Logo

गृहमन्त्रीबिना चुनाव हुँदै, उम्मेदवारमाथि श्रृखलावद्ध आक्रमण, देउवा सुरक्षा गोष्ठीमा व्यस्त



२ मंसिर, काठमाण्डौ । चुनावको मिति नजिकिदै गर्दा उम्मेदवारहरुमाथिको आक्रमण बढ्दै गएको छ । पछिल्लो समयको आक्रमणको प्रकृतिलाई हेर्दा उम्मेदवारहरुको हत्या नै गर्ने उद्देश्यले आक्रमण गरिएको स्पष्ट भएको छ ।

यता सरकार भने सुरक्षा व्यवस्था चुस्त बनाउन असफल देखिएको छ । गृहमन्त्रालयको समेत जिम्मेवारी लिएका प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा निकायलाई सचेत हुन र शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न गराउन निर्देशन दिए पनि उम्मेदवारमाथिको आक्रमण रोकिएको छैन ।

देउवाले चुनावलाई लक्षित गरी धनुषा, पोखरा, नेपालगंज, धनगढी, धनुषा र विराटनगरमा सुरक्षा गोष्ठी गरिसकेका छन् ।

चुनाव प्रचारमा लागेका उम्मेदवार लक्षित आक्रमणको क्रम जारी रहँदा प्रधानमन्त्री शेरबहादुर देउवाले सुरक्षा त्रुटिको समीक्षा गर्दै चुनावी सुरक्षा व्यवस्था सुदृढ तुल्याउन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
तर उम्मेदवाहरु सुरक्षित हुन सकेका छैनन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धनका उम्मेदवारमाथि भएको आक्रमणमा सरकार र नेत्रविक्रम चन्द नेतृत्वको माओवादीको साँठगाँठ रहेको आरोप लगाएका छन् । यता कांग्रेस उम्मेदवार डा. रामशरण महतले भने चन्द नेतृत्वको माओवादीले नभै प्रतिस्पर्धी उम्मेदवारहरुको षडयन्त्रमा आफूमाथि आक्रमण भएको आरोप लगाएका छन् । महत चढेको गाडीलाई लक्षित गरी शुक्रबार नुवाकोटमा एम्बुस पड्काउँदा महतका कार्यकर्ता चढेको गाडी क्षतविक्षत भएको थियो भने ५ जना कार्यकर्ता घाइते भएका थिए ।

यता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आततायीको बम विस्फोटबाट काँग्रेसका उम्मेदवार नडराउने बताएका छन् ।
भानु नगरपालिकास्थित थानीको थानमा शुक्रबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै तनहुँ क्षेत्र नं १ मा प्रतिनिधिसभा उम्मेदवार पौडेलले उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराइए पनि काँग्रेस त्यसबाट विचलित नहुने दृढता व्यक्त गरे ।

चुनावी प्रचार प्रसारका क्रममा वाम गठबन्धनका उम्मेदवार वर्षमान पुन, जनार्दन शर्मा, ओनसरी घर्ती, कृष्णबहादुर महरा लगायतमाथि सांघातिक आक्रमण भइसको छ ।

साताभित्र नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) अर्थात् वाम र नेपाली काँग्रेस अर्थात् लोकतान्त्रिक गठबन्धनका गरी १० जनाभन्दा बढी उम्मेदवारमाथि आक्रमण भइसकेको छ । पश्चिम रुकुमबाट सुरु भएको आक्रमणको शृङ्खला पूर्वमा भोजपुरदेखि राजधानीसँगै जोडिएको नुवाकोटसम्म जोडिएको छ ।



प्रतिक्रिया दिनुहोस्