Logo

मैलै राजनीति गरुञ्जेलसम्म नारायणकाजीले चुनाव जित्ने सपना नदेखे हुन्छ : बाबुराम



गोरखा, ४ मंसिर । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफू राजनीति गरुञ्जेलसम्म नारायणकाजीले गोरखामा चुनाव जित्नै नसक्ने ठोकुवा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले आईतबार गोरखामा आयोजना गरेको चुनावी विशेष साक्षात्कारमा बोल्दै डा. भट्टराईले यस्तो दाबी गरेका हुन् । उनले भने,‘मैले राजनीति गरुञ्जेलसम्म नारायणकाजी श्रेष्ठजीले गोरखामा चुनाव जित्ने सपना नदेखे हुन्छ, उहाँलाई गोरखाका डाँडापाखा हिँड्न आउँदैन, र सुहाउँदैन पनि, त्यसैले बरु काठमाडौंतिर सरे हुन्छ।’

उनले अबको निर्वाचनमा वाम गठबन्धनको दुई तिहाई वा बहुमत आउने भन्ने कुरा हल्लामात्रै भएको भन्दै मुलुकमा हंग पार्लियामेन्ट हुने दाबी गरे । उनले आफ्नो पार्टी नयाँ शक्ति नेपालले पाँच वर्षपछि मुुलुकमा शासन गर्ने समेत दाबी गरे ।

उनले क्लबका सभापति धमलालाई चुनावी विशेष कार्यक्रम लिएर गोरखा आएको भन्दै आफू निकै खुशी भएको प्रतिक्रिया दिए । उनले थपे,‘ऋषि धमलाजी गोरखा आउनुभयो, तपाईहरुको बुवाहरुपनि धादिङ्बाट गोरखा बसाई आउनुभएको हो, आज तपाई चुनावी अभियान लिएर यहाँ आउनुभएको छ, यो मेरो लागि खुशीको क्षण हो, तपाई (धमलाजी) गोरखा आइसकेपछि अब म चुनाव जित्छु ।’

उनले आफूहरु अहिले निकै व्यस्त रहेको समेत प्रतिक्रिया दिए । उनले थपे,‘विहानदेखि बेलुकासम्म १५ देखि १८ घण्टा खटिइरहेका छौँ । मैले जनताबाट आगाध माया, सद्भाव र स्नेह पाउँछु । किनकी ६४ सालको चुनावमा नेपालभरी नै सबैभन्दा बढि भोट मलाई आएको थियो । ४६ हजारभन्दा बढि अर्थात यस क्षेत्रको ८२ प्रतिशत मत मैले पाएको थिएँ । संविधान लेख्ने जिम्मेवारी दिनुभयो । संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भयो । संवाद समितिको सभापतिको हैसियतले महत्वपूर्ण भुमिका खेलेँ । अब जनताले विकास र समृद्धि चाहेका छन् । यसका लागि बाबुरामकै योगदान जनताले चाहेका छन् ।’

उनले आफूले माओवादी केन्द्रका नेता नारायणकाजीसँग प्रतिस्पर्धा नगरेको समेत दाबी गरे । डा. भट्टराईले थपे,‘उहाँलाई यहाँ ल्याएर मसँग भिडाएर अनावश्यक ढंगले उहाँको सिङ भाँच्न लगाइएको छ । उहाँको यो क्षेत्र नै होइन । स्कुलको पढाई सकेपछि उहाँ गोरखा कहिल्यै पनि फर्किनुभएन । कार्यथलो पनि यो होइन । गोरखामा उहाँ कहिलेकाँही पर्यटकको रुपमा मात्रै आउने हो । म त यहीँ जन्मिएँ, हुर्किएँ । आन्दोलनको कार्यक्षेत्र पनि यही थियो । यअसघ २ वटा संविधानसभाको चुनावमा यहीँबाट जितेँ ।’

