुलाकी सडक, कोशी करिडोर, मुस्ताङ–कालीगण्डकी करिडोर सडकलाई उच्च प्राथमिकताका साथ अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

 



प्रतिक्रिया दिनुहोस्