Logo

प्रकाश दाहालबारे नारायण दाहालसँग कुराकानी, “अघिल्लो दिन प्रचण्डले अस्पताल जान सल्लाह दिएका थिए”



प्रकाश दाहालले सानै उमेरदेखि हिजोका दिनसम्म जे व्यवहार देखाए, त्यही नै वास्तविक प्रकाश दाहाल हुन् । देश र जनताको लागि उनले जसरी आन्दोलन गरे त्यही नै उनको विशेषता हो ।

आफ्ना बुबाको राजनीतिक उचाई र जिम्मेवारीलाई सहज बनायो, यि कुराले प्रकाश के थियो भन्ने कुरा सबै नेपाली जनतालाई थाहा छ । आन्तराष्ट्रिय राजनीतिक जगतमा पनि राम्रैसँग थाहा छ जस्तो लाग्छ ।

हाम्रो परिवार २८,२९ सालदेखि नै राजनीतिमा लागेको हो । ३६ सालदेखि अध्यक्ष प्रचण्ड हिँड्नुभयो । प्रकाश नजन्मिदै अरु राजनीतिमा लागेका थिए । प्रकाशको जन्म नै राजनीतिक ढंगको भयो । सुरुको अवस्थामा गाउँघरको दुःख, पढाई लेखाइको अवस्थाबाट प्रकाशले भोग्दै आएको थियो । कलिलै उमेरमा पार्टीप्रति एक किसिमको समर्पण हुँदै गयो । उनले राम्रो शिक्षा लिन पाएनन् । भूमिगत कालमा नै दिल्लीमा ग्रयाजुयन ग¥यो । ५७ सालदेखि पूर्णकालिन भएर युद्धमा होमिए । बुबाको सुरक्षामा खटिए ।

बाहिर आएका केही विवादित विषयबाहेक अरु कुनै गल्ती गरेको छैन । कठीन परिस्थितीमा पनि बाबुको साथ छोडेन । तर बाबुको छोरो भएर होइन, एउटा आन्दोलनको जिम्मेवार व्यक्तिको रुपमा आन्दोलनको लागि लडिरह्यो ।

पछिल्लो सयम गम्भीर प्रकारको कुनै बिमारी थिएन । रुघाखोकी जस्ता सामान्य समस्या मात्रै थियो । काठमाण्डौमा आएर पनि बिरामी भएर बसेको होइन । पार्टीको चुनाव प्रचारको केही व्यवस्थापकीय कामका लागि बसेको थियो ।

चितवनबाट हिन्दाको दिन मसँग सल्लाह गरेर नै हिँडेको हो । त्यसपछि कुराकानी भएन । अध्यक्षसँग अस्ती बेलुका झापामा हुँदा कुराकानी भएको थियो । चितवनको प्रचारप्रसारको बिचमा कुराकानी भएको हो ।

अस्ती बेलुका चाँही घरमा कुरा हुँदा अलिअलि ज्वरो आएको भन्ने थियो । त्यो थाहा पाएपछि बाबुले अस्पताल जान सल्लाह दिनुभएको थियो । प्रकाशले चाँही अहिले अस्पताल जानपर्ने स्थिती छैन, सामान्य ज्वारो हो भन्यो ।

दिउँसो चाउचाउ र जाउलो खाएको रहेछ । अस्पताल जान पर्दैन भोली बिहानसम्म ठिक भइहाल्छ भनेपछि ल ठिकै छ भनेर भाउजुले पनि भन्नुभयो ।
भएको यही कुराकानी हो ।

आकस्मिक हृदयघात नै हो । पहिलै थाहा भएको भए त अस्पताल जान्थ्यो । त्यो त के थाहा हुने कुरा भयो र ? अस्ती बेलुका कहीँ कतै पार्टीमा गएको वा केही खाएको भन्ने होइन । घरमै बसेको थियो ।
हिजो दिनभरी प्रचण्डसँगै थिएँ । त्यस्तो केही कुरा भन्नुभएको छैन ।

(माओवादी केन्द्रका नेता नारायण दाहालसँग ऋषि धमलाले गरेको कुराकानी : पुष्पकमल दाहालको नारायणसँग दाजुभाईको नाता छ ।)



प्रतिक्रिया दिनुहोस्