गोरखाली जनताले आफूबाट जुन अपेक्षा गरेका छन् त्यो आफूले इमानदारिताका साथ सेवा गरेको उनको तर्क थियो । उनले थपे,‘अहिले पनि जनतको दैलोमा गएर सोध्नुस्, बाबुरामलाई उहाँहरुले कसरी बुझ्नुहुन्छ ? मैैले उहाँहरुकै आंकाक्षा बुझेको छु । मेरो प्रतिस्पर्धी को हुन्छ भन्ने कुरा ठूलो होइन ।’

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले आफूलाई हार र जितको कुनै शंका नभएको समेत प्रतिक्रिया दिए । उनले थपे,‘निष्पक्ष जनताको मतका आधारमा शंका गर्ने कुनै ठाउँ छैन । मार्जिन कति हुन्छ भन्ने मात्रै हो । हारजितको विषयका कुनै शंका छैन ।’

नारायणकाजीले चुनाव जित्ने दाबी गर्नुभएको छ । गोरखालाई विकास गर्ने भिजन आफुसँग मात्रै भएको बताउनुभएको छ नि ? भनेर सोधिएको अर्को प्रश्नमा बाबुरामले मुख खोले,‘चुनावको बेलामा आफ्नो दलिल पेश गर्नु स्वभाविक हो । बहुदलीय प्रतिस्पर्धामा त्यसलाई हामीले अन्यथा मान्नु पनि हुँदैन । मैले २०२६ सालको एसएलसी परीक्षामा सर्वप्रथम भएपछि जुन ढंगले यो क्षेत्रमा चर्चाको विषय बन्यो, त्यसपछि निरन्तर रुपमा म यही क्षेत्रका जनताको सेवामा समर्पित छु । गोरखाको विकासका लागि चित्र कोरेँ । छोटो समय अर्थमन्त्री हुँदा गोरखामा विकासका आधारभूत विकासका पूर्वाधारको जग बसालेँ । अब त्यो जगलाई पूर्णता दिनुपर्छ । गोरखालाई देशकै विकासको मोडल बनाउनुपर्छ भन्ने उद्देश्य मेरो छ । जनताले पनि त्यही अपेक्षा राखेका छन् । त्यसैले अरुले के भन्छन् भन्ने कुरा महत्वपूर्ण छैन ।’

उनले २७५ सासंदमध्ये जो पनि प्रधानमन्त्री बन्न सक्ने भएकोले सबैले प्रधानमन्त्रीको सपना देख्नु कुनै ठूलो कुरा नभएको प्रष्ट पारे । उनले भने,‘सपना देख्न सबैले पाउँछन् । मेरा लागि जनताको निम्ती विकास र समृद्धिको एजेण्डा मुख्य हुन् ।’

उनले आफूहरुले लोकतान्त्रिक गणतन्त्रात्मक संविधान बनाएको उल्लेख गर्दै यसलाई बचाएर नेपालमा आर्थिक विकास र समृद्धिको चरण पूरा गर्नुपर्ने भएकोले लोकतान्त्रिक गठबन्धनसँग तालमेल गरेको स्विकार गरे । उनले थपे,‘कम्तिमा औद्योगिक अर्थतन्त्र निर्माण भएपछि बल्ल समाजवादका कुरा आउँछन् । त्यही औद्योगिक अर्थतन्त्र निर्माणका लागि कांग्रेससँग सहकार्य गर्दा उचित हुन्छ भनेर गरेका हौँ ।’

नेपाली कांग्रेससँग पार्टी एकताको सम्भावना छ कि छैन ? भनेर सोधिएको अर्को प्रश्नमा उनले थपे,‘पार्टी एकताको बारेमा त हामीले सोचेका छैनौँ । अहिले हामीले चुनावी तालमेल गरेका छौँ । हामी एउटा वाम लोकतान्त्रिक शक्ति हौँ । हाम्रो आधारभूत चरित्र लोकतान्त्रिक वाम हो । नेपालमा चाँही वाम भनेपछि कम्युनिष्टकै पर्यायवाची शब्दको रुपमा बुझिन्छ, जुन सत्य होइन । अमेरिकामा प्रजातान्त्रिक पार्टीलाई र वेलायतमा लेबर पार्टीलाई वाम भनिन्छ । तर नेपालमा कम्युनिष्टलाई मात्रै वाम भनेर बुझ्ने गरिन्छ, त्यो बेठिक छ ।’

