Logo

गोरखाको विकास बाबुरामले होइन, माओवादीले गरेको हो : नारायणकाजी श्रेष्ठ



६ मंसिर, काठमाण्डौ । गोरखा क्षेत्र नम्बर २ बाट वाम गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जनताको उत्साहपूर्ण मतदानले आफूलाई जिताउने दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले १० गतेको निर्वाचनमा गोरखा क्षेत्र नम्बर २ का जनताले आफूलाई अमूल्य मतदान गर्ने बताए ।

आफ्नो राजनीतिक भूमिकाका कारण जनताले त्यसको सही मूल्याङ्कन गर्ने विश्वास गर्दै श्रेष्ठले आफ्ना प्रतिस्पर्धी बाबुराम भट्टराईसँग आरोप–प्रत्यारोपमा नउत्रिएको बताए ।

बाबुराम भट्टराईले विगतमा माओवादीमा रहँदा अर्थमन्त्री र प्रधानमन्त्री बन्ने मौका पाए पनि गोरखाका जनताको हितमा काम गर्न नसकेको आरोप लगाए ।
भट्टराईले जति काम गर्नुभयो, त्यो सबै माओवादीमा रहँदा गरेको उल्लेख गर्दै श्रेष्ठले भट्टराईको व्यक्तिगत योगदान केही पनि नरहेको बताए ।

“यो कुरामा गोरखाली जनता भ्रममा छैनन् । व्यक्तिगत रुपमा गरेको भए हाम्रो पार्टी छोडेर जुन पार्टी बनाउनुभयो, त्यसपछि गोरखाका जनतालाई कतिवटा विकासका योजना दिनुभयो ?” श्रेष्ठले प्रश्न गरे ।
सामुहिक रुपमा गरेको कामको जस भट्टराईले एक्लै जस लिन खोजेको आरोप श्रेष्ठको छ ।

भट्टराईको कुरा अहिले गोरखाका जनताले सुन्नै नसक्ने बताए । पछिल्लो समय भट्टराई अलमलमा परेको बताउँदै सिद्धान्तबाट नै उनी विचलित भएको श्रेष्ठले बताए ।
संविधान निर्माणका क्रममा पनि भट्टराईको भूमिकाभन्दा पनि माओवादीको भूमिका रहेको श्रेष्ठले बताए ।

चुनावपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गर्दै श्रेष्ठले देशलाई स्थिर सरकार दिने बताए । सामाजिक न्यायसहितको समृद्ध नेपालको परिकल्पना वाम गठबन्धनले गरेको श्रेष्ठको भनाई छ । श्रेष्ठले आफूहरुले सरकार निर्माण गरेपछि साम्यवादको आधार स्थापना गर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्