Logo

स्वेदश तथा विदेशबाट अध्यक्ष प्रचण्डलाई समवेदना



मंसीर ४, काठमाडौं । हृदयघातबाट सुपुत्र प्रकाश दाहाल गुमाउनु भएका पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी केन्द्रका सल्लाहकार सीता दाहाल लगायत परिवारलाई चीन, भारत, राष्ट्र संघ लगायतका विभिन्न देश, कुटनीतिक नियोगका प्रतिनिधिहरुले समवेदना प्रकट गर्नुभएको छ ।

आइतबार बिहान माओवादी केन्द्रका नेतासमेत रहनुभएका अध्यक्ष प्रचण्डका एक मात्र सुपुत्र प्रकाश दाहालको निधन भएपछि दिउँसो नेपालमा रहेको चीनियाँ दुताबासले अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरेको थियो । समवेदनामा चीनले सुपुत्र दाहालको निधनले चीन मर्माहत भएको बताउँदै प्रचण्डको पीडामा चीन साथमा रहेको उल्लेख गरिएको छ । सोमबार बिहान नेपालका लागि चीनियाँ राजदूत यु होङ्ले अध्यक्ष प्रचण्डलाई भेटी समवेदना प्रकट गर्नुभयो ।

आइतबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुष्मा स्वराजले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारमा समवेदना प्रकट गर्नुभयो । उहाँहरुले नेपालले एउटा होनाहार युवा नेता र प्रचण्ड परिवारले कर्मठ छोरो गुमाएकोमा शोक व्यक्त गर्नुभयो । लगत्तै नेपालका लागि भारतीय राजदूत मञ्जिभ सिंह पुरी पेरिसडाँडा पुगी अध्यक्षलाई समवेदना प्रकट गर्नुभयो ।

त्यसैगरी संयुक्त राष्ट्र संघको आवासीय कार्यालयबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गरिएको छ । भलेरि जुलिण्डले पठाउनुभएको समवेदना पत्रमा प्रकाश दाहालको अल्पायू र अकल्पनीय निधनले संयुक्त राष्ट्र संघ मर्माहत भएको उल्लेख गरिएको छ ।

सोमबार नै रुसी दूताबासबाट अध्यक्ष प्रचण्डलाई समवेदना प्रकट गर्दै राजदूत एन्ड्री बुडनिकले अध्यक्ष प्रचण्डका छोरा तथा युवा नेता प्रकाश दाहालको आकस्मिक निधनले आफू स्तव्ध भएको उल्लेख छ ।

राष्ट्रपति र दलका नेताद्वारा समवेदना व्यक्त

सोमबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष प्रचण्ड र सल्लाहकार सीता दाहाललाई लाजिम्पाटमा भेटी समवेदना प्रकट गर्नुभएको छ । समवेदना प्रकट गर्दै राष्ट्रपति भण्डारीले प्रकाश दाहालप्रति समवेदना प्रकट गर्दै धैर्य रहन प्रचण्ड र सीता दाहाललाई आग्रह गर्नुभएको थियो ।

त्यसैगरी सोमबार बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टेलिफोन गरी अध्यक्ष प्रचण्ड र परिवारलाई समवेदना प्रकट गर्नुभयो । टेलिफोनमा प्रधानमन्त्री देउवाले प्रकाशको निधनले आफू मर्माहत भएको बताउँदै काठमाडौं फर्केपछि भेट्ने बताउनु भयो । सोमबार बिहान प्रधानन्यायाधीश गोपाल पराजुलीले लाजिम्पाटमा भेटी प्रचण्ड परिवारलाई समवेदना प्रकट गर्नुभयो ।

आइतबार बिहानै बिर्तामोड रहनुभएका अध्यक्ष प्रचण्डलाई भेटी एमाले अध्यक्ष केपी शर्मा ओलीले समवेदना प्रकट गर्नुभएको थियो । समवेदनामा अध्यक्ष ओलीले देशले एउटा होनाहार युवा नेता गुमाएको बताउँदै प्रचण्ड परिवारको पीडामा आफू साथमै रहेको बताउनु भयो भने सोमबार बिहान लाजिम्पाट निवासमा अध्यक्ष प्रचण्डसँग भेट गर्नुभयो ।

आइतबार पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले) का बरिष्ठ नेता माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई, पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द, नेकपा मसालका महामन्त्री मोहन बिक्रम सिंह, एमाले उपाध्यक्ष बामदेव गौतम, नेपाली कांग्रेसका नेताहरु प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा. प्रकाशशरण महत लगायतका नेताहरुले समवेदना प्रकट गर्नुभयो ।

आइतबार बेलुकादेखि नै विभिन्न दल, नेता, सामाजिक अगुवा र सर्वसाधारणले लाजिम्पाट निवासमा आई अध्यक्ष प्रचण्ड र परिवारलाई समवेदना प्रकट गर्ने क्रम जारी छ । त्यस्तै सोमबार बिहान बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बिस्तारित बैठकले मंसीर ५ गते चुनावी अभियानकै क्रममा सबै निर्वाचन क्षेत्रहरुमा शोक सभा गर्ने निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस्