Logo

उपेन्द्र यादवका प्रतिस्पर्धी ठाकुर भन्छन्, आयातित उम्मेदवारलाई सजिलै हराउँछु



६ मंसिर, काठमाण्डौ । सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेका जयप्रकाश ठाकुरले उपेन्द्र यादवलाई आफूले पराजित गर्ने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कसँग कुरा गर्दै उम्मेदवार ठाकुरले मोरङ र सुनसरी छोडेर सप्तरीमा चुनाव लड्न आएका उपेब्न्द्रको जनमत नै नरहेको बताए ।

केही व्यक्तिले उपेन्द्रलाई आयात गरेर ल्याएको तर्क गर्दै ठाकुरले कुनै दलको राष्ट्रिय अध्यक्ष जस्तो नेताले आफू अनुकूल हुने गरी चुनाव लड्नुपर्नेमा त्यसो नगरेकाले उपेन्द्रको पराजय हुने बताए । चुनावमा जो लडे पनि जिताउने जनताले हो भन्दै ठाकुरले आफ्नो जित सुनिश्चित भएको दाबी गरे ।

मधेश आन्दोलनका बेला उपेन्द्रले सप्तरी जिल्लामा आएर कुनै भूमिका नखेलेको आरोप ठाकुरले लगाएका छन् । उपेन्द्रले यसअघिका चुनाव मोरङ र सुनसरीबाट लडेको स्मरण गराउँदै ठाकुरले सप्तरीका जनताले नपत्याउने दाबी गरे ।

दुई पटकको मधेश आन्दोलनमा आफूले संयोजकको रुपमा काम गरेको जानकारी दिदै ठाकुरले जनताले आफ्नो कामको मूल्याङ्कन गर्ने बताए ।
“निश्चित रुपमा जनता मसँग छन् ।” ठाकुरले भने ।

वाम गठबन्धनले आफ्नो जनमतलाई कुनै प्रभाव नपार्ने दाबी ठाकुरको छ । राजपा र संघीय समाजवादी फोरमबिच चुनावी तालमेल भए पनि जनताले त्यसलाई स्विकार नगर्ने ठाकुरको भनाई छ ।

कांग्रेसले उपेन्द्रलाई समर्थन गरेको भनिए पनि सप्तरीका जनताले केन्द्रको समर्थनलाई मतदानबाट उल्ट्याइदिने बताए । आफू जनताको अधिकार सुनिश्चित गराउनका लागि चुनावमा लडेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्