Logo

मेरो जितलाई वाम गठबन्धनले कुनै प्रभाव पार्न सक्दैन : दिपक खड्का



६ मंसिर, काठमाण्डौ । आगामी प्रतिनिधीसभा चुनावका लागि सङ्खुवासभा जिल्लाबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका दिपक खड्काले जनताको हितमा काम गर्ने गरी विभिन्न एजेण्डा पेश गरेर चुनाव जित्ने दाबी गरेका छन् ।

खड्काले आफ्नो चुनावी क्षेत्रका अधिकांश जनताको घरमा पुगिसकेको बताउँदै आफूलाई चुनाव जित्न कुनै समस्या नभएको दाबी गरे ।
जनताहरु विकासप्रेमी र लोकतन्त्रवादी भएकाले नेपाली कांग्रेसलाई मतदान गर्ने खड्काको तर्क छ ।

संखुवासभामा वाम गठबन्धनका साझा उम्मेदवार भए पनि त्यसलाई जनताले अस्विकार गर्दै कांग्रेसलाई मतदान गर्न तयार रहेको खड्काको जिकिर छ ।
आफ्ना प्रतिस्पर्धी राजेन्द्र गौतमलाई जनताले पहिल्यै अस्विकार गरेर पराजित गरिसकेको भन्दै खड्काले यसपटक पनि आफूले नै चुनाव जित्ने दाबी गरे ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै कांग्रेसका तर्फबाट उम्मेदवार बनेका दिपक खड्काले संखुवासभा जिल्ला पर्यटकीय, उर्जा र छिमेकी मुलुक चिनसँगको सिमा नाका जोडिएको हुनाले सम्भावनाहरु धेरै भएको बताए । सम्भावनालाई सदुपयोग गरेर विकास गर्न सकिने औँल्याउँदै खड्काले त्यसतर्फ आफु केन्द्रित हुने बताए ।

पहिलो प्राथमिकता पूर्वाधार विकासलाई दिने प्रतिवद्धता खड्काको छ । उत्तर–दक्षिण जोड्ने राजमार्ग निर्माणका लागि आफु प्रतिबद्ध रहेको खड्काको दाबी छ ।
नेपाली कांग्रेस नेतृत्वको सरकारले अरुण तेस्रो निर्माण प्रक्रिया अगाडि बढाएको दाबी गर्दै खड्काले अब त्यसलाई निरन्तरता दिएर सम्पन्न गर्ने बताए ।
लालिगुरासको राजधानी मानिने संखुवासभा जिल्लामा पर्यटन क्षेत्रको विकासको सम्भावना पनि प्रशस्त भएको बताउँदै खड्काले त्यसतर्फ पनि आफ्नो ध्यान केन्द्रित भएको बताए ।

आफुले चुनाव जितेपछि पाउने सेवा सुविधा सबै जनताको हितमा प्रयोग गर्ने खड्काले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्