Logo

देउवाको कडा निर्देशन : ‘विप्लवलाई समात्नुहोस्, चुनाव विथोल्नेलाई जेल हाल्नुहोस्’



काठमाडौं, ६ मंसिर । राष्ट्रिय सुरक्षा परिषद्को बैठकले बम विस्फोटमा प्रमाणसहित फेला परेकालाई कानुनी कारबाहीको प्रक्रियामा लैजाने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा हिजो बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिँदै जाँदा सार्वजनिक तथा उम्मेद्वारका घरमा बम विस्फोटका घटना बढेपछि परिषद् बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री देउवा निकै आक्रमक रुपमा प्रस्तुत भएका थिए ।

उनले हिजोको बैठकमा भनेका थिए,‘चुनाव विथोल्न आतंक मच्याउनेहरुलाई सक्दो कारबाही गर्नुहोस्, अब चुप लागेर बस्न सकिँदैन्, जताततै बम आतंक मच्चाउने काम भैरहेको छ, अब यो सब सहन सकिँदैन्, तत्काल कारबाही गर्नुहोस्।’ उनले बम आतंक विप्लवका नेता तथा कार्यकर्ताहरुले मच्याएको भनेर नाम जोडिएकोले पार्टीका शीर्ष नेताहरुलाई नै समात्नको लागि सुरक्षा निकायका प्रमुखहरुलाई कडा निर्देशन दिएको स्रोतको दाबी छ ।

त्यस्तै बैठकले शान्ति सुरक्षालाई चुस्त–दुरुस्त बनाउन चारवटै सुरक्षा निकायलाई निर्देशन दिएको थियो । बैठकमा रक्षामन्त्री भीमसेनदास प्रधान, मुख्यसचिव लोकदर्शन रेग्मी, गृहसचिव मोहनकृष्ण सापकोटा, रक्षासचिव विनोद केसी, प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्री, सशस्त्र प्रहरी बलका महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, अनुसन्धान विभागका प्रमुख दिलीप रेग्मीको उपस्थिति थियो ।

बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखले पछिल्लो सुरक्षा अवस्था र निर्वाचनको सुरक्षा रणनीतिका विषयमा जानकारी गराएको परिषद् स्रोतले जनाएको छ ।
अहिलेसम्म विप्लवका तीन सय भन्दा बढि नेता तथा कार्यकर्ताहरुलाई सरकारले विभिन्न जिल्लाबाट पक्राउ गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्