Logo

काठमाण्डौमा रेष्टुरेण्ट खोलेर मोजमस्ती गर्ने सुरेन्द्र चौधरीले कसरी चुनाव जित्छन् ? : हरिनारायण रौनियार



६ मंसिर, काठमाण्डौ । प्रदेश नम्बर २ को पर्सा जिल्लाबाट उम्मेदवार बनेका मधेशवादी नेताहरुले जनताको हक अधिकार स्थापितका लागि काम गर्ने दाबी गरेका छन् । २ नम्बर क्षेत्रका उम्मेदवारहरु सुरेन्द्र चौधरी र हरिनारायण रौनियारसँग ऋषि धमलाले गरेको कुराकानीमा दुवै उम्मेदवारले आफ्नो मूल एजेण्डा जनपक्षीय रहेको दाबी गरेका छन् ।

कांग्रेसका चौधरी र संघीय समाजवादी फोरमका रौनियारसँग गरिएको कुराकानीका क्रममा चौधरीले पर्सा जिल्लाका चारवटै क्षेत्रमा कांग्रेसका उम्मेदवार विजयी हुने दाबी गरेका छन् । भारी बहुमतले कांग्रेसका उम्मेदवार विजयी हुने दाबी चौधरीले गरेका हुन् ।

यता फोरमका उम्मेदवार रौनियारले भने चौधरीको दाबीको खण्डन गर्दै जित फोरमको पक्षमा आउने बताए । मधेशी जनताको एजेण्डाका आधारमा कांग्रेसले नभै मधेशवादी दलले चुनाव जित्ने तर्क रौनियारको छ ।

मधेशी जनताले खोजेको अधिकार र विकासका लागि कांग्रेसले केही काम गर्न नसकेको आरोप रौनियारको छ ।
चौधरीले पनि मधेशी जनताले अधिकार खोजेको स्विकार गर्दै त्यसका लागि कांग्रेस तयार भएको बताए । विगतदेखि नै मधेशी जनताको अधिकार स्थापित गर्नका लागि कांग्रेसको भूमिका अग्रणी रहेको चौधरीको भनाई छ ।

कांग्रेसले मधेशी जनताको अधिकार स्थापितका लागि संविधान संशोधन गर्न खोज्दा मधेशवादी दलहरु स्पष्ट बन्न नसकेको चौधरीको तर्क छ । मधेशमा भएका अहिलेसम्मका विकास निर्माणका काम सबै कांग्रेसले गरेको चौधरीले दाबी गरेका छन् ।

बहसका क्रममा चौधरी एकोहोरो रुपमा बोलिरहेपछि रौनियारले राम्रोसँग अन्तरवार्ता दिन सुझाब दिएका थिए ।
आफ्नो दलका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताको अधिकारका लागि लडाई गरेको बताउँदै रौनियारले भने चौधरीको कुरा ९९ प्रतिशत झुटो भएको बताए । २ पटक चुनाव जितेर केही काम गर्न नसकेको आरोप चौधरीमाथि रौनियारले लगाए ।

चौधरीले काठमाण्डौमा रेष्टुरेण्ट खोलेर मोजमस्ती गर्ने गरेको आरोप रौनियारको छ । भौतिक पूर्वाधार विकासको काम कुनै पनि गर्न नसकेको रौनियारको जिकिर छ ।
चुनावका बेला प्रतिस्पर्धीलाई गाली गलौज गर्ने बानी भएका चौधरी जनतामाझ अलोकप्रिय भएको रौनियारले बताए ।

केही समय चुप लागेर रौनियारको कुरा सुनेका चौधरीले भने आफूले धेरै काम गरेको भन्दै उदाहरण दिएका थिए ।
बहसका क्रममा दुवैले आ–आफ्नो दाबी पेश गर्ने क्रममा एकले अर्काको कुरा नसुनी एकैपटक दुई जना एकोहोरो बोलिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्