आफ्नो सारा जिन्दगी निश्चित मूल्य मान्यतामा अडिएको दाबी गर्दै भट्टराईले थपे,‘देशमा लोकतान्त्रिक गणतन्त्र नल्याएसम्म लोकतन्त्र हुँदैन भनेर ४० वर्ष राजतन्त्रको अन्त्यका लागि लड्यो । संविधानसभाबाट राजतन्त्र अन्त्य गर्न प्रमुख भूमिका खेलेँ । अबको एउटै सपना भनेको आफ्नै जीवनकालमा अर्थात २५ वर्ष्भित्र संसारकै समृद्ध देश बनाउने हो ।

तपाईसँग मिसन र लक्ष्य छ, तर जनता छैनन् नि ? भनेर धमलाले सोधेको अर्को प्रश्नमा उनले आफूसँग जनता छन् कि छैनन भनेर हेर्न गोरखा आउन आग्रह गरे । ‘किन छैनन् जनता ? गोरखामा आएर हेर्नुस् । हामीले भर्खर रोपेको विरुवा रातारात ठूलो रुख त कसरी बन्छ र ? यस्तो परिकल्पना गर्नुभयो भने त्यो गलत हुन्छ’–उनले भने । यद्धपी उनले यति छोटो अवधिमा देशका ७७ वटै जिल्लामा संगठन र संजाल बनेकोमा आफू खुशी भएको जिकिर गरे । उनले थपे,‘सबै जिल्लाहरुमा उम्मेदवारुहरु उठाएका छौँ । यो पटक राष्ट्रिय पार्टी बन्छौँ र अर्कोपटक देशको नेतृत्व गर्ने पार्टी बन्छाँै ।’

उनले आफू अस्थिर नभएको जिकिर गरे । भट्टराईले थपे,‘राजतन्त्रको अन्त्य र संविधानसभाबाट संविधान बनाउनुपर्छ भन्ने मेरो अभियान थियो । त्यो सफल भयो । अब विकास र समृद्धिको नयाँ युगको नेतृत्व गर्न खोज्दैछु । गोरखाली जनताले मेरो मिसन बुझेका छन् ।’

अबको निर्वाचनमा कसैको पनि बहुमत नआउने ठोकुवा गरे । उनले थपे,‘मिलिजुली सरकार बन्छ । चुनावको बेलामा त बहुमत आउँछ भनेर सबैले भन्छन् । त्यसलाई अन्यथा मान्नु हुँदैन । अहिलेको चुनावी प्रणालीका कारण कुनै पनि गठबन्धनको बहुमत आउन सक्दैन । ससंदको अंकगणितका आधारमा कस्तो सरकार बन्छ भन्ने कुराको टुङ्गो लाग्छ ।’

एमाले र माओवादीबिचमा पार्टी एकता हुने सम्भावना कत्तिको देख्नुहुन्छ ? भनेर सोधिएको अन्तिमा प्रश्नमा उनले थपे,‘मलाई त घिउ बेचुवा र तरबार बेचुवाको सम्बन्धजस्तो लाग्छ । एकले अर्कालाई ठग्ने कुरा भइरहेको छ । कसले कसलाई ठग्छ कि दुवै ठगिन्छन् थाहा छैन । पार्टी एकताको कुरा स्वतन्त्रताको विषय हो । गर्न सक्नुहुन्छ । तर कम्युनिष्ट पार्टीको खोल देखाएर ठग्ने धन्धा चलिरहेको छ । यसरी लामो समयसम्म जनतालाई भ्रममा पार्न सकिदैन ।’



प्रतिक्रिया दिनुहोस्