Logo

अधिनायकवाद स्वीकार्य छैन : नेता पौडेल



सुन्दरबजार (लमजुङ) ६ मंसीर (रासस) : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अधिनायकवाद स्वीकार्य नहुने बताउनुभएको छ ।

लमजुङको सुन्दर बजारमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय व्यवस्था स्वीकारेका कम्युनिष्टहरूले मुलुकलाई अधिनायकवादतर्फ लैजान खोजेकोे आरोप लगाउनुभयो ।

उहाँले बाम गठबन्धनले संसदीय गठबन्धनको विकल्प खोज्न लागेको आरोप लगाउनुभयो । “महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, बामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनैपनि हालतमा खोसिँदैन”– नेता पौडेलले भन्नुभयो ।

उहाँले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिष्टहरूसँग देश र जनताको माया नभएको विचार व्यक्त गर्नुभयो । उहाँले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गर्नुभयो ।

काँग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लमजुङको विकास काँग्रेसले गरेको भन्दै काँग्रेसलाई विजयी गराउन आग्रह गर्नुभयो । उहाँले दश वर्षे द्धन्द्धकालमा कम्युनिटले गरेको व्यवहार हेरेर मतदान गर्न जनतालाई आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस लमजुङ प्रतिनिधिसभाका उम्मेद्वार दीलबहादुर घर्तीले कम्युनिष्ट शासन हटाएर देश विकास गर्नु काँग्रेसको अभियान भएको हो भन्नुभयो ।

काँग्रेस लमजुङ प्रदेश (ख)का उम्मेद्वार कृष्णप्रसाद कोइरालाले लमजुङको विकास काँग्रेस नेतृत्वले गरेको भन्दै यसलाई पुरा गर्नका लागिपनि लोकतान्त्रिक गठबन्धनको जित आवश्यक रहेको बताउनुभयो ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले बाम एकताले नेपालको लोकतन्त्र संकटमा पर्नसक्ने भन्दै यसलाई जोगाउनका लागि भएपनि लमजुङमा काँग्रेसको जित आवश्यक रहेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्